14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

तादी किनारमा एक रात

नियात्रा दीपक सापकोटा June 7, 2009, 2:16 am

बिहान सातै बजे हिँड्ने भनिए पनि सबैको अलमलले बस नौ बजे मात्रै काठमाडौंबाट छुट्यो । पुग्नु थियो नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो मान्न काठमाडौंबाट एक हुल साहित्यकारको टोली नुवाकोटतिर हान्निएको थियो । पुष्कर लोहनी, भीष्म उप्रेती, डा. खगेन्द्र लुइँटेल, छविरमण सिलवाल, राजकुमार बानियाँ, तृष्णा कुँवर, कुमार नगरकोटी, मोदनाथ अधिकारी, युवराज नयाँघरे, सन्तोषी अधिकारी आदि गरेर करिब चार दर्जन साहित्यकारको डफ्फा हिँडेको थियो नुवाकोट ।

बराबर खोलाहरू आइरहे । खोलाको अविरल र नटुंगिने प्रवाहसँगै समयका अनगिन्ती पानाहरू त्यसै छुट्दा रहेछन् । कतै पांग्रा गुड्दै थिए, कतै भारीले थिचेर भरियाहरू कन्दै थिए । रानीवनको हावाले उनीहरूको नांगो आङ छोपिँदो रहेनछ, आँसु पिएर पेटको भोक मेटिँदो रहेनछ । जेठको याम पानी परिरहन्छ वेलावेला । भीरमा फुलेको फूलझैं भरियाको जीवन मुस्काइरहेछ । सायद, सिंहदरबारको केन्द्रमै बस्नेहरू दुरुह जीवन बाँच्छन् ।

नसा टड्कारै देखिने थाप्लाले नै आइलाग्ने आँधी र अनिष्ट छेक्ने रहेछन् भरियाहरू । तिनीहरूका लागि तातो र न्यानो जीवन एकादेशको सपना हो । कहिल्यै समात्न नसकिने सपना । मैले देखेको सजीव तस्बिर यही हो भरियाको । कति हाँस्नु, कति रुनु यो आकाशेखेतीमा !

बस हुँइकिइरह्यो । बाहिर पानी बिर्बिराइरहेछ । वनको सुसेलीमा बिलाउँछ बसको श्वास । मनमा आइरहेछन् परिश्रमीका पौरखी गीतहरू । नाम्लै जीवन, हाम्रा गाम्ले जीवनका गीतहरू सबै-सबै आइरहेछन् एकपछि अर्को गर्दै । रुग्ण जीवन बाँच्नेका सपना-विपना सबैले चिमोट्छन् मलाई । ककनीको होटलमा ब्रेकफास्टपछि सबै बसभित्र पसे । होटलवाल्नी पनि आइन् सँगै । भन्दै थिइन्-'भोलि पनि आउनुस् है, शुद्ध दूधको चिया खुवाउँला ।'

बसबाट कसैले बोल्यो-'बरु सँगै जाऊँ, चिया उतै खाउँला ।' साहुनी झन् बत्तिँदै बोलिन्, 'लाने भए काखैमा बसिदिउँला नि ।' ओठमा लाली लगाएकी यी साहुनी खुबै मज्जाकी रहिछन् ।

ए साहुनी, जीवन कति पीडाग्रस्त छ ? तिमी मात्रै होइन सिंगै युग दुखेको छ । राजमार्गमा एउटा सानो होटल थापेर बस्ने यी साहुनीले जीवनमा के सपना फुलाएकी होलिन् ?

प्रेमका मार्मिक धुनहरू यी खोला-खहरेमा पनि हुँदारहेछन् । साहित्यिक कार्यक्रम र गणतन्त्र दिवस एकैदिन परेको थियो । विदुरमा बसबाट ओर्लंदा आयोजकहरूले गरेको स्वागत र हार्दिकताको ट्याटु छातीमै बस्ने रहेछ । बाटामा भेटिएकी उजेली तामाङ साँच्चै उजेली थिइन् । राम्री र हिस्सी परेकी उजेली आँपघारीमा खुलेरै हाँसेकी थिइन् । हाँस्दा गालामा खोपिल्टा पर्ने उजेलीलाई सबैले धेरैबेर हेरिरहे । सहरतिर यस्ता खोपिल्टालाई सायद डिम्पल भन्छन् । तादी खोला किनारको आँपघारीमा तिनै 'डिम्पल'सँग धेरैबेर कुरा भए, ताल न सुरका ।

आयोजकले कार्यक्रम नै तादी खोला किनारमा राखेका रहेछन् । खोला किनारमा पुग्न धेरै हिँड्नुपर्ने रहेछ, हिलो र गज्याङ्गुजुङ परेको बाटो धेरै छिचोल्नुपर्ने रहेछ । हामीलाई पछि पारेर अरू त खोला किनारमा अघि नै पुगिसकेका रहेछन् । राजकुमार बानियाँ, कुमार नगरकोटी, छविरमण सिलवाल र म उजेलीसँगै अल्झिएछौँ । (यस्तै उजेली एक टिभी कार्यक्रममा पनि थिइन् ।) कार्यक्रममा अलि ढिला पुगियो । उजेलीसँगको भेटले कतै ट्याटु बनाएछ !

