14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

म र मेरो हतियार

कविता कृष्ण प्रर्साई March 15, 2009, 1:41 am

सृष्टिकर्ताले शुरुवात्बाटै,

केही मिल्दो–

केही बिल्कुलै उल्टो बनोटमा–

म नारी,

र तिमीलाई पुरुषको प्रमाणपत्र दियो।

पुरुष हुनको दुर्भाग्य–

पुरुषार्थहरू कतिखेर नुहिन्छन्–

यो मलाई राम्ररी थाहा छ।

यसर्थ तिमी हुनुका कमजोरीहरू पनि मैले बुझेकी छु।

जसरी,

आदर्श हुनुको बहानामा–

सीता हुनुको नामबाट,

म रामायणकी युद्ध पनि भएँ।

पोथी नाथे भनेर के गर्छौ र?

पाञ्चाली हुनुको प्रतिशोधले–

महाभारतकी विजेता पनि बने।

मेरो इतिहासले त्यही भन्छ―

मेरा स्वार्थका लागि,

विषकन्या हुनुको दाँतहरूबाट–

कैयौं बादशाहहरू डसिएका छन् –

थुप्रै जोइटिङ्ग्रेकी स्वास्नी हेलेनहरूबाट–

धेरै कोतहरू पनि रचिएका छन् –

र निर्दोष मान्छेहरू मारिएर,

सिंगै राष्ट्रहरू रगतले भिजेका छन्।

अनर्थ किन सम्भि्कनु मैले–

क्लियोपेट्राजस्ता पनि मेरा पूर्वजहरू छन्।

कैकेयी जस्ता पनि मेरा अग्रजहरु छन्।

अनि मेरा समुदायमा –

स्वर्गबाट बारम्बार,

धर्तीको तपस्या बिच्क्याउँदै–

कामोत्सव मनाउन हिंड्ने,

कामाग्नि मेनकाहरू पनि छन्–

अथवा आवश्यक ठान्दा,

श्रापैसमेत कस्न सक्ने–

तिमीले वाइफाले भन्ने गरेका

सहस्र उर्वसीहरू पनि छन्

यसर्थ म सगर्व भन्न सक्छु–

मेरा हत्केलामा अहिले पनि सिंगै संसार नाच्न सक्छ।

तिमीले गिल्ला गरेर केही फरक पर्दैन मलाई–

मेरो एउटै ओठको मुस्कान मात्रै–

यथेष्ठ हुन्छ सम्मोहन गर्नमा अहिले पनि,

पर्याप्त बन्दछ जादू भर्नमा अहिले पनि–

अन्यथा मान्नुपर्ने केही छैन,

तिमी पुरुषभन्दा–

जन्मदै अस्त्रले सुसज्जित भएर,

म नारी अन्मनु भनेको–

वरदान हो, आविष्कार हो

मेरो आविस्कारले युद्ध जित्न सक्छ–

यस अर्थमा म,

संसार जित्ने योद्धा पनि हुँ–

म त फेरि पनि भन्छु–

ढाल म स्वयंमा रहेकाले,

तिम्रा सम्पूर्ण क्षेप्यास्त्रहरू ढल्नेछन् मेरो हतियाराका सामु।

यसैले याद राख!

आफ्ना प्रक्षेपणहरूबाट म धर्ती पनि टुक्र्याउन सक्छु।

सबै हतियारहरूभन्दा बलियो हतियार चलाएर,

संसार जुनसुकै बेला ध्वस्त पार्न सक्छु।

संसार जुनसुकै बेला नष्ट पार्न सक्छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।