14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

त्रास

लघुकथा कृष्ण बजगाईं June 21, 2009, 1:24 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

मन्त्रीज्यू तपाईको मन्त्रालयको त्यो हाकिमले तपाईंको उपहास गरे जस्तो लाग्दछ। त्यस कार्यालयमा तपाईको तोक आदेशले नै नियुक्ति लिएर गएको । न टेवल छ, न बस्ने कुर्सी छ न त कामनै दिन्छ। एकचोटी थर्काउनु पर्यो त्यसलाई।

0 0 0

टेवल कुर्सी मात्रै भएर के गर्नु? पार्टीका साथीहरु गफ गर्न आउँदा अप्ठ्यारो भो। गोपनियता केही रहेन। मन्त्रीज्यू , एउटा अलग्गै कोठा र टेलिफोन दिनु भनेर भनिदिनु पर्यो त्यस हाकिमलाई।

0 0 0

कोठा र टेलिफोन मात्रै भएर नहुँदो रहेछ। पार्टीका सामान्यस्तरका कार्यकर्ता र समर्थक सिधै मेरो कोठामा आईपुग्छन्। पार्टी भित्रको गोपनियता नै रहेन। हाकिमलाई भनेर पि.ए.को व्यवस्था गरिदिनु पर्यो मन्त्रीज्यू।

0 0 0

पि.ए. सहितको कोठा त पाईयो तर अधिकार केही चुहाउँदैन। न त कुनै कागज पत्रमा तोक आदेश नै लगाउन पाईन्छ। यस्तै हो भने त्यही पि.ए. ले पनि हेप्छ मलाई। लौन हाकिमलाई भनेर अधिकार अलिकति बाँडफाँड गर्नु पर्यो भनेर भनिदिनु पर्यो मन्त्रीज्यू।

0 0 0

बल्ल बल्ल अलिकति अधिकार त पाईयो तर खास केही गर्न सकिएन। त्यसले हाम्रो सिंगो पार्टी मात्र होईन हजुरलाई पनि बदनाम गराएर असफल बनाउन षड्यन्त्र गरिरहेको छ। म त्यसको ठाउँमा पुगे भने हजुर पनि मालामाल, पार्टी पनि मालामाल।

0 0 0

त्यसको केही दिनमा ऊ कार्यालयको हाकिम भयो।

त्यसपछि आफूले गरेको निर्णयमा पछुताउँदै मन्त्रीजीलाई चिन्ता भयो –“कतै कुनै दिन मेरै क्षेत्रबाट चुनाव त लड्दैन त्यसले ।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।