अघिल्लो बिहान ऊसँग फोनमा कुरा भएको थियो । उसले सोधेको थियो'भोलि के छ '
'केही छैन किन '
'तँलाई फुस्रद छ कि भनेर…'
'छ किन? '
'काम छ…'
'के काम '
'छ त्यस्तै…' उसले भनेको थियो । र मैले सोधेको थिएँ 'ह्विस्कीपानी पिउनलाई त होला नि… !'
'अरु नै धेरै कुरा छन्…' रहस्यमै राख्दै उसले भनेको थियो । अहिले तिनै कुराहरुमध्ये पहिलो कुरो उसले मलाई भन्यो 'अब म विजनेसमा समय दिन्न…'
'किन? '
'जसको प्रेरणाले म काम गर्थेँ अब त्यै छैन… त्यो नभएपछि मैले अब कल्लाई देखाउन काम गर्नु… '
'आफ्नू व्यापारको यत्ति ठूलो नेटवर्कबाट तँ कसरी निस्कन सक्छस्… '
'छोरो छ छोरोले हेर्छ सब म चुप लाग्छु'
'चुप लागेर कसरी बस्न सकिन्छ… '
'…तर सकि्रय हुन पनि म सकिरहेको छैन जुन बेला पनि उसैको सझनाले घोचिरहन्छ मलाई यो पिउँदा त झन् म उदास हुन्छु' यसरी भन्दाभन्दै उसका आँखाका कोस रसाए ।
म पनि भावुक भएँ । लगभग मेरा पनि आँखा उसका जस्तै रसाउन खोजे ।
उसले आँखा पुछ्दै ह्विस्की निल्यो । र आँशु नियन्त्रण गर्न खोज्दै भन्यो 'वास्तवमा अब म उसको प्रेमको स्मृतिमा बाँच्न चाहन्छु…'
'ठीक छ…' मैले भनेँ ।
'त्यसकारण अब म अर्को बिहेको सोचमा छैन…'
'राम्रो सोचिस्…'
'…तर म उसलाई बिसू्रँ कसरी… ' भन्दै ऊ फेरि आँशु झार्न कस्सियो ।
यस्तो स्थितिमा कसैलाई सझाउने कसरी म आफ्नो बुद्धि खोतल्दैछु । उसका आँखा डबडबाउँदै छन् ।
जे भए पनि भन्नै पर्ने स्थिति आएपछि मैले भनेँ 'हेर भाइ मन कस्नुपर्छ…'
'…तर कस्ने कसरी …चारैतिर उसकै सझना छन्…'
'सङ्घीत सुन् किताबहरु पढ् घुम्न जा टाढा'
'मेरो सोचाइ पनि त्यस्तै छ… वास्तवमा अब म पुस्तकहरुमा हराउने विचारमा छु…सिर्जनाहरु पढ्छु…दर्शनहरु पढ्छु…धेरै वर्ष भैसकेको छ म पुस्तकहरुतिर नफर्किएको…'
'एकदम ठीक…'
'वास्तवमा ऊँसग बिहे भएपछि र व्यापार थालेपछि मैले पुस्तक छोएको छैन…तर अब म फेरि शुरु गर्छु…वास्तवमा अब मलाई पैसा कमाउने रहर छैन जे जत्ति कमाउनुपर्ने हो कमाइसकेँ… जसलाई देखाउनुपर्ने हो अब त्यै नभएपछि…शाल्मली भएकी भए व्यापारमा मेरो उत्साह नै अर्कै हुनेथियो…'
ऊ ह्विस्की निल्न रोक्कियो । न्यापकिन थुतेर आँखाको पानी पुछ्यो । र एक सिप ह्विस्की घुट्क्यायो ।
शाल्मलीसँग उसको वैवाहिक जीवन अठ्ठाइस वर्ष चल्यो । यो अवधिभरिको कुरो सझँदै ऊ भन्छ 'बाँचुन्जेल उसले मलाई कहिल्यै अँध्यारो मुख देखाइन… त्यसकारण अब म उसको त्यही उज्यालो अनुहार सझेर बाँच्न चाहन्छु…'
