19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रातो सर्ट

कथा अस्मिता न्यौपाने July 4, 2009, 12:23 pm

घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ 'ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।' दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासी बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले । आँखाबाट आँसु दर्केला जस्तो भयो । फेरि गड्याङ्गडुङबाट तर्किएको पानीझैँ आएन आँसु । रोकियो गहमै ।

प्यारालाइसिसबाट पीडित मेरा पिताजीले भन्नु भएको थियो 'हाम्रा बुबाको भोटो र जाँघे सिलाउने दर्जी साइँलाको कान्छो छोरो छिमेकी भएर आुको छ के कस्तो छ जाओ न हौ त्याँ ।' म गएको थिएँ पिताजीको आज्ञा मानेर । दर्जी कान्छा दाइको घर पहिलोपटक । जाने बित्तिकै भाउजूले 'पिरा दे है ठूली' भन्दै छोरीलाई भनेकी थिइन् । ठूलीले मेरो छेउमा ल्याएर सुकुल ओछ्याएकी थिई । म बस्दै गर्दा ठूलीले एक कदम अघि बढेर सोधेकी थिई तपाईंको घर कुन हो ? मैले औँलाले 'ऊ त्यो' भनेको थिएँ त्यो बेला । उसले फेरि छिमेकी पो भइएछ भनेकी थिई ।

साँच्चै आरिस लाग्दो जोडी थियो दर्जी कान्छा दाइको । रक्सी नपिएको दिन कान्छा दाइ भाउजूलाई नपिटी छाड्दैन थिए । भाउजू रुँदिन थिइन् पिटेको बेला । जब कान्छा दाइले रक्सी पिउँथे अनि रुन्थिन् हिजो-अस्तिको नीलडाम देखाउँदै 'हजुरले पिटेको' भनेर । कान्छा दाइ त्यतिबेला भाउजूको काखमा क्वाँक्वाँ रुँदै भन्थे 'मैले तँलाई माया गर्नै जानिन तँ मलाई कति माया गर्छेस् ।' मलाई भने अचम्म लाग्थ्यो उनीहरुको चाला देखेर । कान्छादाइलाई रक्सी पिएपछि मात्र भाउजूको माया गर्न आउँथ्यो । भाउजूलाई पनि दाइले रक्सी पिएपछि मात्र रुन आउँथ्यो । पछि रक्सीकै कारण मरे कान्छा दाइ । खै त्यतिधेरै त याद छैन त्यस्तै ६/७ महिनाको अन्तरमा भाउजु पनि उतै गइन् । घरमा बाँकी थिए तीन सन्तान ठूली उसकी बहिनी सानी र भाइ । सानी सानैदेखि मावल पढ्थी । भाइ र ठूली घरमा थिए ।

छिमेकीहरुमध्ये त्यो घरसँग मेरो गहिरो आत्मियता थियो । म त्यो घरमा दिनमा एक पटक नगइ सक्दिन थिएँ । दाइ-भाउजूको निधनपछि टुहुरो बेनेको थियो त्यो घर । ठूलीका दिनहरु रोएर नै बितेका थिए कति त । भाइ सानो थियो । बुझ्दैन थियो दिदी रुनुको कारण । रोइदिन्थ्यो दिदीसँगै । अनि भन्थ्यो तोते बोलीमा 'मेलो दिदी किन पितिस्'कति सम्झाउँथे म ठूलीलाई तर आफैँ भक्कानिन्थ्यो ।

एउटा कुरोले मलाई अति नै छुन्थ्यो त्यो के भने ठूली र म एकअर्कालाई तँ भनेर बोलाउँथ्यौँ । तपाई भन्थी सुरु सुरु त । पछि खै कहिलेदेखि ुपाईंु हराएछ । बाँकी रहेछ 'तँ' मात्र । सायद आत्मियता बढ्दै गएपछि होला । म भन्दा तीन/चार वर्ष कान्छी हुँदी हो ठूली । खै नाम पनि कहिले सोधिएन । गाउँभरिका सबैले ठूली भन्थे । र म पनि । न मेरो नाम थाहा थियो उसलाई । खुस पर्दा काले दाइ भन्थी रिसाइ भने मेरो पातलो शरीरको उपहास गर्दै 'लिखुरे' भन्थी । म नि कम थिइनँ हाँसीहाँसी 'हारमोनियम देखेकी छौ' भनि सोध्थेँ । ऊ 'छ' भन्थी । म उसलाई हो त्यसको रिट जस्तै छ तिम्रो दाँत त्यसबाट कति मिठो धून निस्कन्छ हगि भन्थेँ ऊ 'अँ' भन्थी अनि उकासेर गीत गाउँन लाउँथे । गाउँथी

पोहोर साल खुसी फाट्यो

जतन गरी मनले टालेँ …

साँच्चै मीठो गीत गाउँथी ठूली । पछिपछि थाहा पाइछ हारमोनियमको रिट जस्ता दाँतको खास अर्थ । रिसाएर भन्थी 'काले-लिखुरे काले-लिखुरे …' म पनि हत्तपत्त पैँचो तिरिहाल्थेँ 'हारमुनी हारमुनी…। ।'रिसाएजस्तो मात्र गथ्र्यी रिसाउँदिन थिई । साँच्चै रिसाउँथी भने मसँग नबोल्दा पनि त हुन्थ्यो नि !

