हुनत मेरो परिवारमा पर्यटक वा पर्यटन व्यवसाय संग संग
सम्बंधित कोहि नभए पनि मलाई भने गाउँमा सानै छंदा देखिनै ट्रेकिङ्ग मा
आउने बिदेशी हरु र उनिहरुका रंगी चंगी पाल र सरसामान हरुले भने मेरो मनै
कताकता पुरयाई दिन्थ्यो र मलाइपनि उनिहरू संगसंगै हिढुँ हिढुँ लाग्थ्यो
, तर मेरो घुम्ने बाल मनोइच्छा भने SLC पास भैसके पछि मात्र बिस्तारै
पूरा हुन सुरु भएकोथियो ! जसनुसार पहिलो पटक ४ जना साथिहरु मिलेर
मनोकामना र नारायाणघाट घुमेर पहिलो पटक आमा बाट ""नेपाली टुरिस्ट "" को
पगरी गुथिएको थियो ! त्यसबखत सोह्र वर्षे उरंठ्यौलो उमेरमा घुमेको
सम्झना हरु धूमिल धूमिल र मोटामोटी मात्रै याद छ ! हुनत सुखद: र राम्रा
सम्झना हरु मा डुब्नु भनेको वर्तमान मा बाँचेर बिगत मा उड़ान भर्नु हो र
आँखा चिम्लेर त्यों यात्रा गर्दा झन बिछट्टै आनंद आउँछ ! तर कतिपय
महत्वपूर्ण क्षण हरु ले भविष्य मा कत्तिको महत्व राख्छ भनेर नसोच्दा ति
अनमोल पल हरुको याद दिमागको रिसाइकल बिन बाट पनि डिलीट भै सकेको हुने
रहेछ !!!
हामीहरुको एउटा मित्र मंडली थियो जसमा ५ जना थियौं , कतै घुम्न
जाने भने पछि यी ५ जनाको बिचमा २,४ दिन भित्र सल्लाह मिली हाल्थ्यो तर
आमा बाट सुन्नु पर्ने ""नेपाली टुरिस्ट "" को व्यंग्य बाण ले भने
हामीलाई हँसाएकै हुन्थ्यो , किनभने मेरो साथिहरु घरमा आउन साथै आमा ले
लौ ""नेपाली टुरिस्ट "" हरु आयो है अब कहाँ घुम्न जाने योजना छ ? भन्नु
हुँदै उनिहरुको स्वागत गर्नुहुन्थ्यो ! हुनपनी हामीहरु वर्ष दिनमा ३.४
पटक त कतै न कतै २,४ रात बिताएकै हुन्थ्यौँ , कहिले क्याम्पिंग ,कहिले
दर्शन को नाममा त कहिले एड्भेन्चर को नाममा ! शायद त्यों समय
नेपालिहरुमा पर्यटन वा आन्तरिक पर्यटन को महत्व भनेको नै तीर्थ , दर्शन
र हनीमून मै सिमित थियो ! तर पनि हामीहरु भने आफुलाई अन्य नेपाली
युवाहरु भन्दा फरक अनुभव गर्थ्यों ! अनि हुनसक्छ युवावस्था मा जो कोहिलाई
पनि आफु र आफ्नो छुट्टै पहिचान बनाउन चाहने स्वभावले नै होला हामीहरु पनि
अरु भन्दा छुट्टै देखिन खोज्थ्यौँ र ""नेपाली टुरिस्ट "" बनेर हिंड्दा
त्यस्तै अनुभव हुन्थ्यो पनि !
