18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निष्पक्ष निर्वाचन !

लघुकथा डा. हरिप्रसाद भण्डारी February 11, 2009, 2:17 pm
डा. हरिप्रसाद भण्डारी
डा. हरिप्रसाद भण्डारी

सुन्दर र हसिलो अनुहार भएकी उनी त्यस्तै १५/१६ वर्षकी किशोरी थिइन् ।

निर्वाचन चलिरहेको थियो। मतदाताको पंक्तिमा उभिएकी उनले पहिलोचोटि पिताम्बर आचार्यकी छोरी वर्ष १९ की कल्पना आचार्य बताएर मतदान गरिन् । खासै विरोध भएन । केही समयपछि उनी धनबहादुर कार्कीकी छोरी वर्ष २७ की उमा कार्की बनेर मत खसाल्न आइन्। एकजना एजेन्टले बिरोध गर्दै थियो, धेरैले समर्थन जनाएका हुनाले दोश्रो मत पनि उनले सजिलै खसालिन्।

तेश्रोचोटि उनी कविराम सुवेदीकी श्रीमती वर्ष २९ की दीपा सुवेदी बनिन्। यस पटक उनले ब्लाउज र साडी लगाएकी थिइन्, आँखामा काला चस्मा पनि थिए । सामान्य बिरोध हुँदै थियो तर बिरोधको स्वर भन्दा समर्थनको स्वर चर्को सुनियो। उनको यसचोटिको प्रयास पनि सफल भयो।

दीपा सुवेदीले मतदान गरेको केही समयपछि गुन्यू, चोलो र घलेक लगाएर र कपालमा मुजेत्रो बेरेर उनी अगाडि आइन् र जगत गुरुङ्गकी श्रीमती वर्ष ३२ की निर्मला गुरुङ्ग बताएर मतपत्र माग्न थालिन्। यसचोटि त असैह्य भए छ क्यारे, निर्वाचनमा खटिएका कर्मचारीहरूले समेत विरोध गरे। विवाद चर्कियो। नागरिक स्वतन्त्रता र मानव अधिकारका कुरा पनि उठे। केहीबेरपछि निष्पक्ष निर्वाचनमा अवरोध खडागरेको भन्दै मतदान अधिकृतको बिरुद्धमा नाराबाजी सुरुभयो।

“तपाई निर्मला गुरुङ्ग पनि होइन, ३२ वर्ष पुग्नुभएको पनि छैन, त्यसैले तपाईले मतदान गर्न पाउनुहुन्न।” मतदान अधिकृतले आफ्नो निर्णय सुनाए ।

“म निर्मला गुरुङ्ग होइन भन्ने प्रमाण पेश गर्न सक्नुहुन्छ त तपाई ?” 'निर्मला गुरुङ्गले मतदान अधिकृतका नाकै अगाडि औंलो ठडाएर प्रश्न गरिन्। सवाल-जवाफ निकै चल्यो तर उनी निर्मला गुरुङ्ग होइनन् भन्ने प्रमाण मतदान अधिकृतसँग पनि थिएन। त्यसैले उनी नतमस्तक भए। हाहा र हुहु चल्दै थियो। निर्मला गुरुङ्गले सहजै मतदान गरिन् र अर्को नाम खोज्नका लागि मतदाता नामावली भएका स्थानतिर लागिन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।