19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उनी, युद्ध र म

कथा विजयकुमार राई February 28, 2009, 7:22 am

उनी मलाई बनावटी ठेगानाबाट चिठी पठाउने गर्छिन् । आज उनको चिठी आएको छ । तर अफसोच उनलाई पत्र पठाउन सक्दिनँ । कारण उनको कुनै स्थायी ठेगाना छैन । म खोटाङको आर्मी ब्यारेकमा छु- 'इन्फ्यान्ट्री डिभिजन' मा ।

रातहरु अचेल भयानक हुने गरेका छन् । कुनै पनि रात हाम्रो ब्यारेकमा बन्दुकका गोलीका झिल्काहरु बल्न सक्छन् । हरेक रात आशा च्यापेर निदाउनुपर्छ अनि हरेक प्रातः निराशासँगै ब्यूँझनुपर्दछ । चिठी आएको साँझ दिक्तेल बजारमा म आफ्नो 'प्याट्रोलिङ ड्यूटी' सकेर खाना खाएपछि ओछ्यानमा पल्टेर त्यही पत्र मधुरो टुकीको प्रकाशमा पढ्न थाल्छु । अतीत बल्झन्छ ।

कविता र म सानैदेखिका साथी हौँ । सानो छँदा उनीसित भाँडाकुटी खेलेको सम्झना स्मृतिमा अहले आएर अलि धुमिल भए पनि हामी अलि ठूलो भएपछि दिखुवा खोलाको वनमा बाख्रा चराउन जाँदा ऐँसेलु र काफल टिपेको आजसम्म पनि स्मृतिपटमा ताजै छ । हामी एउटै कक्षामा पढ्थ्यौँ । सँगै स्कूल जान्थ्यौँ र फर्कन्थ्यौँ । हाम्रो परिवारको पनि एक-आपसमा खूब मेल थियो । त्यो दिखुवाको सुसाइ निर्जन वन' ऐँसेलु कटुस र काफलका बोटहरु उकाली-ओरालीका गोरेटाहरु चौतारी र पीपलका छायाँहरुले हाम्रो पूरै बाल्यकालसँग मितेरी लगाएथ्यो ।

उनले र मैले हिँडेका बाटाहरु एउटै थिए । उनलाई घोचेका काँडाहरुले मलाई पनि घोचेथ्यो मलाई रुझाएको झरीले उनलाई पनि रुझाएथ्यो र उनलाई पोल्ने घामले मलाई पनि पोलेथ्यो । उनलाई छुने बतासले मलाई पनि छुन्थ्यो । हाम्रो कुरा मिल्थ्यो मन मिथ्ल्यो । एसएलसी दिँदासम्म हामी निकै नजिक भइसकेका थियौँ । अझ पछि गएर हाम्रो सपना पनि मिल्यो । हाम्रो पढाइ राम्रो थियो काठमाडौँ गएर साइन्स पढ्ने भयौँ । दुवैको डाक्टर बन्ने निजी र साझा सपना थियो ।

म काठमाडौँ जाने भएँ तर कविताको परिवार उनलाई काठमाडौँ पढाउन सक्ने आर्थिक स्थितिमा थिएन । सोचेजस्तै कसको पो जीवन छ र हाम्रो सपनाको एक छेउ त्यसदिन फाट्यो । त्यो हाम्रो पहिलो विछोड थियो ।