सबैले कविता सुनाउने कार्यक्रम रहेछ । कार्यक्रम सकिँदा निकै ढिलो भएको थियो । झ्याउँकिरीको एकनासे आवाज कानमा ठोक्किरहेको थियो, खोला उसैगरी सुसाइरहेको थियो । 'यो रात खोला किनारमा कसरी बित्ला ?' धेरैजना आत्तिएका थिए । खासमा समय एकखालको साइत रहेछ । सगर डढेर रातै भएको थियो । साहित्यकारहरू सन्ध्या जगाउने मुडमा थिए ।

एकैछिनमा सुरु भयो- दोहोरी । कोदोको रक्सी र साखिने कुखुराको मासु दोहोरीको साथी बनेको थियो । तादीको दोहोरी बगरमा जर्किनका-जर्किन 'लोकल' आइरहेको थियो । तर, रक्सी नखानेलाई अलि गाह्रो हुँदो रहेछ । उनीहरू अलि छेउ परेर साहित्यिक विमर्शमा लागेका थिए । यता एउटा छुट्टै माहोल बनिसकेको थियो ।

तर, आजको रात आकाशमा जून झुन्डिएको थिएन । अलि पर तादी खोला उसैगरी सुसाइरहेकै थियो । एउटा पालभित्र काठमाडौंबाट आएका साहित्यकारहरू मस्त रक्सीसँग रात साटिरहेका थिए । कतिवेला निदाइयो, कतिवेला बिहान भयो थाहै भएन । हामी उठ्दा कोही अझै मस्त निदाइरहेकै थिए, कोही खोला किनारका पर-पर नित्यकर्म गर्न पुगेका रहेछन् ।

एक हुल साना नानीहरू एकाबिहानै विद्यालयका लुगा लगाएर हातमा जुत्ता च्यापी तादी खोला तरिरहेका थिए । आफ्नो भविष्य खोज्न टाढा स्कुलमा पुग्ने ती नानीहरूका आँखामा कस्तो सपना पोतिएको होला ? आँखामा रोपिएको सपना सामान्य हुन्छ । तर, मनमा रोपेको कामना सदैव आफ्नो बाटो हिँड्छ । ती नानीहरूका आँखामा छचल्किएका सपनाले यस देशमा केही अर्थ राख्छ कि राख्दैन कुन्नि ?

हिलो बाटो र खोला तरेर माथि डाँडामा आइपुग्दा सिमसिम पानी पर्‍यो । माथि चौतारीबाट तादी खोला र त्यसको उपत्यका हेरियो । तादी बगिरहेकै छ पसिनासरी । रनवनमा विरहलाग्दा गीतहरू गुन्जिरहेकै छन् ।

त्यो बिहान पुग्नु थियो नुवाकोट दरबार । सानैदेखि पढिएको थियो दरबारको कथा । र, गोर्खाली महाराज पृथ्वीनारान्को जगजगी । मनमा दरबार हेर्ने रहर उस्तै थियो । माथिको डाँडामा दरबार ठडिएकै छ उसैगरी, युद्धको अपुताली स्याहारेर । पृथ्वी बस्ने दरबार त बन्द रहेछ । तर, त्यही अगाडिको मल्लकालीन पुरानो दरबार खुला थियो । दरबारका चोटा-कोठा सबै चहारियो । दरबार पूरै रित्तो रहेछ । सबैतिर खाली-खाली एउटा सन्नाटा मात्रै बाँकी थियो । मल्ल राजाहरूको बैठककोठा र तरुनीहरू नचाउने कोठा, सबै-सबैले उस्तै सन्नाटा बोकेका थिए । मात्र खाली र अँध्यारो समय बाँच्छ एउटा दरबार, एउटा युगको कथा भन्दै ।

दरबारअगाडिका मन्दिर, पाटी, पौवा र सत्तलले त्यस चोकलाई निकै सुन्दर बनाएका थिए । सफा र शान्त नुवाकोट दरबारले एउटा गौरवगाथा गाइरहेजस्तो लाग्थ्यो । इतिहासको गीत र युद्ध गाथा सुनाइरहेजस्तो लाग्थ्यो ।

प्रत्येक यात्रामा विचारको वेग हुँदोरहेछ, अनि उडानको लक्ष्य पनि हुँदोरहेछ, सँगसँगै एउटा गति पनि हुँदोरहेछ । संवेदनाको अर्थ गाँसिएको हुन्छ यात्रामा । संवेदना थियो मनमा नेपाल एकीकरणका वेला मरेका सिपाहीहरूप्रति । पृथ्वीनारान्का पालामा दरबारअघिको ठूलो घन्टा बज्दा युद्धको निम्तो दिन्थ्यो रे ! के अब त्यो घन्टा कहिल्यै बज्दैन ?

(एकजना भन्छन्- बजाए बज्छ !)

एकजना वृद्ध भेटिए । सेतै दाह्री फुलेका, ८८ वर्षे रूपनारायण दाहाल आधा घन्टाको बाटो हिँडेर नुवाकोट दरबारसँगैको भैरवद्यौको मन्दिरमा पूजा गर्न आएका रहेछन् । ती सधैं आउने रहेछन् भैरवको मन्दिरमा । 'आफू जान्ने हुँदैदेखि आउन थाल्या हुम्,' बूढाले दार्शनिक लवजमा सुनाए, 'यहाँ आएरै बिते मेरा जीवनका त्यतिका दिनहरू ।' बूढा जीवनभर अन्त कतै गएनछन् । यिनको यात्रा छोटो भन्ने कि लामो, छुट्याउनै सकस पर्‍यो ।

दुई दिनको नुवाकोट बासपछि बस काठमाडौंतिर सोझियो । तल निकै भीर थियो । भीर र नदीको तीरैतीर-जीवनको अविरल यात्रा । मनमा फ्ल्यासब्याक भइरहे- भरिया, होटल साहुनी, उजेली, नुवाकोट दरबार, बूढा मान्छे...। उजेली, अब हामी कहिले तिम्र्रा बगरतिर कविता सुन्न आउने, हँ ?

साभार: नयाँ पत्रिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।