19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजधानीका बिहान, दिन र साँझहरू

कविता चन्द्र गुरुङ June 6, 2009, 8:38 pm

बिहान सबेरै

(यहाँका सडकहरूमा

घामका कलिला पाइलाले नटेक्दै ...)

धरहराभन्दा अग्लो महँगी,

अस्पतालभन्दा रोगी सभ्यता

र 'डम्पिङसाइट'भन्दा बढी गन्हाउने

हाम्रो शासन प्रणालीको खबर बोक्दै

केही 'न्युजपेपर हकर'हरू

प्रत्येक चोक,

प्रत्येक गल्ली

र प्रत्येक सडकमा ओहोर―दोहोर गर्छन्।

यहाँ,

बिहानी हावाले

बाग―बगैंचाबाट एक पोको सुगन्ध नल्याउँदै

चोक―चोकमा अनशन बसेका फोहोरको डुङ्गुरबाट

प्रत्येक घरको प्रत्येक कोठामा

आइपुग्छ एक हुल अनावश्यक दुर्गन्ध।

प्रत्येक बिहान,

यसरी उदाउँछ राजधानीको घाम।

यहाँ दिनैभरि

सडकहरूमा दगुर्छन् भ्रष्ट नेताका भारी पजेरो,

कर्मचारीहरू ओसार्दै बूढा सरकारी गाडीहरू

र कुद्छन् कुना―कुनाबाट

चेपिँदै―चेपिँदै ... गरिब साइकलहरू।

यहाँ चोकहरूमा

उभिएका 'ट्राफिक पुलिस' देखेर

तर्सिन्छन् साना―ठूला गाडीहरू

कि, नपुग्ने भयो गन्तव्य निर्धारित समयमा।

ठाउँ―ठाउँमा,

अनुहारैभरि अश्लील 'फिल्मी पोस्टर' टाँसेर

उभिएका बाध्य पर्खालहरू भेटिन्छन्

र पार्कहरूका बेंचीमाथि प्रेमी जोडीहरू

लाज―शर्मलाई लोप्पा ख्वाउँदै

ननभेज मासाहारी प्रेममा मिक्स गरेर

खान्छन् सँगै जुग बिताउने 'ककटेल' वाचा―कसम।

साथ―साथै देखिन्छन्

बजारैभरि र व्यस्त चोकहरूमा

सस्तो चुरोटको धूवाँसित

आफ्ना रङ्गीन पीरमर्काहरू उडाउँदै गरेका भरियाहरू

र खुल्ला चउरहरूमा भेटिन्छन्

वर्गीकृत विज्ञापनले मुख छोपेर

दिउँसै निदाइरहेका बेरोजगार जीवनहरू।

प्रत्येक दिन,

यसरी हिँड्छ राजधानीको समय।

जब साँझ पर्छ

थकित सडकपेटीमाथि

हिँड्न थाल्दछन् अवैध निशाचरहरू

सापटी माँगेर लाटोकोसेरोसित आँखा।

छिप्पिँदै गरेको रातसित

गाउन थाल्छन् दोहोरी साँझहरू,

नाच्न थाल्छन् सुकुमारी डिस्कोहरू

र नाङ्गिन थाल्छन् अर्धनग्न डान्सबारहरू।

साथै,

भट्टीहरूका कुना―कुनामा

'घरकी मुर्गी दाल बराबर!' भन्दै

सल्बलाउन थाल्छन् राता―राता आँखाहरू।

यसप्रकार

केबिन रेस्टुरेन्टका होहल्लामा

र एकान्त पार्कको कुनातिर

यौवनपूर्ण मुस्कानको बल्छीमा

फस्छन् थुप्रै―थुप्रै ग्राहक रातहरू।

प्रत्येक साँझ,

यसरी अस्ताउँछ राजधानीको जीवन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।