18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तीन बाँदर

लघुकथा कृष्ण बजगाईं May 15, 2009, 3:58 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

कुनै जमानामा एक साधु थिए । उनका तीनवटा बाँदर थिए । ती बडो अनुकरण गर्न लायकका थिए । एउटाले मुख छोपेको, अर्कोले कान थुनेको र तेस्रोले आँखा छोपेको थियो । त्यसका सांकेतिक अर्थ हुन्थ्यो नराम्रा र नचाहिँदा कुरा नबोल्नु, नराम्रा कुरा नसुन्नु र नराम्रा कुरा नहेर्नु ।

धेरै पछि अशान्तपुर नामक राज्यमा साधुको उक्त तीन बाँदरको स्मरण भयो । उक्त बाँदर ल्याएर राखेमा राज्यमा शान्ति तथा विकाश हुने कुरामा सबै राजी भए । फेरी बाँदर कहाँ पाउनु बाँदरहरु त मानवमा परिणत भै सकेका थिए ।

त्यसपछि बाँदरका सन्नतीहरु मध्येबाट चल्तापुर्जा र हैहैकम देखाउन सक्ने चलाख बाँदरलाई छनौट गरिने भयो । तिनीहरुलाई नै राज्य संचालन गर्ने जिम्मा दिने निर्णय भयो ।

ती आधुनिक जमानाका बाँदर थिए । विभिन्न समूह र क्षेत्रबाट ल्याईएकोले साधुका बाँदर जस्तै नाङ्गै राख्न मिल्दैनथ्यो । उनीहरुलाई नै आफूखुशी पोशाक छनौट गर्न दिईयो । एउटा बाँदरले त्यही राज्यको राष्ट्रिय पोशाक रोज्यो । अर्को बाँदरले छिमेकी राज्यको राष्ट्रिय पोशाक छान्यो । तेस्रो बाँदरले सात समुन्द्रपारीको राज्यको राष्ट्रिय पोशाक लगायो ।

ति बाँदरहरुले साधुका बाँदर झै क्रमशः मुख आँखा र कान छोपी सत्ता चलाउलान भनेको त खाली पुछारमा हात लगाएर बस्नथाले ।

ब्रसेल्स, बेल्जियम

साभार: अभिव्यक्ति फागुन-चैत २०६५

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।