यस्तै खाले घुम्ने सिलसिलाको एउटा अविस्मरणिय यात्रा संस्मरण थियो
हाम्रो गोसाईकुण्ड को यात्रा ! करीब १४ बर्ष अघिको त्यों सम्झना का
पत्रहरू मा डुबेर धेरथोर अनुभवहरु बटुलेर ताजा बनाएको छु र तपाईहरु सित
बाँडदै छु ! यात्राको लागी गोसाईकुण्ड नै रोज्नु पर्ने कारण मा सानै
देखि सुनिँदै आएको त्याहाँको प्राकृतिक आकर्षण नै थियो , योजना को
अन्त्यमा ३ जना मात्रै जाने भइयो , अरु साथिहरु आउन नचाहानुमा शायद अलिक
लामो रुट भएर पनि होला किनकी हामी काठमाडौं बाट धुन्चे हुँदै हेलम्बु
अनि सुन्दरीजल को आधी फन्को लगाएर काठमाडौं फर्कने भनेका थियौं र
त्यसको लागी मज्जाले ३,४ दिन उकालो र ओरालो हिंड्नु पर्थ्यो , जेहोस
हामी ३ जना मात्र सोंह्र खुट्टे बाट र सम्पूर्ण तामझाम सकेर धुन्चे
जाने बसमा सवार भयौं , तर हाम्रो यात्राको समय भने ठ्याक्कै गोसाईकुण्ड
को जात्रा ( जनै पूर्णिमा ) को भोली पल्ट पारेका थियौं , धेरै नै
भीडभाड र होहल्ला मा यात्राको रस नआउने भएर पनि यस्तो निर्णय गर्नु
परेको थियो !
बसले जब बालाजु को रानीवन को हरियाली छाडेर काठमाडौं को दृश्य
बाट ओझेल बनायो अनि नयाँ नयाँ दृश्य हरु संग मन साट्टीँदै गएपछि
रोमांचकता , कौतूहलता ले मन उद्द्वेलित हुन थाल्यो ! बसको चिउँढोमै
Speed Limit 40 K.M. लेखिएको थियो तर जे कारण ले त्यस्तो लेखिएको
भएतापनी बसको गति भने घटी र बढ़ी हुँदै रानीपुल , त्रिशूली घुमाउँदै बल्ल
४:३० बजे तीर धुन्चे झारिदियो ! सांझ परिनसकेकोले केहिबेर को सुस्ताई
पछि धुन्चेको सेरोफेरो नियाल्न भनी हामी बाहिर निस्कियौँ र यता उती गरि
५,७ थान फोटो खिच्यौँ तर तयस्बखत त्यों बेलाको नामूद मानिने निकोन
जूमलेन्स क्यामरा मेरै हातबाट फुत्केर पनि भुइँ मा बजारिनु भन्दा अघि २
इंच जति माथी नै च्याप्प अँठ्याउन सकिएर मात्र !! नत्र त्यों यात्रा
अलिक अलिनो नै हुनेथियो होला , किनभने त्यों क्यामरा राजकुमारको थियो र
उसलाई पनि कसैले चिनो स्वरूप दिएको थियो र त्यों बिना यात्रा का राम्रा
क्षण हरु र दृश्य हरु कैद गर्ने अर्को उपाय त्यहाँ त्योबेला संभव थिएन ,
अंतत हामी एकपटक फेरी ख़ुशी भयौं र लज तिर फर्कियौँ ! साँझमा लजधनि सित
आवश्यक सर्सल्लाह पनि लियौँ र भोलीको सफा मौसम को कामना गर्दै
बेलैमा ओछ्यान तिर लाग्यौं !
कुक्कूरीईईई...!!!!! .काआँआँआँआँआँ !!!!!!!!!!!!! को अलार्म ले
निंद्रा खुल्दा कस्तो कस्तो अनुभव कूदी रहेको थियो मनमा , त्यों त्यहि
लजको रातो भाले थियो जसले एका बिहानै मेरो गाउँको पुरानो क्षण हरु लाइ
छेउमै ल्याएर छरिदिए जस्तो भान गराएको थियो , मेरो मनले अब त्यों भाले
हेर्नेनै अठोट गरे पछि तल झरेर आँखा दौडाउन थालियों बाहिर .... !
गाउँमा सानै हुँदा देखी रहने जस्तै भाले थियो त्यों अली अग्लो , रातो तर
गंभीर स्वभाव को लाग्थ्यो अनि अलिक नजिक पुग्दा पनि म प्रति वेवास्ता
गरे झैं गर्थ्यो र आफ्नै चाल्मा बिस्तारै जान्थ्यो तर मलाई भने त्यों
भाले कुनै दर्शनीय जीव जस्तै लागीरहेथ्यो !!! थाहै नपाई कल्पनामा डूबी
सकेछु की यसको पनि आफ्नै जिंदगी छ , कथा छ ,व्यथा छ र दुखेसो छ आफैं सित
अनी मान्छे सित ...!!!!! र यसबारे एउटा पुस्तकै तैयार हुनसक्छ
इत्यादिइत्यादि ! "" चिया नपिउने ??? "" राजकुमार ले डाकेपछी मात्र
मेरो ध्यान भंग भयो !छिटो छिटो चिया सक्याएर हामी हिंडन थाल्यौं ,
भाले रभालेको जीवनी लाइ त्यहीं छाडी , किनकी धुन्चेको केहिवेर को तेर्सो
पछि तप्राय दिन भरिनै उकालै उकालो हिंड्नु त बाँकी नै थियो !!!
