19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमी भगवान

कथा सुमन बगाले June 4, 2009, 5:26 am

मान्छे जुन दिन प्यारो हुन्छ , त्यो दिन उ मरीसकेको हुन्छ। वाँचुन्जेल कसरी वाच्यो कुनै वास्था हुदैन। जब उसको लाश कतै वेवारीसे देखेँ वा कुनै मुर्दा बोक्ने घारोमा लम्पसारीदा मात्र मान्छेको मुखबाट कठ्यै मान्छे मरेछ हेर त विचरा। त्यो क्षणमात्र हो उ जसको नजरमा परेको छ त्यहि केहि क्षण बिचरा हुन्छ। जब म सात वर्षको थिएँ मेरी आमाले यो सँसार छोडीन। म साथमा नै थिए तर काहाबाट आएछन तिम्रा दुतहरु थाहै भएन बाबु पानी पानी भनेकी थिइन म त आफनै सुरमा भोक मेटाउन हो या प्यास मेटाउन आजभोली यसै पदार्थमा मन लोभिएको छ। भिमसेन थानमा चढाएको नेवारी कोदोको पानी ल्याएर दिदैथिएँ एकछिनपछि त हल न चल पशुपति छेउको पिपलको मुडो लडेको झै डङरङग ढलिन। त्यो दिन सँगै बसेँ , उठ्छिन कि भनेर तर उठने त काहा हो काहा छन मलाइ नै गन्ध दिन थालिन मैले गुन्डा पारेर राखीदिए। सबै हेर्थे विचरा भनि मन अमिलो पार्थे। तर नजिकै आएर सोध्ने कोही भएनन्। त्यसैले त भगवान मलाइ यो विचरा

भन्ने शब्द नै मन पर्दैन। मेरी आमालाइ यो गति मा पुराउने पनि थिए होलान् विचरा भन्नेहरुमा। रातभरी कयौ नारीहरुलाइ नग्न नचाएर मस्ती नारीको अस्तित्वमा झुमी विहान भगवानको नाउमा पशुपति धाउनेपनि धेरै देखेको छु मैले। शशीरमा जवानीको रसहुदासम्म नानाभाती गरे। के मेरी आमाले कसैको यौनप्यास मेटाउदा गल्ती गरेकी थिइन त? मान्छेले आफनो स्वार्थको लागी जिउदै मान्छेलाइ बेच्दा चाही धर्मको हत्या नहुने मेरी आमाले कसैको अथाह प्यास मेटाउदा धर्मको हत्या हुने? मेरी आमाले त धर्म गरिन जसको प्यासीपिडालाइ केहि समयको लागी भनेपनि शान्त पार्थिन। त्यहि प्यासकालागी हरेक पुरुष आफनो सारा जिवन नै वर्वात गर्न पछि हटदैनन्। मेरी आमाले आफनो अस्तित्व बेचेकी थि। कसैको विगार त गरेकी थिइन। एक्कासी मेरो मस्तिस्कमा यि कुराहरुले लडाइ गर्न थाल्थे तर विना निश्कर्ष आफैमा हारेको हुन्थेँ। भोलीपल्ट एक भक्तजन आएर तेरी आमा मरेर भगवानको घर गइसकी। यसलाइ नजिकैको पशुपतिको वागमतिमा फाल्नुपर्छ भने, बल्ल थाहा भयो मालाइ मेरी आमा मरिछे भनेर। मरेपछि त आर्यघाट लानुपर्छ भन्ने थाहा थियो किनकी दिनहु मैले मरेका मान्छे देखेको थिएँ। मैलेपनि लगी आमालाइ खरानी बनाइदिएँ। राती जाडो हुन थाल्यो, पेटमा डमरु बज्न थाल्यो बल्ल मलाइ आमाको कमी महसुस हुन थाल्यो। म पाच वर्षको हुदा देखी नै मेरी आमाको स्तिर दिनप्रति दिन खस्किदै गएको थियो। गालामा पाउडर ओठमा लालीको कमि हुदैथियो कोठापनि सामानहरु घटदैथिए। मेरी आमाको अनुहारबाट दिनदिनै खुशी विलाउदै गएका थिए। कुनै दिन आमा धन्दामा नगइ घरमा नै सुत्दा मलाइ लाग्थ्यो मेरो एक राते बाउले हिजो राती निकै धेरै दुख्ख दिएछ कि , कता कता कउकुती लाग्थ्यो। म लाचार थिएँ म केहि गर्न सक्दिन थिएँ। तर पछि ठुलो भएर आमालाइ त्यो धन्दाबाट मुक्त गर्ने भने मेरो ठुलो सपना थियो। जुन भक्तजनको आवजबाट चकनाचुर भयो। मलाइ त मर्न देखी पनि घृणा लागीसक्यो। तरपनि म मर्दैछु मलाइ यो पापी सँसारमा मर्न मन छैन भगवान। मलाइ यहा नमारी तिमी माथी नै लगेर फासी देउ, मलाइ सयौ दिन लगाएर तड्पाइ तडपाइ मार म मञ्जुर छ तर मलाइ मरिसकेपछि विचरा भन्ने शब्द सुन्नबाट दुर राखिदेउ। कि त मलाइ अजम्बरी बुटि देउ जसले गर्दा म अन्नत अन्नत जिवन जिउन सकुँ।

