दिलभित्र आलो घाउ मलम लाउने उनी छैनन्
सारा रात सपनीमा सताउने खुनी छैनन् ।
कैले कतै भेट हुँदा मुसुमुसु मुस्कुराउँथिन्
जीवनको बाटोभरि साथ दिने गुनी छैनन् ।
एक्ला दिन सधैंभरि पट्यारलाग्दा हुँदा रैछन्
आधा जीवन बाँचेको छु आधा मेरी जुनी छैनन्
सम्झनालाई कुनै दिन जाली रुमाल पाएको थें
नधोएको धेरै भयो मैलिएछ धुनी छैनन् ।
दुःख पर्दा प्रवासलाई कैले कैले साथ दिन्थिन्
आजकल एक्लै रुने गर्छु संगैसंगै रुनी छैनन् ।