19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजमार्ग र गुरुजीहरु

कविता टेकब कोइराला March 15, 2009, 6:45 am

पहिले पहिले राजमार्गहरु

अग्घोरै चल्तीमा थिए

चक्काहरु गुड्थे रातोदिन

यो बिसौनीपछि ऊ बिसौनी

फलानो बस्तीपछि ढिस्कानो बस्ती

गुरुजीहरुलाई मनग्गे 'मालुम' थियो।

आजकल राजमार्गहरु

अग्घोरै उराठलाग्दा छन्

चक्काहरु महिनौसम्म जाम हुन्छन्

मंसिरको चार–पाँच गते चक्का गुड्छ

फेरि अर्को पालो माघको चौध–पन्ध्र पनि कुन्नी

बल्लतल्ल चक्का गुडाउन पाउँछन् गुरुजीहरु

अलमल–अलमलमा, अन्योल–अन्योलमा

माकुराको जालो पन्छाउँदै

बाटाका बस्ती र बिसौनीहरु पनि

नौला–नौला, धुर्मैला–धुर्मैला

कतै देखे–देखे जस्तो

कहीं चिने–चिने जस्तो।

आजकल राजमार्गहरु

अग्घोरै बिरानो भइसक्यो

गुरुजीले राजमार्ग चिन्दैनन्

राजमार्गले गुरुजीलाई जान्दैन

फेरि चक्काहरु जाम हुन्छन्

बल्ल पालो आउँछ महिनौंपछि

फेरि चक्काहरु गुडाउँछन् गुरुजीहरु

माकुराको जालो पन्छाउँदै।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।