कुनै दिन भेटौँला

कविता डा. नवराज सुब्बा May 17, 2025, 2:32 pm

डा. नवराज सुब्बा
डा. नवराज सुब्बा
सुन, ए बालक !

म हिँडेको यो बाटो—

कुनै सिधा राजपथ होइन,

घुमाउरो छ, कुहिरोले ढाकिएको —

जसरी बादलले ओझेल पार्छ

प्रत्येक बिहान उदाउँदै गरेको सूर्यलाई।

हिउँदको बिहान झैँ

चिसो–चिसो लाग्छ यो बाटोमा,

र मनभित्र थुप्रिएका छन्

नबोलेका रातहरू, कुहिरो बनेर।

यहीँ कतै,

डाँका छन् —

अँध्यारोमा मन चोर्ने,

चोर छन् —

स्वप्न लुट्ने।

त्यसैले तिमी

नआउनु मसित —

जाऊ,

सीधा सडक समात

जहाँ लाइटपोलहरूका

बिजुलीका थोपाले

तिमीलाई गन्तव्यमा छिट्टै पुर्‍याउँछन्।

त्यहाँ

घडी टिक-टिक गर्छ

कामहरू सूचीजस्तै अगाडि बढ्छन्,

फाइलका पानाझैँ खुल्छ जीवन,

सबै कुरा —

ठीक समयमा।

तर तिमी —

मेरो हृदयको भंगालो हौ,

तिमीलाई

सीधा कुरा चित्त बुझ्दैन,

तिमी बुझ्छौ

आँखाको इशारा,

र मनका भाका —

जसरी गुलाबले

बोल्दछ गन्धमा,

शब्दबिना पनि।

त्यसैले जाऊ —

त्यो बाटो समात

जहाँ समय समयसँगै हिँड्दछ।

र म?

म त हिँडिरहन्छु,

यो पहाडको अनकन्टार नागीमा बसेको

चिया बगानजस्तो

सुनसान यात्रामा —

भिजेको ढुंगामा चिप्लिएको पाइला झैँ

केही पुराना पीर बोकेर।

एउटा दिन —

कुनै दिन —

शायद,

तिम्रो हत्केलामा मेरो छायाँ ठोक्किन आउला।

शायद त्यो दिन —

सडकको मोडमा

हामी फेरि

भेटौँला।

विराटनगर, नेपाल।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।