सफा मौसम को कामना गर्दा पनि त्यों दिन भने धुम्मै थियो र राती
परेको पानिले बाटो चिप्लो बनाएको थियो ! हामी ३ यात्री मध्ये २ जना
मात्रै पक्का हिमाली पहाडिया र १ जना चाहीं मधेशमै जन्मे हुर्केको साथी
थियो र उसलाई हामी जीत भन्थ्यों , उसको हुलिया दिनु पर्यो भने यस्तो
हुन्थ्यो , कुनै साधारण शहरीया भारतीय युवक जस्तो देखिने , जीतेन्द्र को
जस्तो कपाल कटाई , अलिक मोटो तर गोरो , शुद्ध नेपाली बोल्न नजान्ने ,
आँखा ले मात्र कुनै पहाडिया नेपाली देखिने इत्यादि ! त्यसैले गोसाईकुण्ड
यात्रा उसको लागी निकै कठीन र संघर्ष पूर्ण हुन सक्थ्यो , छिरिंग लाइ र
मलाई यस् कुरा ले अलिक चिंतित बनाई सकेको थियो ! नभन्दै धुन्चेको.तेर्सो
मै चिप्लेर लढी हाल्यो साथी इस्स !!! भन्दै , हुनत चिप्लिने , जुका ले
टोक्ने , हाई लाग्ने जस्ता कुराहरुको पूर्वजानकारी र अपनाउनु पर्ने
सतर्कता वारे भनी सकेका थियोँ तर पनि संतुलन मिलाउन नसक्दा वा भनौं
पहाडी बाटो घाटों संग अभ्यस्त नभएकोले बेलाबेलामा लढी नै हाल्थ्यो
तर लड्नुभन्दा अघि मुख बाट " इस्स " भन्नेशब्द निकाल्न चाहीं कहिल्यै
छुटाएन उस्ले ! हामी दुई बिच भने जितको इस्स !!! भन्ने शब्द र
त्यसपछिको उसको हालत सम्झेर निकै बेर सम्म हाँसो चल्थ्यो !
यात्राको अर्का सहभागी मेरो बाल्यकालीन मित्र राजकुमार लामा
थियो , हामीहरु उनलाई छिरिंग भनेर पनी बोलाऊँथ्यौँ , उ पनी घुम्न जाने
भने पछि जहिलेपनी तैयार !! तर हाम्रो जमातमा उ नै बेसी ह्यान्ड्सम
भएकोले पनी यात्रा को छोटो समय मा पनी कतै न कतै छोटो लभ मा परि हाल्थ्यो
र ढिलो होला र केही अनजान आपत आइपर्ला भनेर उसलाई झक झक्याउनु पनी
पर्थ्यो र त्यों छोटो लभ स्टोरी को बाध्यताबस त्यहीँ अन्त्य गराउनु पर्थ्यो !
धुन्चेको.तेर्सो कटेपछि उकालो लाग्यौं र त्यों उकालो करीब दिन
भरिकै रहेछ , चिसो हावापानी भएपनि उकालो ले स्वाँ स्वाँ र शरीर को
तापक्रम बढाई दिएको थियो , बाटामा हिजोको जात्रा भरेर फर्किने हरु अझै
पनी उनिहरुको अनुहारमा त्यही रौस झल्किन्थ्यो , झुंड झुंड मा अझै पनी
उनिहरु गाउँदै नाच्दै रँगीबिरँगी पहिरनमा तलतिर झरिरहेका भेटिन्थे !
