ककुर खोला यानि कि खतरनाक खहरे खोला। यसले थुप्रै घर खेतहरु मात्र आफ्नो अँगालोमा पारेको छैन कि धेरै जीवनलाई भँगालोमा पारेर मृत्युदान दिएको छ। यसैले यहाँ कयौपटक गाउँलेहरुव्दारा अनि सरकारी, गैरसरकारी, एवं विदेशी सहयोगबाट बाँध बाँध्ने काम भएका छन्।
प्रत्येक वर्ष जसो गाउँका थुप्रै बेरोजगार कामदारहरुले आफ्नै घर नजिक काम पाएर मख्ख छन्। धनवीर आफ्नो घर–खेत लैजान्छ भन्ने सन्त्रासमा बडो परिश्रमकासाथ काममा खटिरहेको छ भने मनवीर पनि धेरै पैसा कमाई हुन्छ भनेर काममा जुटिरहेको छ। यसरी बाँध पूर्ण रुपमा सकियो।
धनवीरले बाँध बलियो होस्, खोलाले घर खेत नलैजाओस् भनेर 'मनकामना' भाकल गरे। मनवीर पनि के कम। उसले पनि 'बुढासुब्बा' भाकल गर्यो– बाँध लैजाओस् भनेर धनवीर र मनवीरमा एउटा मालिक र अर्को नोकर हुन्।