मेरो पहाड

कविता विमल लामिछाने April 19, 2025, 4:45 pm

विमल लामिछाने
विमल लामिछाने
पहाडमा सौन्दर्यको नयाँ स्वाद छ

प्रेम र हार्दिकताको नयाँ सुवास छ

बिहानको चिसो बताससँगै

छितिज पारीबाट चिहाएर

खेतबारीका हरिया उर्जाशिल फाँट

अनि चियाका बुट्टाहरु छिचोल्दै

आँगनभरि पोखिएको घामलाई

प्रत्येक विहान स्वागत गर्छ

र प्रत्येक साँझ विदाई गर्छ मेरो पहाड ।

झरी, बादल, हुरी र बतासको सामना गर्दै

सतिशाल बनेर ठिङ्ग उभिएको छ

सभ्यता र संस्कृतिको मूल स्थल हो

पहाडले सांस्कृतिक विरासतको संरक्षण गर्छ

आयुर्वेदको खानी बनेर सृष्टी जोगाएको छ

मानव जीवनमा गहिरो पिरती गाँसेको छ

झुकाव छ, ओझनदार छ र गुणवान छ

सहरको तुलनामा निकै अर्थपूर्ण छ मेरो पहाड ।

अक्सिजनको भण्डार हो, भूक्षयको पर्खाल हो

पहाड आफै हावा पिल्टर गर्न सक्छ

कडा भोल्टेजको एसी र फेनको सहारा लिँदैन

ऊर्जा रिकभरको श्रोत हो

आफ्नो फोहोर पुनर्चक्रण गर्न सक्छ

आफ्नै छात्ती फुटाएर कलकल जरुवा उमार्न सक्छ

कोख फुटाएरै ढुङ्गाका शूलहरू बाहिर निस्किएपनि

रतिभर पीडाबोध नगरी गाईरहन्छ उचाइको प्रेमगित

फुलाइदिन्छ सृजनाका सप्तरङ्गी सुनाखरी र गुराँसहरू

बोकीरहन्छ सुकीर्तिका बास्नादार पारिजात र बुकीहरू

हिमाल पग्लिएको बेला हिउँ नै छेक्छ मेरो पहाड

तराईको चर्को गर्मी दुध र महिले थेग्छ मेरो पहाड ।

शुद्धता र सुन्दरताकी रानी हो भन्छन् सबै

अर्ग्यानिक उत्पादनकी खानी हो भन्छन् सबै

उसलाई तराइसँग तुलना गरेर भत्काउनु हुदैन

उसलाई छिमेकीसँग बन्दकी साटेर लत्कार्नु हुँदैन

पहाडको स्वभिमान सँधै अक्षुण्ण राख्नुपर्छ

मेरो पहाड सँधै निष्कलङ्क भएर बाँच्नुपर्छ ।।

दमक, झापा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।