पहिले नै धेरै सपनाहरु बुन्यो भने ती उधि्रँदा रहेछन् । म काठमाडौँ त पुगेँ भर्ना पनि भएँ । तर मैले चाहेर कोसिस गरेर पनि मलाई अगाडि पढ्न मन भएन । सँधै गाउँकै सम्झना आइरहन्थ्यो । कविताको आकृति सदा आँखा अगाडि नाचिरहन्थ्यो । मन बरालिन थाल्यो । आइएस्सी फस्ट इयर गरेपछि लाहुर भिड्न भनी म गाउँ फर्केँ । त्यही निहुँमा कवितासँग मीठो मिलन भयो । उनीसँग रमाइला दिनहरु बिते । लाहुरमा भाग्यले साथ दिएन । त्यसै वर्ष शाही नेपाली सेनामा भर्ना हुन भने सफल भएँ । विदाइको बेलामा 'फर्किँदा के ल्याइँदिऊ ' भन्दा कविताले भनेकी थिइन् 'केही चाहिँदैन तिमी सकुसल फर्केर आए पुग्छ ।' हाम्रो अर्को विछोड । हामीबीचको यो सम्वाद तीन वर्षअघिको थियो ।

दोश्रो विछोडको एक वर्षपछि म घर फर्किँदा गाउँमा कविता थिइनन् । क्रान्तिकारी विचारधाराका पुस्तकहरु उनी पढ्ने गर्थिन् । एकदिन आफूले पढेका पुस्तकहरुको पात्र बन्न उनी सुटुक्क हिँडिछिन् उनको बा-आमा र मेरो सपनामा तुषारो छरेर । साथीहरुलाई भन्थिन् रे 'म मान्छे बनेर फर्कन्छु ।' यो थियो हाम्रो तेस्रो विछोड ।

यसरी हाम्रो जीवन कुनै सिनेमाको रिलझैँ घुमिरह्यो । समयको चक्रसँगै हामीले फरक बाटा रोज्यौँ । हामीले हिँड्ने बाटाहरु फरक भए । नदीमा पुल भए पनि त्यही नदीको दुई भिन्नै किनार हिँड्यौँ । तर यो भिन्नतामा एउटा कुरा दुवैको मिल्यो अर्थात् हामी दुवैले एउटै कुरा रोज्यौँ- बन्दुक । उनले मोर्चा खडा गरिन् उनी स्वयं र मेरा लागि ।

कमलका फूलहरु विषालु भ्यागुताहरुले गर्दा ओइलिएछन् । शान्त तलाउमा तनावका तरङ्गहरु उब्जेछन् । ती शान्त परेवाहरुको निश्फिक्री कावा खाने नीलो आकाशमा बारुदको बादल उड्न थालेछ । युवाको जोश र जाँगरले बन्दुकको ट्रीगर तानेछ । चेलीहरु विधवा भए छोराछोरीहरु टुहुरा । आमाका नयनबाट अजस्र अश्रुधारा बहे । बाबुका कर्महरुमा खोट लागे ।

तीन महिनाअघि हाम्रो भेट भएको थियो संयोगले । बाँचिरहेकै छु भन्ने सन्देश दिन उनी घरमा पुगेकी थिइन् । म बिदामा घर पुगेको थिएँ ।

आफ्नो कर्मप्रतिको वफादारी प्रस्टै झल्कन्थ्यो उनको अनुहारमा । ती अढाइ वर्षमा उनले कति जङ्घल चहारिन् कति बाटाहरु हिँडिन् कहाँ कहाँ पुगिन् र कति नयाँ विचार र सिद्धान्तहरु सँगालिन् होला तर उनको आँखा पहिलेजस्तै थियो परिभाषित । हामी घङ्गारुको घारीमा कुरा गर्दैथ्यौँ जुन कुनै पनि बेला एके ४७ वा थ्री नट थ्री का गोलीले छेड्न सक्थ्यो ।

मैले मायाको साउतीमा मौनतालाई फुकाएँ 'मान्छे बन्यौ त '

'क्रममा छु ।'

'तर आफू बन्ने क्रममा किन अरुको सपना भाँच्छौ '

'तिमी जसको सपना भाँच्छौ भन्दैछौ हामी उनीहरुकै निम्ति लड्दैछौँ ।'

'तर्क वितर्कहरु धेरै छन् कविता! तर के तिम्रो सिद्धान्तको देश के मेरो सिद्धान्तको देश आखिर हाम्रो देश र जनताले फगत रगत र रोदन बाहेक के पाएका छन् ?'