उकालो काट्न सजिलो होस भनेर बेलाबेला मा जोक गर्दै , गफ हाँक्दै र गीत
सुन्दै अनि जित को गनगन सुन्दै गयौं किनकी उ लड़दै पिच्छे यो सब जाङ्बु
को प्लान हो भन्दै मुर्मुरिन्थ्यो , जसोतसो देउराली सम्म पुगियो , त्यहाँ
अझै पनी २,३ वटा अस्थाई पसल हरु रहेछ , केही खाएर एकैछिन थकाई मार्न
सल्लाह अनुसार दीदी ? तातो पिरो के छ खानलाई भनी सोधेको मात्र थिएं
पसल्नी दीदी ले " ए भाई त झाप्पानी पो रछ भनेको त ? भन्दै अली
लजाएकोपाराले देखाउँदै भनिन भुटेको अंडा..., झोल वाला पिरो
थुक्पा.....,भुटेको आलुको चाना.... , फिक्का चिया..... , के खानु हुन्छ
?? हामीले सबै कुरा एकएक गरी चाख्यौं र अलिक स्फूर्ति जम्मा गरी फेरी
उकालो लाग्यौं
!!!
पानी नपरेपनी हाम्रोलागी त्यों खराब मौसम नै थियो किनकी क्षण
क्षण मै वारी र पारी अनी वरीपरी का सुन्दर प्राकृतिक दृश्य हरु ले हामी
संग लुकामारी गरी राख्थ्यो र फोटो खिचौं भन्योकी त कुहिरो ले त्यों
दृश्य छोप्न थाली हाल्थ्यो अनी लाग्थ्यो त्यहाँ देखि बोकेर दूरबीन र
क्यामरा बेकारमा ल्याएछ तै पनि जे भेटिन्छ देखिन्छ र जति देखिन्छ
त्यसैमा चित्त बुझाउँदै चन्दन्बारि पुगियो ! चन्दन्बारि मा २,३ वटा लज
हरु बाहेक एउटा प्रख्यात चीज फ्याक्ट्री पनि रहेछ , पुग्ने बित्तिक्कै
झिटि गुन्टा हरु फालेर १० मिनेट जत्ती त जिउ फालेरै बस्यौं अनी बल्ल
दाँत माँझ्न भनेर धारा तिर झरियो , सब भन्दा अगाडी हाम्फाल्दै जानेमा
उही जित नै थियो काँधमा रुमाल बोकेर ! तर अचानकै उ तिल्मिलाएर झर्किन
थाल्यो , के हो यस्तो ? पानी पनि छुरा जस्तो यार ? उ दाँतै नमाझी छिटो
छिटो लज तिर उक्लियो ! हामीलाई थाहा छ की चन्दन्बारि सम्म आई पुग्दा उ
कति चिडचिडे भै सकेको छ त्यसैले उसले नसुन्ने , नदेखने बेलामा पेट मिची
मिची हाँस्यौँ ! पछि पानी तताएर मात्र दाँत माझ्यो उसले ! तातोपिरो
खाजा खाए पछि त्यहाँ को प्रख्यात चीज फ्याक्ट्री पनि हेर्यों र १/२
किलो चीज पनि किनेर बोक्यों , त्यहाँ को जंगल हुँदै चिसो र ओसिलो हावा मा
स्वाँ स्वाँ सास फेर्दा लाग्थ्यो की काठ्मान्डु को वर्षौँ देखिको
विकारयुक्त वायु मेरो फोक्सोको ससाना छिद्र छिद्र हुँदै वर्षौँ पछि
साट्टिँदै छ ! यस्तै अनुमान र अनुभव हरु गर्दै लौरिबिनायक पुगियो ,
एकैछिनको विश्राम पछि फेरी उकालो लागियो , मौसम उस्तै थियो तर अब भने यो
भेगमा ठूला अग्ला रुखहरू नभएर ससाना पोथ्रा र झ्यांग हरु मात्र भेटिन
थाल्यो , कुहिरो को लुकामारी बिच यस् ठाउँ मा भने अलग्गै आनंद अनुभव भयो
अझ दिन उघ्रिएको भएत कस्तो दृश्य देखिन्थ्यो होला भन्ने दुखीत् कल्पना मा
रमाउँदै , सुन्पाती को बोट नियाल्दै हिँडियो , सुनसान त्यों ठाउँ मा हामी
