14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मृत्युको घण्टी

लघुकथा हरिप्रसाद भण्डारी February 11, 2009, 12:18 am

जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो। “म यो वनको राजा हुँ, मेरो आदेश सबैले पालना गर्नुपर्छ। उसको आदेश कडा हुन्थ्यो। जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो। कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन। यसले गर्दा सबै प्राणीहरू साह्रै चिन्तित थिए। यस्तो आतङ्कबाट कसरी छुटकारा पाउने भन्ने बारेमा समय समयमा गोप्य छलफल भइरहन्थ्यो तर समस्याको समाधान निस्कन सकेको थिएन।

एक दिन एउटा खरायोले जुक्ति निकाल्यो–

जङ्गलका किनारमा एउटा मन्दिर थियो। त्यसमा साना ठूला थुप्रै घण्टी थिए। खरायोको योजनामुताविक चङ्खे बाँदरले उक्त मन्दिरबाट एउटा राम्रो बज्ने घण्टी निकाल्यो र बजाउँदै हिँड्न थाल्यो।

“यो अनौठो आवाज केको हो?” सबै जनावरलाई एकै ठाउँमा जम्मा गराएर सिंह गर्जियो।

“सरकार एउटा बाँदरले स्वर्गबाट ल्याएको भन्दै एउटा नौलो बाजा बजाउँदै हिँडिरहेको छ। अलि परै बसेका खरायोले भन्यो।

“जुन बाजा सरकारका घाँटीमा परेको छैन, उक्त बाजा बजाएर हिँड्ने अधिकार त्यसले कसरी पायो?” पर रुखको आड लागेर बसेको मृगले प्रश्न गर्‍यो।

“रिसानी माफ होस् सरकार उक्त घण्टी हजुरका घाँटीमा मात्र शोभायमान हुन्छ। डराइ डराइ खरायोले भन्यो।

“त्यो फटाहा बाँदरलाई तुरुन्त हाजिर गराउनु।” सिंहले आदेश जारी गर्‍यो।

केही समयपछि डराएको अभिनय गर्दै र घाँटीमा भिरेको घण्टी बजाउँदै बाँदर हाजिर भयो।

“त्यो घण्टी मेरा घाँटीमा लगा। रिसाउँदै सिंहले भन्यो।

“हो सरकार सुन्दर घण्टी हजुरका घाँटीमा हुनुपर्छ।” सबैले एक स्वरमा बोले।

मलिनु अनुहार बनाएको अभिनय गर्दै बाँदरले आफ्ना घाँटीबाट घण्टी निकाल्यो र बलियोसँग सिंहका घाँटीमा बाँधिदियो। त्यो खुसीयालीमा उपस्थित सबै प्राणीहरूले ताली बजाउँदै सिंहको जयजकार गरे। सिंह मख्ख पर्‍यो।

दुई/चार दिन घण्टीको आवाज निकै सुनियो तर पछि बिस्तारै कम हुँदै गयो।

घण्टी बज्न छोडेपछि घण्टी खोज्दै गएका प्राणीले देखे उक्त घण्टी मृत सिंहको घाँटीमा आरामले बसिरहेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।