19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खोला

कविता युयुत्सु आर. डी. शर्मा May 22, 2009, 6:58 am

तिम्रो सङ्गमर्मरी काँध

र, मेरो चौडा छातीको बीचमा

गर्जिरहेछ एउटा खोला

आँसु, आँसु, आँसु ।

तिम्रो गुलियो मुख

र, मेरो सुगन्धित जिब्रोको बीचमा

एउटा फिलिङ्गाहरुको रात

टल्काइरहेको तयो न्यानो नरम त्वचा

त्वचा, त्वचा, त्वचा ।

तिम्रो मांसल जीउ

र मेरा कामिरहेका हातहरुको बीचमा छन्

बादलहरु मात्तिएका लालीगुराँसे वनको सुगन्धले

सुगन्धले, सुगन्धले, सुगन्धले ।

तिम्रो बदामी आँखा र मेरो तातो मुखको बीचमा

खसेका छन् पानीका थोपाहरु मोतीझैं

जंगलका बाक्ला हरिया पातहरुमािथ

पातहरु, पातहरु, पातहरु ।

तिम्रो चम्किरहेको सेतो छाला

र मेरो कालो कपालको बीचमा

सुगाभन्दा हरिया पातहरु

पहेँलिएका छन् अनवरत वर्षाले

वर्षाले वर्षाले वर्षाले ।

तिम्रो जँड्याहा लोग्नेको नपुंसक सिरानीसँगै

बिताएका तिम्रा रातहरु

र मेरो बहुलाएको टाउकोको बीच

उम्रीरहेछ एउटा सानो कविता - वसन्तको

जसले मेरो गहिरो घाउ भर्नेछ

र, उमार्ने छ

फूलहरु, फूलहरु, फूलहरु ।

तिम्रा नीला पारिजात फूलका आँखा

र मेरो कामिरहेको कलमको बीचमा

एक्लिएको एउटा वनचरोको एकल चित्कार

पागल, पागल, पागल ।

तिम्रो मोतीजस्तै सेतो दाँत

र, मेरो निद्राको बीच

दौडदै आउँदै छ बर्खे पानी

कुनै भोको नदीको रोदनझैं

ताराहरु नभएको बिरानो आकाश

र, ग्रीष्म रातको उराठलाग्दो

अन्धकारमा, अन्धकारमा, अन्धकारमा ।

तिम्रो ठूलो छाती

र, मेरा नरम ओठको तिर्खाको बीचमा

क्रुद्ध खोलाको आक्रोश

ठोकिरहेको आफ्नो टाउको जादुजस्ता

पहाडहरुमा, पहाडहरुमा, पहाडहरुमा ।

तिम्रा निर्णयहरु र

मेरो निभ्न लागेको टुकिको बीचमा

खोला बौलाएको

तँ; तँ कवि; तँ मूर्ख

नपुंसक, जा जा गइहाल्-निस्किहाल् ।

(प्रकाशोन्मुख कविता संग्रह "पानाहरु खाली छन्" बाट ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।