आफ्नो भन्ने हक हुदैन भने

कविता गीता खनाल May 4, 2025, 11:52 am

गीता खनाल
गीता खनाल
तिम्रो स्मरणले मात्र

खाटो बसेको घाउ बल्झिन्छ भने,

तिमीसँगको सामिप्यताको कल्पनाले

मेरो आत्मियताको

दुःखद बिछोड हुन्छ भने,

अनि तिम्रो साथको माधुर्य सामु

आफ्नाहरुको देह धप–धप जल्छ भने,

छोड्न पर्छ मैले सदैव त्यो साथ

र, बन्नु पर्छ नदिको दुई किनारा

ओल्लो किनाराबाट पल्लो किनारा

धित मरुन्जेल हेर्न त सकिन्छ

कमसेकम जन्मौं जन्म ।

लाग्छ तिमी त

अजङ्गको तारे भिरमा फुलेका फूल हौ

जसलाई देखेर

मनभरी कल्पनाको उडान भर्छु

र, टिपेर सिउरिन चाहान्छु शिरमा

हेरेर तृप्त हुन बाहेक

अरु के गर्न सक्छु र ?

मनले त भन्छ नि

त्यो मेरो हो

यादका खातै खातमा

तिमीलाई खोजिरहेको हुन्छु

नजिक जान खोज्दा

मेरा पाइला लर्किन्छन्

स्पर्श गर्न खोज्दा

मन झन् झस्किन्छ

लम्केका हात सधैं रित्तै फर्कन्छन्

र, पनि

हर सासमा तिमी स्वप्न भएर फिर्छौ ।

केही छैन प्रिय,

तिमी साथमा नभए पनि

म बाँचिरहने छु

जूनमा सधैँ बिस्कुन सुकाएरै बस्नेछु ।

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।