19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ घर

कथा डा. हरिप्रसाद भण्डारी February 12, 2009, 2:10 am
डा. हरिप्रसाद भण्डारी
डा. हरिप्रसाद भण्डारी

नयाँ घरमा सरेपछि श्रीमतीको कचकच बन्द भयो। छोराछोरीहरू पनि नयाँ घरको फराकिलो आँगनमा रमाई रमाई खेल्न थाले। उनीहरू खुशी भएको देख्दा मेरो मन पनि आनन्दविभोर भइरहेको थियो।

दुई तिन लाख महङ्गो भयो भन्दै थिए सबैजना, तर मलाई कुनै पछुतो थिएन। जावो दुई तीन लाख कुन ठूलो कुरा हो र मन परेको वस्तु पाएँ, यै ठूलो कुरा भयो। हरक्क मन परेपछि अरू सबै कुरा गौण भए।

फराकिलो ठाउँ, स्वच्छ र शान्त वातावरण, सहरले जितिनसकेको ग्रामीण परिवेश, यस्तो सुन्दर ठाउँमा चिटिक्क मिलेको आधुनिक बंगला। सुन्दर र रङ्गिविरङ्गी फूल र हरियो दुवो भएको वगैंचा, पर्खालसँगै जोडेर लगाइएका धुपी सल्लाका साना साना विरुवा, बीचमा मिलेका ढङ्गा बिछाइएको खुला र सफा आँगन। वरिपरि पक्की पर्खाल र त्यसमाथि फलामे वार सहितको सुरक्षा घेरा, एक दुईटा गाडी राख्न सजिलै मिल्ने ग्यारेज। यी सबै नयाँ घरका विशेषता थिए। सबै मिलेको घर हतपति कहाँ पाइन्छ र? त्यसैले त हेर्दासाथ मन परेको थियो। मन पर्‍यो लिएँ। धन्न पाइयो। पाइनुलाई नै ठूलो कुरा मान्नुपर्छ। दुई तीन लाख मात्रै होइन, दशै लाख बढी भनेको भए पनि छोड्ने थिइन, यस्तो स्वर्गको टुक्रालाई।

यस्तै सोचाइहरू आए मनमा।

घर सरेकै दिनदेखि छिमेकीहरूको आवतजावत सुरु भयो। समाज चाहिन्छ भन्ने विचारको मान्छे म। समाजविना कहाँ बाच्न सकिन्छ र यै समाजका कारण त नौलो ठाउँ खोजेर हिंड्नु परेको हो। यही आएर पनि समाज जुटाउन सकिएन भने कसरी बिताउनु यत्रो जीवन? समाज त प्राण हो। जो समाजसँग मिलेर बस्न सक्दैन वा जसको आफ्नो समाज छैन, त्यस्तो व्यक्ति पूरा आयु बाच्न पनि सक्दैन भन्ने मान्यता छ मेरो। यस्तै सोचाइ भएको हुनाले छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्न थालेँ।

श्रीमती पनि खप्पिस छन् यस्ता मामिलामा। सामाजिक प्रतिष्ठा बढाउनका लागि दिनमा वरिपरिका महिलाहरू जम्मा गरेर मिनी भोजै चलाउँछिन्। यस्ता मामिलामा उनको स्वभाव उदार हुन्छ। टिभीमा प्रशारित नयाँ सिरियल, पत्र पत्रिकामा प्रकाशित खानाका नयाँ परिकार बनाउने तरिका, सहर बजारमा चलेका र हिन्दी तथा नेपाली सिनेमामा हिरोइनले लगाउने नयाँ नयाँ फेसन आदि कुरा पनि कण्ठै हुन्छन् उनलाई। यस्ता कुरामा घण्टौँ भाषण गर्न सक्छिन्। सहरिया महिलाहरूका गफका विषय यस्तै त हुन्। यस्तै कुरा गर्न र सुन्न पाए दिन गएको थाहा पाउदैनन्।

