19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देश दुखी रहेका घाऊहरु

कविता जे .बी . शेर्पा June 28, 2009, 4:04 pm

छाक जुटाउन धौ धौ परे पनि

मिठो खान र राम्रो लाउन चाडै कुर्न परे पनि

धुलो र पसीना जीवन भए पनि

साग सिस्नु र ढ़िडोमै हुर्के पनि

बचे खुचेको केही थोत्रो आशा बाहेक

मलाई तिमी संग खासै गुनासो थिएन ए काठमांडू !

तर आज

म आफ्नै देशमा वैरीहरुद्वारा लुटियी रहेछु

लखेटीइ रहेको छु

शरणार्थी बनेको छु

अनि देख्छु, मेरो भत्किएको घर आँगनमा

तिरंगा ** को कालो छायाँ

उ, सुन्दै छु फेरी पनि ,

सीमापारबाट बुटहरुको गड्याम गड्याम क्रूर आवाजहरु

अर्को गायत्री ** र देबी ** को खोजीमा आउदैछ

अर्को दशगजा सारिदै छ र विर्खमानहरु मारिदै छन्

साथ साथै मेरो अस्तित्व, अस्मिता र स्वाभिमान

क्रूर हाँसोसंगै बुट मुनि दबाई रहेछ

एक्कासी छाती दुखेर आउछ , घाऊहरु बल्झिनछन

म हठात आँत्तिन्छु , रुन्छु भक्कानिएर

काठमान्डूलाई गुहार्छु आर्तनाद गर्छु

आँसु रित्तिन्छ

धेरै पछि काठमान्डू बोल्छ - "तिम्रो आँसु र रगत झूठ हो"

ए काठमांडू ! एक पटक आफैंलाई चिमोटर हेर

मेरो आँसु र रगतको आलो टाटो ,

अनि यी देश दुखी रहेका घाऊहरु बाहेक

के दशी प्रमाण देखाऊ ?

तै पनि भन्छु यी सारा घाऊहरु छोप्दै

भैगो तिम्रो सुरक्षा,सहारा र विकाशको आश्वाशन चाहिन्न

म केवल मेरो माटो चाहन्छु , उखेलिएको जंगे खम्बाहरु जहाँ को त्यहीं चाहान्छु

म केवल मेरो माटोमा देशको झंडा फरफराएको चाहन्छु

ए काठमांडू कहिले काहीं ,

अमर सिंह, भक्ति थापा र बलभद्र कुँवरको वीर गाथाहरु सुन्ने गर

शहीदहरुको देश प्रेम बुझ्ने गर

मलाई थाहा छ तिमी अचेल लेंदुप दोर्जे झै

लोभिएका छौ,वहकिएका छौ

हामी कहिल्यै शासित थिएनौ

लढयौ, मर्यों तर सिर झुकाएनौ

एक पटक त सोच फेरी, एक पटक त रोज फेरी

दास बनेर दरवारमा वस्नु या

स्वतंत्र भएर छाप्रोमा वस्नु ?

दास बनेर हैदरावादी बिरयानी खानु कि

स्वतंत्र भएर गुन्द्रुक ढिँडो खानु

दास बनेर अत्याचार सहनु राम्रो कि

स्वतंत्र भएर डटेर लड़नु राम्रो

ए काठमांडू !

म आज फेरी देश दुखी रहेका घाऊहरु छोप्दै

छातीमा ज्वालामुखीहरु सम्हाल्दै

अंतिम पटक तिमीलाई पर्खी रहेको छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।