'ठीक हो भाइ…'
'त्यसकारण अब म आफ्ना दिनहरु पुस्तकहरुभित्र पसेर बिताउन चाहन्छु…'
'ठीक छ…'
'वास्तवमा किताबहरु नछोएको दशकौँ भैसक्यो… कलेजपछि नोट समाउन थालियो… शाल्मलीसँग बिहे भयो अनि…' यसरी उसले लामो कुरा गर् यो । मैले बीचबीचमा भाका हालिरहेँ।
'ठीक छ…'
'ठीक छ…'
'ठीक छ…'
'त्यसकारण अब म पुस्तकको सहारा लिन्छु'
'ठीक छ…'
'…तर यता निस्किएका पुस्तकहरुको बारेमा मलाई राम्रो ज्ञान छैन…मैले धेरै मिस गरिसकेको छु…यसको लागि मलाई तैँले सघाउनुपर्छ…'
'हुन्छ…'
'शेक्सपियर अब म पढ्दिन…किट्स पनि पढ्दिन…'
'हुन्छ…'
'बरु फ्रेन्च कवि बोद्लियर पाउल भेलेरी स्पानिस कवि लोर्का पढ्छु ग्रीक कवि सिपि कवाफे यालिस रितसोस् पढ्छु…'
'हुन्छ…'
'बि्रटिस कवि चाल्स्र कजले पढ्छु टेड स्यूज पढ्छु सिल्भिया प्लाथ पढ्छु…अमेरिकन कवि वालेस स्टिभेन्सन् मेरलिन मुर रोवर्ट लोवल पढ्छु…'
'हुन्छ…'
'यता कत्ति नयाँ किताब निस्केका राम्रा छन् ती सब पढ्छु…नेपालीमा पनि भूपि शशि दौलत विजय मल्ल गोठाले पोषण पाण्डेपछि कोही पढेको छैन…त्यसकारण तीदेखि यताका सबै लेखक पढ्छु…तँसँग भएका केही मलाई दे नभए किन्छु…डेढ दुई लाखकै किताब किन्छु…'
'हुन्छ…'
'रसियन विसङ्घतिवादी लेखक डानियल खारमसको कथा र नाटक पढ्न मन छ बजारमा पाइन्छ कि पाइन्न त्यो पनि बुझ…'
'हुन्छ…'
'वास्तवमा किताबहरु किन्न तँ र म भोलि पसलहरु चहारौँ…'
'हुन्छ…' मैले भनेँ ।
अहिले कोठामा हठात् एक महिला प्रकट भइन् । र आफ्नो हातको सलादको प्लेट हामी बीच आदरसाथ बिसाएर फर्किन् । म उनी आएको र फर्किएको आश्चर्यले हेरिरहेको थिएँ । मेरो यो हेराइ बुझेर उसले भन्यो 'उनी घरमा काम गर्न राखेको नयाँ हुन्…'
'ए…'
'वास्तवमा घरमा काम गर्ने एउटा केटो छँदैथियो…काम गर्ने अर्को अतिरिक्त नोकर चाहिँदैन थियो नै…तर घरमा काम गर्ने आइमाई पनि चाहिन्छ भनेर मामाले आफ्नो ससुरालीतिरको नाता पर्ने उनलाई ल्याइदिनु भयो…त्यसकारण उनलाई भात पकाउन राखेको हुँ…'
'ए…'
'वास्तवमा उनी दुःखी परिवारको रेछिन्… अहिलेसम्म बिहे पनि भएको रहेनछ…'
'ए… '
'तर तँलाई के लुकाउनु… अस्ति शाल्मली भन्ठानेर यिनलाई अँगालो हालेछु…तर अचम्म । यिनी पनि चुपचाप मुस्काइरहिन् शाल्मली जस्तै…' भनेर उसले सुन्तलाको केस्रो टिप्यो । म त्यही केस्रोतिर अपलक टोलाएँ ।
हिमालबाट