17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मैं बनूँ कलाकार

हास्यव्यङ्ग्य जोतारे धाईबा June 23, 2009, 10:02 pm

जे-जसरी होस् मलाई कलाकार हुनुपर्या छ । त्यो पनि गायक कलाकार नै । किन भनेर नसोध्नुस् कलाकार राष्ट्रका गहना हुन् भन्ने उखान-बखानले उत्पातसँग लोभ्याएर मलाई टिकिखान दिएन । हुन पनि यस्तो गहना हुने मोह कसलाई पो नहोला उमेरदार नौजवानलाई विवाहको मौसममा घुम्टीदार दुलहीको चाह भएजस्तै मलाई कलाकार हुने चाहले पिरोलेको छ । यो मोह ममा कसरी पैदा भयो भन्नेमा पनि बडो कलाकारी प्रसंग छ । पैसा हुनासाथै लहरे खोकीको बिरामी हुँदाहुँदै पनि गाउने कलाकार अनि प्रेमिकासँगको बिछोडले भक्कानिएर गीत लेख्दालेख्दै आपुनै गीतका गायक हुने संसारमा म त्यसबाट अप्रभावित भएर बस्ने कुरै थिएन । अतः लागेँ कलाकार बन्ने सुरमा ।

सुरको कुरा गर्दा यो सुर भन्ने कुराले त्यसैत्यसै बेसुर बनाउँदो रैुछ मनलाई । अब मेरै कुरा गर्नुहुन्छ भने गाउँमा कम्पोस्ट मल छरेर बकाइदा खेतीकिसानी गर्नुपर्ने म कताको कलाकार बन्नलाई एकोहोरिन आइपुगेँ । तर गाउँ-टोलतिर किसानले उब्जाउने घिउ सिमी गाजरजस्तै कलाकार पनि चाहिन्छ नि देशलाई । यसैकारण म कलाकार हुन सहर पसेको । अर्को महत्वपूर्ण कुरा के पनि छ भने गाउँघरतिर देसान भित्रिएर एकपछि अर्को गर्दै भुतुभुतु कुखुराहरु स्वाहा भएजस्तै कुबेलामै कलाकारहरु निखि्रन थालेपछि कलाकारको हाहाकार नहोस् भनेर म क्षतिपूर्ति गर्नलाई आएको हुँ ।

कलाकार भएपछि मेरो पनि इच्छा छ- चाँडै मर्न पाउष । आपू मरेर अहिलेको मैंजस्तो अरु कसैको लागि खाली ठाउँ पनि छाडिदिनुपर्यो अनि महान् पनि हुनुपर्यो । कलाकारी दुनियाँमा 'जब त्याग्छौ ज्यान तब बन्छौ महान्' भन्ने सूत्र लागू हुने रहेछ । जिउन्जेल भोकैभोकले अघाएको पेट र छिरिक्क देख्न नपाएको सम्मानको एकमुष्ठ प्याकेज मरेपछि पाउने मेरो लालसा हुनेछ । यसैले संघर्षमा हाडखोर घोट्दै एकोहोरो बाँचिरहेर फुच्चे मनुवा हुने मनसुवा मेरो छँदै छैन । मरेका कलाकारको चर्चा र वाहवाही देखेर जुरुक्कै रोमािचत भएर उठ्ने मित्रमन्डलीमाझ मेरो नवकलाकारको स्वरुप पनि कताकताबाट टुसाएको हो ।

कलाकार भएर मृत्युवरण गर्नलाई यही नै रोग लाग्नुपर्छ भन्ने मेरो खास छनोट छैन । सामान्य झाडापखालाले पनि हामी कलाकारलाई काम तमाम पारिहाल्छ । यसको अलावा अलि मोटोघाटोलाई हृदयाघात र दुब्लोपातलोलाई ग्यास्ट्रिकले मर्मत गरेर कलाकारलाई महान्ता दिलाउँछ । यी थरीथरी रोगहरु नै वास्तवमा कलाकारका असली 'फ्यान' हुन् भन्ने मलाई लाग्छ । यिनैको काँध चढेर एउटा कलाकारले एकपल्ट भए पनि अग्लो हुने मौका पाउँछ ।

यदि साचारमाध्यम नभइदिएको खन्डमा मलाई कलाकार हुन एकरत्ति मोह जाग्ने थिएन । अखबार खबरपत्रिका रेडियो टिभी र वेबसाइटले मानौँ मलाई स्टेज शोको लागि ढोका खोलिदिएका छन् । मरेपछि आपुनो समाचार र श्रद्धााजलि बारम्बार छापिने अनि गुन्जिनाले मेरो कलाकारी साधनालाई राहत मिल्नेछ । जिन्दगीभरि संघर्षको गुफामा निसासिने म मरेपछि एकाएक छ्यालब्याल रुपमा प्रशंसा र प्रतिभापूजाको मैदानमा देखिनेछु । यसैले अरु दसतिर दगुर्नु मलाई छैन । म कलाकार नै बन्छु । एउटा कलाकारको आगमनमा तपाईँ स्वागतका लागि तयार बस्नुस् है ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।