हामीबीच एकछिन मौनता छायो ।

'कविता हाम्रो बाल्यकालसँगै बित्यो । एउटै बाटाहरु हिँड्यौँ र एउटै सपना साँच्यौँ । तर अहिले आएर हाम्रा बाटाहरु फरक भए । तर पनि हामीमा बग्ने रगत एकै रङको छ । हाम्रो भावना एउटै हो- 'मानवभावना' ।' उनी अझै मौन रहिन् ।

'तिमीले के पढ्यौ कस्तो सिद्धान्त अँगाल्यौ मलाई थाहा छैन तर मलाई यति भन कि मानवताको सिद्धान्तलाई तिमीले किन आहुति दियौ?

'त्यसलाई मैले आहुति दिएकी छ्रैन । मानवताको सिद्धान्त म पनि मान्छु त्यसैले त हामी धनी र गरीब अनि शासक र जनताबीच विद्यमान खाडललाई पुर्न चाहन्छौँ । सबै मानिस समान हुन् र हुनुपर्छ भन्ने नै हाम्रो मूल सिद्धान्त हो । तर यो स्थिति अहिलेको नेपालमा छैन त्यसैले हामी नयाँ नेपालको निर्माणमा जुटेका छौँ । हामी समानअधिकार प्राप्तिका लागि लड्दैछौँ कविताले भनिन् ।

'समकालीन इतिहासलाई सर्वाधिक प्रभाव पार्ने वस्तु कुनै छ भने त्यो बन्दुक नै हो तर हतियारधारीले कहिल्यै केही राम्रो गर्न सक्दैनन् । इतिहासमा कहिले युद्ध राम्रो र शान्ति नराम्रो भएको छ केही हतियारको भरमा कसरी सारा जनताको भविष्य फैसला गर्न सकिन्छ 'उनले भनिन् 'जे भए पनि तिमी पनि आखिर हतियारधारी नै हौ ।'

'ठीक भन्यौ । हुन त मैले पनि बन्दुक उठाएँ तिमीले पनि उठायौ तर यीमा भिन्नता के छन्- आफैँ केलाउ । बरु अब त्यसो भए हामीबीच एउटा सम्झौता गरौँ । बा-आमाका मनमा गाँठो पारेर आश्रितका आँखाहरुमा कोसी-कर्णाली बगाउँदै कतिञ्जेल बन्दुक पड्काउने र कस्तो इतिहासको निर्माण गर्ने कविता! अब हामी गौरवमय इतिहासको अभिशप्त सपना र आलस्य बोकेर नबाचौँ । जनता र समानअधिकारको लागि लड्ने अरु राम्रा उपाय पनि छन् । बन्दुक मात्रै उपाय होइन । हामी चिसा राइफलमाथि कोरा कागज राखेर आफ्नो देशको र जनताको भविष्यको डायरी नलेखौँ । र युद्धको नाममा जीवनमृत्युको लुकामारी नखेलौँ । बन्दुकको गोलीको रेञ्जभन्दा कलमको विचारको रेञ्ज सदैव बढी हुन्छ । अब म कलम उठाउन चाहन्छु । के तिमी यस कुरामा मलाई साथ दिँदैनौँ ?'

उनका ती परिभाषित आँखामा मैले उत्तर खोजेँ तर प्रस्ट जवाफ पाइनँ ।

म चाँडै बन्दुकलाई अवकास दिँदैछु । खाना खाएपछि ओछ्यानमा ढल्किएर आज आएको उनको पत्र टुकीको मधुरो प्रकाशमा म पढ्दैछु । उनले लेखेकी हुन्छिन् 'म मान्छे बन्न बन्दुक बिसाउँदैछु । समाज र देश निर्माण गर्न कलम उठाउँदैछु । कलमले हामी तिमी र म मानवताका गीतहरु लेख्नेछौँ । हामी सँगै मिलेर गाउनुपर्छ ल?'

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।