मेरो मन दुखेको रात
तिमीलाई फेरी सम्झिन पुगेंछु
मेरो आँसु संग संगै
तिम्रो बेदना पनि मिसिएर बगेको देखें
तिम्रो स्पर्शहरू, रहर र इच्छाहरू
एकै चोटी मेरो आँखामा आएर बर्सिए
सांच्चै म बेस्सरी रोएंछु त्यों रात
मन नै दुखे पछि के लाग्दो रहेछ र ?
समय त्यति धेरै क्रूर भएपछि
बिश्वासको खम्बाहरु आफ़ै चर्किंदा रहेछन्
र त्यसै त्यसै भांचिएर ढल्दो रहेछ
बर्षौं देखि मन भित्र गांजिएर बसेको
अगाध स्नेहको धरोहरा पनि
एक्कासि गर्ल्याम्म ढल्दो रहेछ
साँच्चै भन्दा, तिम्रो आंखाको अतृप्त प्यास
निभाउन नसक्नु मेरो कुनै दोष थिएन
तिम्रो बिछिप्तिएको मनहरु नियन्त्रणमा राख्न
मेरो स्वाभीमानले मानेन
तिम्रो अनगिन्ति रहरहरु पुरा गर्न सक्नु
मेरो बिबेकले दिएन
त्यसपछि जे नहुनु पर्ने
आखिर त्यहि भयो
काँचको भाँडो जस्तै
टुक्रा टुक्रा भयो हाम्रो मन
जोड्नै नसकिने गरि टुक्रियो
तैपनि नदुख्नु पर्ने, म घरि घरि दुखिरहन्छु
यौटा संवेदनाले भरिएपछी
जब कोहि कोहि मान्छेका मनहरु सम्बेदनशील हुन्छन्
अनयाश त्यसै त्यसै
पग्लिईरहदों रहेछ
र जल्दै गरेको मैंनबत्ति जस्तै
एकोहोरो जलिरहंदो रहेछ
आजको रात जस्तै जस्तै,
तिनै फलामका जस्तै मन भएका मान्छेहरुले
घरि घरि दुखाईरहंदारहेछन
आफैंलाई एकोहोरो जल्दै गरेको
मैंनबत्ति जस्तै जलाउंदै
जीवनभर घाइते मन लिएर बाँच्नु पर्दोरहेछ ।
नुवाकोट, हाल बेल्जियम