19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दौंतरी

कविता टेकब कोइराला April 29, 2009, 4:12 am

बुटो–बुटोमा चाहार्दै

कट्मेरो बेलौती टोकेर

आधा तिमी खान्थ्यौ

आधा म खान्थें

ब्याङ्ग–ब्याङ्गभित्र लुक्दै

ऐंसेलुको मसिना टोपी टिपेर

कसको सोली ठूलो

प्रतिस्पर्धामा तिमी जित्ने गर्थ्यौ

म हारिदिने गर्थे

हाँगा–हाँगामा लम्कँदै

काफलगेडीहरु बटुलेर

पोल्टा–पोल्टामा भर्थ्यौं

कसको बढी मीठो

मेरो काफल तिमी टोक्थ्यौ

तिम्रो काफल म टोक्थें

कठैबरी आज

तिमी गयौ नौ डाडापारि

म गएँ नौ खोला तरी

बालबयका ती सम्झनाहरु

सपनाभरि सलबल सलबल

आँखा वरिपरि झुल्किँदै बिलाउँदै

चाहेर पनि बिर्सन नसकिने

बर्सेर पनि बिर्सन नसकिने

यो कस्तो दौंतरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।