नयाँ पुस्ताको युवा म

कविता राजेश सापकोटा April 23, 2025, 4:26 pm

राजेश सापकोटा
राजेश सापकोटा
बुद्धको ध्यानमा

क्रान्तिको युगचेतना खोज्ने

नयाँ पुस्ताको युवा म।

म काठमाडौंको कंक्रीटको जंगलबाट

भेटिएको महाभारतकालीन वेदव्यासको

ब्रम्हाण्डीय चेतनाको अंश हुँ,

ध्यानातीत योगीको प्रतिध्वनित चित्र हुँ म।

लण्डनको सबवेमा

नेपाली सपना र रहरहरुको

सुटकेस गुडाइरहेको युवा म!

खाँदेर गाउँले आकांक्षाहरु

अलिकति खुशी किन्न

मेरा चाडपर्वमा रमाउन

मेरै आफन्तहरूसँगै

बाआमाको जिम्मा लगाएर

सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर

भर्खरै भित्र्याएकी नवबधुलाई

हाम्रो अलिकति रहर किन्न

अर्काको शहर पसेको युवा हुँ म।

ओस्लोमा कर्णालीको

दीगो विकासको सपना

झांगिरहेको देख्ने युवा हुँ म!

सबैभन्दा बढी त म

मैले बाँचेको समयको साक्षी हुँ।

बुर्ज खलिफाबाट देखिने स्काइस्कापरमा

झुल्किरहेको मेरो मनको नेपाली झण्डा,

चन्द्र सूर्यअंकित नेपाली ध्वजा हुँ म।

यो चन्द्रबंशी र सूर्यबंशी इतिहासको

म्युटेड डि एन ए

अनि,

गोर्खाली खुकुरीको

गर्विलो र चम्किलो शानको

खुइलिएको इतिहास हुँ म

डायस्पोरिक नेपाली संस्कृतिको

अनि फेरि,

वीर बलभद्र, अमरसिंह र भक्ती थापाको

म्युटेड डि एन ए

फेलन म्यक डर्मिड सिन्ड्रोम छ मलाई

अभिशप्त जेनेटिक ट्रान्सफरमेसन

वीर गोर्खालीको

अनुदानसँगै साटिएको आत्मसम्मान

नयाँ गोर्खाली वीरताको संकथन हुँ म।

सान फ्रान्सिस्कोको ल्याबमा

तयार हुँदै गरेको कृत्रिमबुद्दीको

नयाँ सफ्टवेयरको

नेपाली भर्जन हुँ म।

म एउटा युवा हुँ

म नहिँडिएको एउटा बाटो

अपार सम्भावना हुँ म,

अधुरो समाजशास्त्र हुँ नेपाली समाजको

अनौठो वैज्ञानिक प्रयोग

नयाँ प्रयोगशालाको

अनि

एउटा कहिल्यै नलेखिएको महाकाव्य हुँ म।

बुलडोजर हेर्न जम्मा हुने भीडको

नेपाली युवा हुँ म

नसुल्झिएको पजल

समयमा थिच्न बिर्सेको बजर

बिसंगतवादबाट जन्मिएको

अनौठो अस्तित्ववादी प्रश्न हुँ म

म त डायस्पोरिक सपनाको

सुटकेसमा बन्द

आधुनिक युगको युवा

नेपाली विद्दुतीय राहदानीको

फिङ्गरप्रिन्ट हुँ म।

खन्याएर एउटा डालोमा

मल र बीउ

सम्याएर एउटा डल्लेठोले

आकाशका ताराहरु जम्मै

बनाउन चाहन्छु म

एउटा अनन्त सम्म मैदान

र गर्न चाहन्छु एउटा अर्ग्यानिक खेती

अनन्त आकाश खाली गरेर सम्भावनाको!

थुपारेर श्रमका दानादाना पसीना

झुलाउन चाहन्छु

प्रगतिका लटरम्म बालाहरु

लगेर कुलो हिमशिखरहरुबाट

चिसोपानीको

सिंचाइ गर्न चाहन्छु ती सपनाका फसलहरु

ती अनुड श्रीङ्खलाहीन सपनाहरू

डढेलो लाग्ने चैत बैशाखको महिना

अनि ती चाँदनी रातहरु

आगो लगाउँछन् मेरो मनको बस्तीमा

पिएर सात समुन्द्र

मत्थर पार्न खोज्छु म त्यो आगो।

पृथ्वीको कालो रगतको गर्भबाट

आकाशमा लेखिएको

एउटा अनौठो ग्रन्थ हुँ म

पढौँ भाषा बुझिँदैन

अक्षरहरु छन् उज्याला राता

अनि चम्किला ताराहरु जुनहरु

अर्कै भाषाको संगीतजस्तो

अनौठो तर रमाइलो

सुर्यदेवको मधुरो किरणसँगै

मेटिन्छन् ती अक्षरहरु

अनि मेटिन्छन् मेरा

युवा चाहना र सपनाहरू

पछारिन्छन् यथार्थमा

तराईको जंगलमा लागेको

चैते डढेलोजस्तै

तराईको तुँवालोमा

बाटो नदेखिएजस्तै

मेरो बाटो र भविष्य

मधुरो धिपधिपे बत्तीजस्तो

औंसीको कालरात्रीमा

पहिलोपटक गाउँ छोडेर

सपना देख्न शहर पस्दा

चढेको ट्रकको ट्रक-साहित्य

"पर्खी बस, फर्की आउनेछु"

भनेजस्तो कहिल्यै फर्केर आएन

फेरि मेरो त्यही सपना।

फेवातालमा डुङ्गा चलाएको सपना देख्दै

छातीमा माछापुच्छ्रे र सगरमाथा बोकेर

दिनहुँ राष्ट्रियता दुख्ने सीमाको सिपाही

भएर पनि राज्यबाट उपेक्षित

मधेसी युवाको बारुद बोकेको छाती

अनि दिनहुँ देखेको अन्यायविरुद्धको

विद्रोही आँखा

स्वयम्भूका दुइ आँखामा आँखा जुधाएर

न्यायालयको प्रतीकस्वरुप

आँखामा पट्टी बाँधिएको एक नारीको

आँखाको पट्टी खोलिएको दिनको

प्रतीक्षा गरिरहेका एक जोडी

आँखा हुँ म।

इडेन गार्डेनमा इभसँगै

ज्ञानको स्याउ खाएर

मानवसभ्यतालाई पृथ्वीलोकमा

खसाल्ने दुस्साहस गर्ने

आदमकै डि एन ए को हेलिक्स

अनि अर्कै युगमा,

कुनै युगको समाप्तिपछि

कायाकल्प फेरेको

आफ्नै अस्तुबाट बौरेको

फिनिक्स चरोको

मेटामोर्फोसिस हुँ म।

बर्दघाट, नवलपरासी, हाल: ओस्लो, नर्वे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।