19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नाटक

लघुकथा रुगोरख ब सिंह, March 19, 2009, 2:26 am

कार्यक्रमका अतिथिले मञ्चबाट दुई जोडी सेता परेवा आकाशमा छोडनु सँगै आमसभाका सहभागीले पररर ताली बजाए। तालीले तर्सिएका परेवा आकाशमा तितरबितर भए।

अतिथिको यो परेवा मुक्तिमा ऊनी दुई मानेमा भाग्यमानी रहे। पहिलो समाउदाको लछारपछारले घायल र दुई दिन देखि भोकप्यासले पिडित ती परेवा उडन सके। उडन असमर्थ एउटा परेवाले कम से कम सभास्थल पार गर्न सक्यो र ऊ भुईँमा खसेको घटनातिर कुनै सहभागीको ध्यान गएन – उनी भाग्यमानी रहनुको दास्रो कारण थियो।

सभाको सम्पन्नतासँगै अतिथि महोदय समाचारमा छ्यापछ्यापती छाइएका थिए–वास्तविक शान्तिदूतको विशेषण बोकेर।

यो सबै दृष्य देखिरहेका धरहरामा बस्ने एक जोडी परेवाको पोथीले सोधि “हैन, ए बुढा! यी मान्छेले हामीलाई आफै समाउछन्, आफै थुन्छन, आफै उडाउछन् र आफै आफूलाई शान्तिदूत घोषणा गर्छन्–यो के गरेको हो तिमीले केही मेसो पाएका छौ?”

“यसमा खास त्यस्तो केही कारण छैन, प्रिय।” भाले परेवाले पोथीलाई ठूँग मार्दै भन्यो “मान्छेले गर्ने यस्ता थुप्रै विचित्र नाटक मध्येको यो पनि एउटा नाटक हो, अरु खास केही होइन।”

त्यस पछिको ठूँगी माग्ने पालो भालेकोे थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।