मलाइ यहा आरम, सुखसयल, भरपुर्ण जवानी, रङगीचङगी जिन्दगी भएर म अन्नत अन्नत सम्म जिउन पाउ भनेको होइन। तिमीलाइ अगवत नै होला मेरो हालत। तिमी त भगवान हौ नि देख्न सक्छौ नी? लाग्छ तिम्रो गलत निर्णयले नै मलाइ यो सजाय भोगीरहेको छु। तिमीलाइ थाहा छ भगवान तिम्रो दुतहरु आएर मलाइ जिस्काइरहन्छन्। अस्ती एउटाले जिस्काउदा जिस्काउदै मेरो खुट्टा पो चुड्यो, मलाइ आजभोली यि मानीसका खोल ओडेका पाखन्डीहरु लङगडो भन्छन्। गर्वमै निमोठिएको फुललाइ पनि तिमी किन यसरी लावारीस बनाएर तड्पाउछौ भगवान? मैले कहिले सम्म तिम्रो यो ऋण तिर्न लाग्ने हो मलाइ थाहा छैन। जन्मदा न बाउ चिने न आफन्त। मैले मेरी आमालाइ हजार बार सोधे होला भगवान जति मैले तिम्रो नामपनि लिएको छैन होला। म तेरो वाउ भएको ठाउमा जान्छु अनि तपनि आएपछि देखाइदिउला भन्ने गर्थिन। कि तिमी नै मेरो बाउ हो? मेरी आमा तिमी भएको ठाउमा आएकी छिन रे त त्यो भक्तजनले भनेको। मेरो आमाले मर्ने बेलामा तड्पिएर भन्दै थि बाबु त पनि आउनेछस कति समय जिउनेछस हासेर जिउनु, तेरो मृत्यु भोली पक्कै छ। म त आजसम्म मनभरी पिडा शरिर भरि दुखाइ हुदापनि हासेकै छु। अगी नै भने नि तिम्रा सन्तानले जिस्काउदा जिस्काउदै मेरो खुट्टा लगे अस्ती भर्खर पशुपतिको सिडीमा बैशाखीको साहाराले लत्रिदा गुल्टिदै म तल पुगे शशीरपनि चोटै चोट लाग्यो त्यैपनि दुखेन मलाइ। दुखाइ नै मेरो साथी भएपछि दुख देखेर नै म रोए भने दुखलेपनि छोडेर जान्छ अनी म को भनेर बाच्ने? त्यसैले मलाइ दुख्दैन नि। देख्यौ भगवान म कस्तो आज्ञाकारी पुत्र आमाले मृत्युशैयामा पुग्दा बोलेकी सबै मैले पुराइरहेको छु। म आज सम्म हासेकै छु। दिए खाइदिन्छु नदिए भोकै सुतिदिन्छु। सत्य भगवान आजसम्म जवरजस्ती गरेको छैन र गर्दिनपनि। सधै पेट भरि राखे भोकपनि रिसाए भने म कोसँग खुशी हुनसक्छु र भगवान, त्यसैले म भोकसँगपनि मिलिरहेकोछु टाढा नबनाइदेउ ल।