'आज पल्ला घरकी दिदी आएकी थिइन्। मेरो नेकलेट देखेर दङ्ग परिन्। अमेरिकाबाट दाजुले पठाइदिनुभएको भनेँ। विवाहमा लोग्नेले ल्याइदिएको एकजोर गहना बाहेक एउटा फुलीसम्म पनि थपेकी छैन भन्दै थिइन्। आजकल सक्कली भन्दा नक्कली गहनाको प्रचलन बढेको छ भन्दै थिइन्। सक्कली त किन्न सके पो नसक्नेले नक्कली लगाउने त हो।' यसो भन्दै एक्लै हाँसिन्।

ऊ त्यो रङ्ग नलगाएको घरमा बस्ने थापाहरू रहेछन्। सावित्रा नाउ रहेछ श्रमतीको। दिउस आएकी थिइन्। निकैबेर कुराकानी गरेर गइन्। यसचोटि छोराको विवाह गरेका रे। विवाहमा दाइजो लिनै मानेन छोराले भन्थिन्। कस्ता पाखे रहेछन्, समय अनुसार चल्न पनि नजान्ने। अहिलेको जमानामा पनि दाइजो नलिने रे केटी पट्टिका पनि कति लाज नभएका रहेछन् कुन्नि, दाइजो लिन्नौँ भन्दा पनि मान्ने मैले त भन्दिएँ― हामी त छोरीको विवाह गर्दा पनि टन्न दाइजो दिने हो, छोराको विवाह गर्दा पनि टन्न दाइजो लिने हो। मैले त्यसो भनेको सुनेर अँध्यारो मुख लगाइन्। मैले त वास्तै गरिन।'

छोरो आँगनमा स्वचालित नयाँ गाडीसँग खेलिरहेको थियो। छिमेकी केटाकेटीहरू छोराको गाडी देखेर टोलाइरहेका थिए। 'विचराहरू उनका बा–आमाले किन्न सक्नेभए पो यस्ता गाडी। कर्ममा लिएर आउनुपर्छ पैसा कमाउन। सीप र दिमाग पनि त चाहिन्छ।' मेरो मन यस्तै भन्दै थियो।

नढाटी भन्ने हो भने हिजोका आफ्ना दिन सम्झदा त मलाई पनि अत्यास लागेर आउँछ। गाउँका केटाकेटी अबस्थाका कुरा छोडौँ। सहरमा आएपछि पनि कम्ती दुःख पाइएको हो र पुरानो र अँध्यारो घरको चिसो कोठामा डेरा लिएर बस्दा झण्डै शरीर सुन्निएको। दिउसै बत्ती बालेर पढ्नुपर्थ्यो। त्यै माथि खाना पकाउँदा बालेको स्टाभको धुवाले कोठामा बसिसक्नुहुन्नथ्यो। अहिले पनि त्यसैगरी बस्नु परेको भए त, छि

दुईचार दिनमै टोलमा राम्रो चिनजान भयो। टोल सुधार समिति पनि रहेछ। एक दिन बिहान समितिका पदाधिकारीहरू आए। परिचय आदानप्रदान र समसामयिक विषयमा कुराकानी भए। नजिकै टोलमा रहेको मन्दिर मर्मत गर्ने योजना रहेछ। आर्थिक सहयोगको कुरा उठाए। मन फुकाएर चन्दा दिएँ। सबै दङ्ग परे। अझै बढी मागेको भए पनि हुदोरहेछ भन्दै थिए रे एक दुई जनाले बाहिर गएर। त्यसपछि बाहिर निस्कदा नमस्कार गर्ने र हालचाल सोध्नेहरूको संख्या पनि बढ्दै जान थाल्यो।

'हाम्रो टोलमा हजुरजस्ता जाती मान्छे आएकै थिएनन्। समाजसेवीमा हुनुपर्ने सारा गुण हजुरमा रहेछ। हजुर पनि बसिदिनुपर्छ है यस टोल सुधार समितिमा।' कहिलेकाहीँको भेटघाटमा यस्तै कुरा हुन्थे। 'समितिमा किन बस्नु पर्‍यो र तपाईहरू हुँदैहुनुहुन्छ, आबश्यक परेको बेला सम्भि्कनुहोला आबश्यक सहयोग गरुँला हुँदैन?' मैले यस्तै जवाफ दिन्थेँ।