३ जना को कुराकानी , पदचाप , स्वाँ स्वाँ सास र बजी रहेको गीत बाहेक अरु
केहि छैन कोही छैन जस्तो भान पर्थ्यो भने पहिलेनै सुनेका साधारण गीतहरु
ले पनि कुनै गहिरो अर्थ पोखिरहेको लाग्थ्यो वा भनौं दिल छोई रहेको जस्तो
हुन्थ्यो ! टेप प्लेयर पनि स्पीकर जडित भएकोले हामी तिनैले गीतको मज्जा
एकै साथ लिन सजिलो भएको थियो ! यो स्थान बाट पक्का लेक सुरु भएकोले जित
लाइ अझ थप ध्यान दिँदै गइयो तर इमान्दारिताका साथ भन्ने हो भने उसलाई पटक
पटक बच्चा लाइ जस्तै हेर्नु पर्ने र सानो सानो समस्या पर्दा पनि बोलाई
हाल्ने भएर एक किसिमले यो यात्रा मा म त् उसको गाइड जस्तोपो बनी सकेछु
जून कुरा मलाई मन परेको थिएन , तैपनी उसको भाऊ भने झनै आकास्सिएको थियो
र बेलाबेलामा भन्थ्यो " "यो गोसाइकुण्ड भन्ने ठाउँ मा त् अर्को पटक
२५००० हजार पैसा दिएर बोकेरै ल्याउने भएपनि म आउँदिन "" , "" मेरो
शत्रु लाइ पनि यहाँ जाऊ भन्दिन "" !!
लौरीविनायक को उकालो चौतारा भन्ने स्थान मा पुगे पछि बल्ल
टुङ्गिने रहेछ र यसपछि भने यात्रा गंतव्य पुग्न पुग्न लागेको भान हुन्छ
! अली अली उकालो , ओरालो र तेर्सो हिंड्दै अनि चन्दन्बारि को याक चीज
चपाउँदै विस्तारै हिँडियो ! ठूला ठूला अग्ला पहरा र नाङ्गा डाँडा खोंच
अनि सुनसान बातावरण , छिनमै छोप्न आउने कुहिरो र तलतिर देखिएको पहिलो
कालो कुण्ड ( ताल ) ले त्यों स्थान नै रहस्यमय स्थान होकी जस्तो भान
हुन्थ्यो भने कहिले यदि गहिरो चिंतन ले भगवान लाई पुकारेमा साँच्ची कै
भगवान प्रकट हुन्छ की यो ठाउँ मा जस्तो लाग्थ्यो ? हामी तिनै जना अली
फरक फरक को दुरी मा आ -आफ्नै पाराले नबोलीकन हिंडी रह्यौं , शायद
प्रकृतिले एकाएक सम्मोहित गरि ध्यानमा पो डुबाइ दिएको हो की ? निकै बेर
सम्म म साथिहरु संग नबोली पछि नै बसी रहेँ , एक प्रकारको अलौकिक आनंद ले
मन अत्ताली रहेको थियो भने काठ्माडौँ को भागदौड़ , दिनचर्या र मानवीय
दुक्ख: हरु एउटा नराम्रो सपना मात्र थियोकी ? भन्ने भ्रम पर्थ्यो र सम्झन
खोज्दा पनि ध्यान एककृत हुँदैनथ्यो ! साँझ तीर बल्ल हामी गोसाइकुण्ड
पुग्यौं , शरीर थाकेपनि मन भने झन ताजा भएको थियो ! त्यस सुन्दर ताल छेउ
मानव निर्मित कुनै वस्तुहरु नभैदिएको भए त्यों ठाउँ अझ कती सुन्दर
देखिन्थ्यो ? कल्पनामा डुब्दै ताल छेउ को लजमा पस्यौँ , घाँटिमा निक्कै
ठुलो रातो स्विस नाइफ झुन्ड्याएका लजवाला साहू संग कुराकानी सकेर ड्ङग्रँग
जिउ फालेर निकैबेर विश्राम गरियो र चिया पिउँदै हाम्रो आ-आफ्नो अनुभवहरु
बाँड्न थालियों , लजवाला साहू भने घाँटिमा त्यही ठुलो स्विस नाइफ र चाबी
को झुप्पो हल्लाउँदै यता उती गरी रहन्थ्यो , १५, २० थरिका बिभिन्न औजार
जडित त्यों स्वीस छुरी मानौं उस्को परिचय संग जोडिएको कुनै तक्मा नै हो !