दुःखहरु भुल्दै गइरहेकी थिई । भाइलाई अनाथ आश्रमलाई लगेर दिई क्यारे ! ऊ एक्लै बस्थी दिनभरि गाउँलेहरुका लुगाफाटा सिउँदै । म पनि विदेश जाने तर्खरमा थिएँ । चाचले ठूली निकै गम्भीर हुँदैथी ती दिनहरुमा ।

एकदिन लुगा सिउँदै गर्दा पुगेको थिएँ । ठूली भन्दै थिई 'काले दाइ विदेश जान लागेको छस् रे हो ?' वास्तवमा म त्यो दिन ठूलीलाई भोली काठमाडौँ र तीन दिनपछि विदेश जाँदैछु भन्नलाई गएको थिएँ । उसले रातो सर्ट दिएकी थिई उबेला । भन्दै थिई 'यो तेरो लागि मैले सिलाइ दिएकी ।' मैले लिन आनाकानी गरिरहँदा उसले गहभरि आँसु पारेर एउटा चिनो त लैजा भनेकी थिई । रोइ-रोइ-रोइ भनेर जिस्काएको थिएँ । ऊ झण्डै मुस्कुराई ।

मैले हिँड्ने बेला 'बिहे चाहिँ नगर्नु नि !' भनेको थिएँ । उसले लजाउँदै 'अँ लिखुरे त नभई मेरो विवाह हुन्छ त' भनेकी थिई । खै त्यसको भाव मैले बुझेँ या बुझिनँ । मैले बुझे जति सही थियो या गलत ! घरसम्म पुर्याउन आएकी ठूलीलाई मैले भनेको थिएँ 'अब फर्केर आएपछि मलाई काले-लिखुरे नभन्नु म विदेशबाट फर्कदा गोरो र मोटो भएर आउँछु ।' उसले हुन्छ भन्दै टाउको हल्लाएकी थिई र भन्दै थिई 'मेरो दाँत पछि पनि यस्तै नै हुन्छ तर हारमुनि चैँ नभन है ।' मैले 'ल-ल' भन्दै प्रतिबद्धता जनाउँदै हामी छुट्टिएका थियौँ त्यो दिन ।

विदेश पुगेको दिन घरमा फोन गरेको थिएँ दिदीले उठाएकी थिई मैले आफू सकुशल आइपुगेको खबर सुनाएँ र सोधँे घर परिवार गाउँघरको खबर-खाबर । दिदीले ठूलीले घरको बलोमा आफूलाई झुण्ड्याएकी खबर सुनाई । टेकेको भुइँ दबिए झैँ आकाशले थिचेझँै भारी महसुस भयो । ुकिन झुण्ड्याइु भन्ने प्रश्नमा कुनै अर्थ भेट्टाइनँ । मलाई थाहा थियो मरेको मान्छे बोल्दैन । अरुले आफ्नो मनको कुरा भन्छन् । मर्नुको कारण त मर्नेलाई नै थाहा हुन्छ । निरास भएर फोन राखेँ । निकैबेर रोएँ त्यो दिन म ठूलीलाई सम्झेर ।

तीन वर्ष परदेशमा बिताएर घर फर्केको । जाने बेलामा दिएको चिनो रातो सर्ट उस्तै छ । थाहा छैन खै कहिले नापै नलिई कसरी सिलाएकी थिई चट्ट जिउमा मिल्ने खालको । भनेकी थिई 'कालो-कालो छस् रातोले राम्रो सुहाउँछ ।' आज दराजमा कपडा मिलाउँदै गर्दा फेरि उसको याद दिएको छ यो सर्टले । विदेशबाट फर्कदा पनि नफेरिएको कालो वर्ण र मासु नलागेको खिनौटो ज्यान देखेर सायद बाँचेकी भए एक पटक भन्ने थिई होली 'काले-लिखुरे ।'

घरमा भात खाएर थालैमा हात चुठ्ने बानी परेको मलाई के थाहा अरुको थाल माझ्दा कस्तो हुन्छ हुन्छ । आखिर त्यो पनि थाहा पाएँ विदेशमा । लुगाको खातमा अलग परिचय र अस्तित्व बोकेका सर्टलाई दराजमा राख्नुपूर्व चुमँे एकफेर । अनि मनलाई सान्त्वना दिँदै लेखेँ 'रातो सर्ट ।'

[email protected]

अनारमनी,झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।