मेरा अरुपनि दरिद्रताका साथीहरु छन्। तिमीलाइ भन्दिन किनकी तिमीले ति साथीहरुलाइपनि मबाट टाढा बनाइदेउ भने म यो अल्पआयु जिन्दगी कसको साहारामा वाच्ने त्यसैले गोप्य ल। भगवान मेरो मृत्यु पक्कै छ मलाइ थाहा भइसक्यो मेरी आमाले आफनो जवानीको रङमा उठवस गर्दैमा म पसेछु त्यो गर्वमा। मलाइ मेरी आमाप्रति कुनै गुनासो छैन। जन्मलिन पाउनु नै ठुलो कुरो हो। मलाइ जन्मीनुमा कुनै पश्चताप छैन , तिम्रो यो सँसारपनि देख्न पाएँ। मेरी आमालेपनि त्यहि पापी पेट र मलाइ हुर्काउन कति मिहिनेत गरीन। म गर्वशायमा हुदा कति ग्राहक घटे होलान। उनीले चाहेको भए कुनै मेडीकलसँस्थामा गएर मलाइ पतन गर्नपनि सक्थिन र फेरी नया जवानी भर्न सक्थिन तर उनीलाइ पनि आमा हुने रहर जागेछ कि किन हो नाजायज भएपनि जन्म दिएर आमा बन्ने रहरमा रुमालिएर नौ नौ महिना दुख सहेर भएपनि यो सँसारमा जन्म दिइन। जुन दिन मेरो आमा आफनो जवानीको मोलतोल गरेर मेरो एकराते बाउसँग उठबस गरिन त्यो दिन नै म र मेरो आमाकोलागी अभिसाप भएछ। मेरी आमा त के के भन्दैथीइन रे केहि समयकोलागी भाडामा बेचिएकी मेरो आमाको कुरा त्यो मेरो एकराते बाउले किन सुन्र्थ्यो र व्याकुल प्यास मेटाइ भित्रै मदेशेले पान खाएपछि छोक्रा फाले झै थुकेर हिडेछ। फलस्वरुप त्यो छोक्राबाट म र छोक्राबाट निस्केका भाइरसबाट मलाइ र मेरी आमालाइ एडस भएछ। जुन मेरी आमाले म जन्मेपछि मात्र थाहा पाइछिन। यदि पहिला नै थाहा पाएकी भए सायद यो धर्तिमा मेरो जन्म हुन्थे न कि? भगवान स्मरण रहोस जव मेरी आमाको गर्वमा वास वस्न पुगेँ , त्यो थाहा भए देखी मेरी आमा कुनै एक भारतिय व्यापारीको घरमा घरधन्दाको काम जागिरे भइन। उनी सच्चा आमा बन्न चाहान्थीन् मलाइ सकुशल जन्म दिएर। तर विडम्बना ति व्यापारीलेपनि ओभरटाइम लगाउन थालेपछि र आमाको कमजोर हुदै गएको स्वास्थ स्थितीबाट मेरी आमा एक्लीइन। म आमाले जताजता डोराउदै लगिन म तेतै तेतै लागे सुन्दर कोठाबाट सुरु भएको मेरो यात्रा पशुपतिको वृद्धा आश्राम पछाडीको काल्लामुनी सम्म सँगै लिएर आज मलाइ मेरो आमा छोडेर एक्लै गइन।