साँझ संगसंगै जाडो पनि छिप्पिँदै गएकोले र थकाई पनि मेटिने अनि
गंतव्य मा पुगेको खुशियालिमा भनेर लोकल कोदोको रक्सी तताएर पिइयो तर
चिसोले हो वा शुद्द रक्सी नपरेर हो ३ ग्लास पछि मात्र झम झम , रम रम भयो
भने जित र छिरिंग लाइ त झन छोएकै थिएन त्यसैले उनिहरु " जाम पे जाम "
भने जस्तै थप्दै थिए , गफ ले रंग लिई रहेको थियो तर बिस्तारै जित ले उ
सन्चो नभएको कुरा गर्न थाल्यो , उसलाई लेक लाग्ने व्यथा ले अलिअली
च्यापेको रहेछ , उसलाई आराम गर्न सुतायौं तर घरी घरी भर्रर्रर्रर
भर्रर्रर्रर गर्दै काम्न थाले पछि त
हामी अत्तालियौ तर लजवाला साहूजी ले उसको हेरबिचार र स्थानीय तरिकाले
उपचार मा निक्कै
सहयोग गरेर मात्र नत्ररातको समय कहाँ लाने ? के औषधी गर्ने ? धन्न
...उसलाई त्यों भन्दा बढ़ता
च्यापेन !
त्यों यात्रा को तेस्रो दिन पनि मौसम राम्रो थिएन अझ बिग्रिएर सिमसिम
पानिपो परि रहेको रहेछ हामीहरु उठदा , त्यस्तो मौसममा के हेर्ने ? के
घुम्ने ? के यसैको लागी हामी आएका थियौं ? हामी निराश थियौँ , १ घंटा
जति त ओछ्यान मै चिया थपी थपी पिउँदै बस्यौं , जित ले फेरी गीत बजाउन
थाल्यो " पापा कहते है बढा नाम करेगा !!!!...दुनिया में .....करेगा
!!!.!!!!..... त्यो निरश मौसममा त्यस गीतको कुनै रश थिएन , हामी ताल
हेर्न निस्कियों र सकिने रहेछ भने एक पटक नुहाएर धर्म कमाऊं भनेर यसो
पानि छोएका थियौं कसैले नुहाउने आँट गरेन खाली हातमुख मात्र धोएर शिवजी
लाइ पुकारयों ! बल्ल बल्ल तालको एक फन्को लगाइयो तर ताल वारिपरीको डाँडा
हरु तीर उक्लिएनौं किनकी त्यहाँ बाट देख्न सकिने सबै मनमोहक दृश्य हरु
बादल र कुहिरोको गर्भ भित्र भास्सिएको थियो ! लजमा फर्केर सल्लाह गर्यौ
, हेलम्बु , सुन्दरीजल को बाटो फर्किने योजना रद्द भयो र खाना खाएर तिनै
जना धुन्चे तिरनै फर्कियों , कुनै खेलमा हारेका खेलाडिहरू को जस्तै
अनुभव गर्दै ! चन्दन्बारि आई पुग्दासम्म हाम्रो नैराश्यता निकै कम
भैसकेको थियो , चिया पानी पिउँदै आराम गरियो , माथी तीर जान लागेकी २ जना
होल्यान्ड का ठिटी हरु संग कुराकानी भयो , हाम्रो वाकम्यान बाट त्यस
अनकन्टार ठाउँ मा बब्मार्ली को गीत सुन्न पाउँदा आनंदले मस्त
देखिन्थिन ति ठिटी हरु ! हामी ले टोइलेट पेपर प्रयोग गरेको देखेर
तिनीहरूले हामीहरु लाइ सम्झाए की पर्यटक हरुले जथाभावी फालेका सेता सेता
कागज़ हरुले सुन्दर प्रकृति लाइ कत्ति नराम्रो देखाउँछ र त्यों कागज़
उत्पादन गर्न कति बन जंगल मासिन्छ ! प्रकृति संरक्षण प्रति ति ठिटीहरु
को लगाव देखेर हामी नतमस्तक थियौं , किन भने हामीले जे जती पढेका थियौं
जानेका थियौं त्यसलाई व्य्वहारमा उतार्न विर्सने लङ्गडो नेपाली शिक्षा
प्रणाली का उत्पादन ( बेकारी कर्णधार ? ) हरु थियौं हामी !
