19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रुपान्तर

कविता सञ्जु बजगाईं June 28, 2009, 8:39 pm
सञ्जु बजगाईं
सञ्जु बजगाईं

रंग मेटिएको

क्यानभास जस्तो जीन्दगी

शुन्य सडकको सालिक भएर

केवल रात रुंगीरहेछ ।

लाशहरुले छोपिएर

लम्पसार तन्किएका बाटाहरुमा

धुकधुकी बोकेर

'म' म हुनुको सट्टामा

ऊ भैरहेछु ।

एक ग्यालेन पेट्रोल

एक सर्को बारुद पोल्टोमा

आगो सल्किन बाँकी क्षण

आकाश पर्खिरहेछ

अझै पनि 'म'

म हुनुको सट्टामा

ऊ भैरहेछु ।

मौन ठडिएर झुठो बसन्त

पर्खिरहेका बग्रेल्ति पहाडहरु

काकाकूल किनार

घिस्रिएको नदी

थोपा-थोपा आँखाहरुमा

फेरी पनि 'म' हुनुको सट्टामा

ऊ भैरहेछु ।

छातीभित्र थोत्रो कम्पास

पाताल आकाश

आकाश पाताल भैरहेछ ।

भूत पछिल्तिर

भविष्य अगाडि

वर्तमान चेपिएको

तथापी

'म' हुनुको सट्टामा

ऊ भैरहेछु ।

ब्रसेल्स, बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।