'यस्ता उदार दिलका मान्छे कहाँ पाउनुर? यहाँ त समितिमा राखेन भनेर कत्ति मान्छे रिसाउँछन्, कति त समितिमा राखेनन् भनेर आउनै पनि छाडे। तर हजुर त महान मान्छेको विचार पनि महानै हुन्छ।'

त्यस ठाउँमा सरेको छोटो समयमै टोलबासीका आँखाको नानी भएको थिएँ। अघिल्लो टोलको वातावरण त्यति सहज थिएन। नचाहिने कुरा गरेर दिक्क पार्थे। चाहिदा नचाहिदा कुरा गरेर केटाकेटीहरूलाई पनि हैरान पार्दा रहेछन्। केटाकेटीहरू पनि खेल्न जान छोडेका थिए बाहिर। घरमै कम्प्युटर ग्याम ल्याएर राखिदिनुपरेको थियो। तर यहाँ त द्यौता जस्तै मान्छन् सबैले। छोराछोरीहरू पनि चौपट्टै रमाइरहेका छन्। सन्तोष भनेको यस्तै त हो।

आनन्दले बितिरहेका थिए दिनहरू। नयाँ घरमा आएपछि श्रीमती पनि दङ्ग थिइन्। साँझ आउँदा सुरुमा फलफूलको ताजा जुस पिलाउथिन्। थाकेर आएको बेला ताजा जुस पिएपछि शरीरमा स्फुर्ति आउँथ्यो। एकैछिन् पछि भुटेको मासु, फरेन स्कच, काजु, किसमिस आदि मलाई मन पर्ने खाद्य सामग्री टकार्थिन्। सङ्गै बसेर खान्यौँ दुवैजना। काम गर्ने मान्छे छँदै थिए। आफूले काम गर्न पर्दैनथ्यो क्यारे। आदश दिए पुग्थ्यो। नयाँ घरको डाइनिङ्ग हलमा बसेर खाँदा आनन्द आउथ्यो।

एकदिन अफिसबाट घर आउन अलि ढिला भएको थियो। अफिसमा एउटा समस्या परेको हुनाले अलि टेन्सन पनि भएको थियो। घरमा गएर आराम गर्नु पर्ला अनि टेन्सन भगाउने ओखती खानुपर्ला भन्ने सोच्दै आइरहेको थिएँ।

पहिले पहिले सधैं घरभित्र पस्नासाथ श्रीमतीले मुसुक्क हाँसेर स्वागत गर्थिन्। तर केही दिन यता उनको अनुहार बादल लागेको आकास जस्तै भएको थियो। काम गर्ने केटकेटीहरूसँग पनि झर्कन्थिन्। किन यस्तो भइरहेको छ भन्ने बारे मैले अनुमान गर्न सकिरहेको थिइन। कहिलेकाही साथी साथी मिलेर बाहिर गर्ने कृयाकलापको बारेमा जानकारी पाइछन् कि भन्ने डर पनि लाग्यो। त्यसैले झट्टै सोध्न पनि सकिन। उनको त्यो क्रम नरोकिएपछि एकदिन डराई डराई सोधेँ। केही नबोली भान्सातिर गइन्। केटाकेटीहरू पनि आफ्नै कोठामा बसेर टोलाइरहेका थिए। 'के भयो हँ यस्तो?' मेरो जिज्ञासा झन् बढ्दैगयो। मैले छोरीलाई फकाएर सोधेँ।

'बाबा बाबा, अचेल साथीहरू हामीसँग खेल्न मान्दैनन्। हामीलाई देख्यो भने पर पर भाग्छन्। राम्रा खेलौना खेल्न आऊ भनेर बोलाउँदा पनि आउदैनन्।' यसो भन्दै छोरी रुन थाली।

श्रीमतीको व्यवहार र छोरीको कुरा सुनेपछि मेरो टाउको फुट्लाजस्तै भयो। सुन्दर कोठा पनि बेरुप देखिन थाल्यो। मैले जोडले सविनालाई बोलाएँ र सोधेँ― 'हैन, के हो यस्तो चाला? हाँसो ठट्टा, बोलीचाली केही छैन, सधैं कुहिरो लागेकोजस्तो अनुहार।'

