17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शान्तिपूर्ण फ्यूजन

लघुकथा कुसुम ज्ञवाली February 12, 2009, 6:44 pm

पशुपतिनाथले नेपाललाई रक्षा गर्नु पूर्व मृगस्थलीका मृगहरुले पशुपतिक्षेत्रको रक्षा गर्थे । मृगस्थली पारिपट्टीको बिशाल चौरमा सयौं मृगहरुको विशाल सम्मेलन डाकिनुको औचित्य पुष्टि गर्न बुढो मृगले मन्चमा चढेर भन्यो -

"नागार्जुन डाँडामा बस्ने डरलाग्दो बाघले हाम्रा सबै बालबच्चा लगायत सम्पूर्ण वैश नै सिध्याई सक्यो त्यसको नियन्त्रण गर्न अब हामीले मिलेर लड्नु पर्छ । बरु केही हाम्रा योद्धा सहिद भए पनि यो बाधको अत्याचारबाट हाम्रो शाखा सन्तान सुरक्षित हुन्छन् ।"

"हामीले बाघलाई जित्न कसरी सक्छौ त । बाघको हातमा भयानक हिंस्रक धारिला नङ्ग्रा छन् -" एउटा अधवैंसे मृगले वीचैमा प्रश्न राख्यो ।

बूढो मृगले भन्यो - "हो ! हामीले सजिलै जित्छौं । हामील सयौं छौं, ऊ एउटो छ । उसले एउटालाई झम्टिदा हाम्रा सयौ सिङले एकैपल्ट आक्रमण गर्दा उसको अन्त्य हुन्छ, हुन्छ । निश्चित रुपमा मार्न सक्छौ । त्यो बाघलाई ।"

अर्को मृगले भन्यो -"यसरी खुन बगाएर हाम्रो जीत हुदैन मैले एउटा उपाय सोचेको छु । त्यो के भने रानीवनमा अर्को भयानक बाघ छ । मैले त्यसलाई ल्याएर यस बाघसँग भिडाई दिन्छु । ती बाघको आ-आफै लडेर अन्त हुन्छ । यो मेरो नयाँ बिचार हो । मृग मुक्तीको संसारमा यो ज्यादै नविन मुक्तिको उपाए हो । प्रत्यार लाग्दैन भने हेर्नुहोस् म गरेर देखाउँछु ।"

लड्न डराएका अल्छी र डरपोक मृगहरुको एक हुलले यस कुरामा व्यापक सहमति जनाए । यसलाई मृग मुक्तिको एउटै मात्र महान विचार भएको प्रचार पनि गरे । ती झुण्डको नेता अर्थात रानीवनबाट बाघ ल्याउने मृगको कुरा पारित भयो । त्यो मृग रानीवन गएर बाघलाई काठमाडौं आउन अनुरोध गर्दै भन्यो - "जंगल नरेश ! तपाई जस्तो योग्य राजा अर्को हुनै सक्तैन । तपाईलाई नागार्जुनको पनि राजा बनाउन म यहाँ निवेदन गर्न आएको । म सम्पूर्ण मृगको प्रतिनिधित्व गरेर आएको छु ।"

बाघ आउन सहमत भयो र आयो ।बाटोमा नागार्जुनको बाघसँग भेट भयो । मृगले भन्यो -" सिहराज ! तपाईले त्यो बाघलाई सजिलै जित्न सक्नु हुन्छ । आक्रमण गरी हाल्नुहोस । हाम्रो बिजय जुलुस तपाईको स्वागतमा तयार भएको छ ।" नागार्जुनको बाघ पनि कमको थिएन । रानीवनको बाघले खाइलाग्दो नागार्जुनको बाघलाई जित्न सक्ने अवस्था देखेन । रानीवनको बाघले अनायास त्यही मृगलाई झम्ट्यो र मार्‍यो । मासु खाने मासु खानेको वर्ग एउटै हुन्छ साथी, लौ आउनुहोस् मिलेर खाऊँ भन्दै दुबै बाघले मिलेर मृगको मासु खाए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।