काका एउटा रिपोर्ट गर्नुछ

कविता विमल लामिछाने May 3, 2025, 4:15 pm

विमल लामिछाने
विमल लामिछाने
काका,

तपाईं सँधैकालागि जानुभएको खवरले स्तब्ध बनायो ।

न कसैले तन भुलेको सुनाए

न कसैले मन दुखेको सुनाए

सुनाए त सुनाए, अर्ली इन द मोर्निङ

तपाई जानुभएको खवर सुनाए ।

काका,

के तपाईं साँच्चै जानुभएकै हो ?

किन सुटुक्क जानुभएको ?

बेँसी झर्दा झै हात हल्लाएर

लागियो है ..! भन्दै जानुभएको भए हुन्थेन ।

००

तपाईंसँग भएको विकासप्रतिको मोह, दृढ इच्छा,

उत्साह र जाँगर उस्तै छ कि अब सकियो काका ?

समाजमा हुने अन्याय विरुद्ध जुरुक्क उठ्ने तपाईका मुठ्ठी

अझै उठ्दैछन् कि छाडे काका ?

मान्छे अलि अघिकै भएपनि

कृषिमा नयाँपन खोज्ने तपाईंको उर्जा

पुस्तान्तरण गर्न भ्याउनु भयो के ?

जिन्दगीभरी उदास नदेखिएको त्यो मन कति उदाहरणीय थियो,

तपाईंको खुल्ला हृदय र सहयोगी भावना

दोस्रो पुस्तामा सेयर गर्न भ्याउनुभयो के त काका ?

००

तपाईंले सँधै सुनाउने गाउँका चौतर्फी खवरहरु

अब कसले सुनाउँछ ?

एकैपटक सल्लेरीदेखि अमलेसम्म र

लोख्रुम्बादेखि लुङसुङदाङ र चुक्रुम्बासम्मका खवरहरु

अब कसले सुनाउँछ ?

गाउँका तमासे युवाहरु झगडा गर्दा कसले मिलाउँछ ?

चौथीका नाममा धान,मकै र चियाका बुट्टा काट्नेहरुलाई

अब कसले खवरदारी गर्छ ?

बेँशी खेतको कुलो सोर्ने उर्दी कसले गर्छ ?

तपाईंको अभावमा सिंगो गाउँ निरीह बनेको छ काका ।

­­००

शुक्रवारेको चिसो डाँडामा

‘गासा बाबैको तातो कटेज’ सम्झिएर आउने

दिनभरीका बटुवालाई आफ्नै हातले रोपेको

आफ्नै बारीको अर्गानिक हाते पत्तिको स्वाद

अब कसले चखाउँछ ?

बाटो खन्दा, मन्दिर, पुल पुलेसा बनाउँदा

ढुंगा फोर्दा, मुढा चढाउँदा र विटा बोक्दा

त्यो कम्मरमा बाँध्ने हरियो पटुकी अब कसले बाँध्छ काका ?

गाउँ, शहर र सडकको अधुरो विकासलाई पूर्णता दिन

हातेमालो गर्नुपर्छ है..! भन्दै युवाहरुलाई कसले सुझाउँछ ?

प्रतेक दशैंको पूर्वसन्ध्यामा बाटो खन्ने उर्दी गर्दै

जोरधारामाथिबाट ठूलो स्वरमा अब कसले बोलाउँछ काका ?

००

हामी मधेश झर्ने विहान

अग्लो थाङ्ग्रामाथिको चोपसरिको हरियो काँक्रो,

काब्रामाथिको स्कुस, डिलमाथिको अकबरे र

महसरीको अलैँचीको पोको अब कसले बाँधिदिन्छ काका ?

कसैले हाम्रो परिवारमाथि नराम्रो बोल्यो मात्रै भनेपनि

तपाईं जुरुक्क उठेर कठालो समाउन पुग्नुहुन्थ्यो ,

के तिनीहरुलाई ठेगान लगाएरै जानुभएको हो काका ?

00

अँ हँ, तपाईं जानुभएको मलाई पटक्कै विश्वास छैन,

यदि साच्चै हो भने

यो भन्दा त्यो लोक कति टाढा रहेछ काका ?

सुटुक्क इनबक्समा लेख्न मिल्दैन ?

तपाईंको यो यात्रा डिष्ट्रेन्सको (की.मी.) मात्रै भएपनि पाउँ है काका

प्लिज, मलाई तपाईंको अन्तिम यात्राबारे एउटा रिपोर्ट गर्नुछ । ।

(स्व. काकाप्रति समर्पित ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।