तिनिहरू सित को अविस्मरणीय छोटो संगत पछि फेरी लाग्यौ ओरालो ....!!!
सिमसिम पानी उस्तैगरी परि रहेथ्यो मानौँ आकाश आज आफैं शोक मग्न छ र
हामी लाइ पनि जबरजस्ती उ संग सहभागी बनाई रहेछ , हामी सबै ले प्लास्टिक
को धोक्रो लाइ रेन कोट बनाएर ओढेका थियौं , चन्दन्बारि भन्दा अली तल बाट
त अझ छिन छिन मा छ्यार्रर्रर्रर !!!!! छ्यार्रर्रर्रर !!!! गर्दै पानी
पर्न थाल्यो , गीत हरु बजी रहेका थिए एक सुरमा सुनेपनी नसुने पनि , म भने
अब पानि प्लास्टिक मा झर्दा आउने छररर छररर धुन मै रमाउन थालेँ किनकी यस्
किसिमको धुन किन हो किन मलाई असाध्यै मन पर्थ्यो अनि जसले मेरो गाउँ को
मेरो बाल्य काल का याद हरु पनि झल्काउँथ्यो ! झरिमा रंगीन प्लास्टिकका
ओढ़ने ओंढेर स्कुल जाँदा वा वन- जंगल जाँदा वा त्यस भित्र बाट रंगीन
दुनिया हेर्दा को रमाइलो हरु सम्झँदै एक्नासले ओरालो झरियो !
२ वटा लठ्ठी टेक्दै जित पनि धेरै गन्गन नगरी आई रहेथ्यो र चिप्लेर
लड्ने पनि धेरै कम भएको थियो तै पनि अब कहिल्यै पनि गोसाइकुण्ड आउँदिन
भन्न चाहिं छाडेको थिएन ! प्लास्टिक को धार समात्त्दा समात्त्दा मेरा
दुबै हात हरु कठ्याङ्ग्रि सकेका थिए बाहुला आधी सम्म भीजी सकेको थियो
भने खुट्टा हरु थर्थराउन लागेको भान हुन्थ्यो , जसो तसो बेलैमा धुन्चे
आइपुगियो , त्यों बेला त्यहाँ सम्म आई पुग्नु पनि ख़ुशी कै कुरा थियो
किनकी हामीहरु थकाइ , भोक र भिजाई ले लखतरान थियौं ! हामी भन्दा जित
धेरै ख़ुशी थियो त्यसैले उसले बेलुका ड्रिंक्स र लोकल सुकुटी को खर्च
तिर्ने भयो , लजवाला साहू भन्छ "" जाडोमा त ब्राण्डि पो पिउनु पर्छ
भाईहो "" लौ नत भनेर अली अली सुरु गरियो शायद अली खाली पेट नै परेर हो
वा कुन्नी के भएर हो निक्कै चक्कर लगाईं दियो त्यसैले गएँ सुत्न !
छिरिंग र जित पछि सम्म पनि बोलाउँदै थियो तल बाट मलाई , भोली बिहान पो
सुनियोकी कि मैले त खाना नै नखाई सुतेछु , छिरिंग को छोटो लभ पनि परी
सकेछ अनि जित ले रात भर गजल गाएछ ( वाकवाक गरेछ ) !
काठमांन्डु आई पुगेको एक दुई हप्ता सम्म पनि गोसाइकुण्ड यात्राको
अलौकिक शांति ले मन हलुका नै भै रहेको थियो भने मुख बाट घरी घरी त्यहाँ
बजेका गीत हरु अनायसै गुनगुनाइन्थ्यो , हामी २ जना ले त्यों गीत को
क्यासेट पनि किन्यौँ ! आजकल पनि कतै पहाड़ तीर धुम्म मौसम र सिमसिम पानी
परयो भने वा ति गीतहरु कतै बज्दा नेपाली टूरिस्टहरु को त्यों
गोसाइकुण्ड यात्रा सम्झना मा आई हाल्छ !!!