सविनाका आँखामा आँसु देखिए। 'हाम्रो हाँसो र खुशी अरूले उडाएर लगे। टोलभरिका मान्छे हामीलाई देखेर खिसिट्यूरी गर्छन्। भ्रष्टाचार गरेर किनेको घर भन्दैछन् सबैले। तपाईको पेशा र काम कारवाही सबै थाहा पाएछन्। यस्ता भ्रष्टाचारीहरूलाई टोलबाटै निकाल्नुपर्छ र यस्ताले छोएको पानी पनि खानुहुँदैन भन्दैछन् रे। अस्ति अस्ति दिनभरि आएर बस्ने र गफ गर्ने आइमाईहरू अहिले आउनै छाडे। फर्केर पनि हेर्दैनन्। बाटामा हिड्दा पनि आँखा तरेर हेर्छन्। केटाकेटीहरू पनि खेल्न जान छाडे। यस्तो पीडा खपेर बाँच्नु भन्दा त बरु मर्नै जाती। अर्कैका घरमा डेरा लिएर बसेको भए पनि शान्ति हुने थियो। उता त्यति राम्रो घर यस्तै भएर छोड्नु पर्‍यो। यहाँ नयाँ ठाउँमा आएपछि शान्ति मिल्छ कि भनेको त यहाँ पनि उस्तै भयो। अब कति ठाउँमा बसाई सर्दै हिड्ने? मुख देखाउन लाज भै सक्यो। सबैले चिनीसके। अझै त केटाकेटी सानै छन्। यिनी ठूला भएपछि व्यादान गर्नुपर्ला। त्यो बेलामा पनि यसै गरी भ्रष्टाचारी परिवारसँग नाता गाँस्दैनौँ भन्न थाले भने के गर्ने होला?' यसो भन्दै उनी हुक्का छोडेर रुन थालिन्। उनी रोएको देखेपछि छोराछोरीहरू आमासँगै रुन थाले।

यस्तो अबस्था देखेपछि अस्तिसम्म सुन्दर लागेको घर अहिले समस्याको रुपमा देखियो। हिजो अस्ति मर्निङ्गवाक जादा कसैले वास्ता नगरेको र आफूले बोलाउँदा पनि नसुनेझैं गरेको रहस्य बल्ल थाहा भयो।

मेरा अगाडि पहाड घरको सुन्दर दृष्य फनफनी नाच्न थाल्यो। कति स्वच्छ, सुन्दर र शान्त थियो म जन्मे हुर्केको गाउँ माटो र ढुङ्गाको एकतले घर। खरको छानो, खरकै पाली, चिटिक्क परेको सानो आँगन। आँगनबाट देखिने सुन्दर हिमाली दृष्य। के त्यो स्वर्ग थिएन? मैले उक्त पुरानो घरलाई अहिलेको नयाँ घरसँग तुलना गरेँ। पुरानो घरका सामु नयाँ घर भुत बङ्गलाजस्तै लाग्यो। नयाँ घरले चिपिक्क च्यापेर मार्छ कि जस्तै लाग्न थाल्यो। हेरेँ, सविना अहिले पनि घोप्टो परेर रोइरहेकी थिइन्। साना छोराछोरीहरू आँखाभरि आँसु लिएर नजिकै बसेर टोलाइरहेका थिए। मरो मनले प्रश्न गर्‍यो― के यही हो त सुख? के यस्तो जीवनलाई आनन्दित जीवन मान्न सकिन्छ?

मेरो टाउको फुट्लाजस्तै भएर दुख्यो। रिङ्गटा लाग्दाजस्तै भयो। घरभित्र थिएँ, सास थुनिएलाझैं भयो। बस्दा पनि मलाई उकुस मुकुस लागिरहेको थियो। श्रीमती र छोराछोरीको त्यो अबस्था देख्न सकिरहेको थिइन मैले। भित्रैदेखि जलेको मनलाई शान्त पार्न म बाहिर आँगनमा निस्किएँ।

यस्तैमा पल्लो घरको झ्यालबाट रेडियो बजेको आवाज आइरहेको थियो―

'हातका मैला सुनका थैला के गर्नु धनले,

साग र सिस्नु खाएको बेस आनन्दी मनले।'

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।