19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पैयुँ फुल्ने गाउँ

कविता रमेश पौडेल April 5, 2009, 7:51 am

लाली गुराँस फुल्यो

ओइलियो झर्यो

पैयुँ फुल्यो

ओइलियो झर्यो

सयपत्री, मखमली फुले

ओइलिए झरे,

फुल्नु प्रकृति

ओइलिनु, झर्नु

नियति !

थिए आदिम मान्छे

अनिकाल थियो अक्षरको

बिना शब्द टाँग्थे कविता

गुराँसे हाँगामा

गाउँथे गीत विना स्वर

छहरे छाँगामा ।

पैयुँ फुल्ने गाउँ

यौटा अलिखित कविता

जो ! लेखिएकोभन्दा उत्कृष्ट लाग्छ !

पैयुँ फुल्ने गाउँ

नगाइएको त्यो गीत,

जो, गाइएकोभन्दा मीठो लाग्छ !

ङोल्स्यो छम्छमाउँदा

पैयुँको छायामा

ठुस्स पर्छे उता

मितिनी माछापुच्छ्रे

वाह !

मीठो ईश्र्या

हेरेका सबै

देख्न सकिन्न,

देखेका सबै

लेख्न सकिन्न !

पैयुँ फुल्ने गाउँ

भेट्नु एकदिन,

मै हुँ भन्नेले !

००

अक्षर यात्रा, वागेफड्के, स्याङजा

गोरखापत्र,१४ मंसीर,२०६५

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।