18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ईश्वरका कथाहरु ६

लघुकथा डा. रविन्द्र समिर May 16, 2009, 1:19 pm

ईश्वर आत्मालाई परमात्मामा लीन गराउन अधोमुद्रायुक्त ध्यानमा बसेका थिए । तल आकाशमा उडिरहेको हवाईजहाज देखेर ईश्वरलाई आश्चर्य लाग्यो । पृथ्वीतलमा आफ्नो प्रभाव देखाउन "पुष्पक विमान"को काल्पनिक भ्रम फैलाएका ईश्वरलाई कतै पृथ्वीबासीहरुले विमान त बनाएनन् भन्ने आशङ्का लाग्यो । त्यसपछि ईश्वर जासुसी गर्न सुटुक्क पृथ्वीतलमा ओर्लिए ।

विमानस्थलमा हवाईजहाजहरुको आवतजावत देखेर ईश्वरलाई सपनाजस्तो लाग्यो । विमान चढेपछि कति दिनमा स्वर्गलोक पुगिन्छ होला भनेर ईश्वरले अनुमान लगाउन थाले र सरासर काउण्टरमा गई उड्न लागेको हवाइजहाजको टिकट लिए ।

हवाईजहाजमा स्वर्गका अप्सराभन्दा सुन्दरी "एयर होस्टेज"हरु देखेर ईश्वरको डेग डग्मगाउन थाल्यो । यी सर्वाङ्ग-सुन्दरी षोडसीहरुलाई स्वर्गलोक लैजान पाए त भनेर ईश्वरले कल्पनामात्र के गरेका थिए प्रतिकूल मौसमको कारण हवाईजहाज घोप्टे भीरमा ड्याङ्ग ठोकियो । तत्कालै सम्पूर्ण यात्रीहरुसहित ईश्वर स्वर्ग पुगे ।

ईश्वरलाई अभूतपूर्व आश्चर्य लाग्यो - पृथ्वीबासीको विमान कति शिघ्रगामी रहेछ चढ्दाचढ्दै स्वर्ग पुर् याउने ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।