साझपख आजभोली नराम्ररी ज्वारो सहित टाउको दुख्छ शशिरैभरि पिडा हुन्छ , अब लाग्छ मपनि तिमीसामु छिटटै आउदैछु। मलाइ कमजोर नसम्झ भगवान म तिमीसँग आएर तिमीलाइ बदला लिएरै छोडनेछु। यमलोकमा राज गरेर तिमीलाइ पनि यो पातालमा म जस्तै गर्वमा नै निमोठाएर जन्म दिनेछु अनि तिमीलाइ थाहा होला यो पातललोकमा यसरी जन्मिदाको पिडा कस्तो हुन्छ भनेर। कस्तो कठोर ह्दय भनेर तर्सीन्छौ होला। माफ गर भगवान जन्मदैमा कोहि पापी अर्धमी चोर कठोर ह्दय हुदैन त्यो त सबै तिमीबाट ठगिएका व्याक्तिहरु हुन जसले आफनो सानो व्याक्तिगत आधारभुत जिवाकोपार्जन गर्नकालागी गरेका सँर्घष मात्र गरेका हुन। त्यसमा मपनि एक हुँ तर म यिनीहरु भन्दा धेरै नै ठँगिए। तिमीले मलाइ गर्वको सँसार र यो पातलको सँसारमापनि उत्तिकै पिडा दियौ त्यसैले म तिमीलाइ यो बदला लिने मैले अठोट गरेँ। म जस्तै उजाडिएका धेरै छन् यहा तर म यिनिहरु लाक्षी भन्दा विल्कुल फरक छु। तिमीले दिएका दर्दले नै मेरो मन ढुङगा भन्दापनि साह्रो भइसक्यो। मपनि एक मान्छे भएर जन्मेको थिएँ नि भगवान , मेरापनि कयौ इच्छा, रहरहरु थियो। मेरो मनमापनि मानवता थियो तर तिमीले यो सबै मेरा आका73याँलाइ लताएर मलाइ यस्तो कठोर परजिवी बनाइदियौ कि जसले तिमीलाइ नै डस्न पछि पर्नेवाला छैन। मेरो के गल्ती थियो र मलाइ यत्तिको सजाय दियौ? यसको चित्त बुझदो उत्तर देउ म हजारौ जुनी पनि यस्ता पिडा सहेर बाच्न सक्छु। तर मलाइ विश्वास तिमीले दिन सक्दैनौ। किनकी नजानेर होस या लापर्वाहीले तिमीले गल्ती गरिसकेका छौ। नडराउ भगवान तिमीले यस्ता गल्ती धेरै गरिसकेका छौ तिमीलाइ यसमा कुनै पछुतो भने लाग्ने छैन। मैले आज भोली माग्न छोडीसके एक महिना नै हुन लागीसक्यो जिउ सुकेर विसौली पुगीसक्यो स्वास फेर्नपनि गाह्रो हुन्छ मेरी आमालाइ जस्तै। तर म मेरी आमा जस्तो लाचरी दुनियाको नजरमा विचरा बन्न चाहान्न धिस्रीदैछु भगवान भोली त म वागमतिको किनारमा पुगिसकेको हुनेछु। प्रतिक्षा गर अब कति नै होला र मेरा यि दिन मात्र प्रतिक्षा गर भाग्ने कोशीश नगर्नु। तिम्रो लापरवाही धेरै चल्दैन यँहा अति नै भइसक्यो। तिमीले गल्ती गरिसकेका छौ। जो कुनै होस गल्ती गरिसकेपछि सजाय पाउनु नै पर्छ र तिमीले पाउनेछौ पनि। त्यसपछि आगामी आउने सन्ततीले मैले जस्तै गर्वबाट रोएर जन्म लिने प्रथा सदा सदाका अन्त हुनेछ।

समाप्त

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।