14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

माफगर

कविता कृष्ण प्रर्साई July 7, 2009, 3:58 am

बिर्सौ भन्दा झन् बढी आइ रहने

सवका सव सम्झनाहरु छन् अहिले पनि

घुर्मौला आँखाहरुमा समेटिएको एउटा क्षितिज

नआओस भन्दा भन्दै आएको मलामी साँझ

र तिमीले आफ्नै चौबन्दीमा बेरेको कोरली रहर

कता गए सवै

तिमी अनुकुल भएको छ मेरो मन

सबै सबै साँक्षी राखेर-

सपनाकामा चुराहरु बजेर विउँझेको विहान छ मसँग अहिले

फेरि पनि-

त्यही पुरानो परेली दोबि्रएको तिम्रो आँखामा-

अनन्त अनन्त इच्छाहरुको महासागरमा हराइरहेको-

आकाश भन्दा पनि माथिको काफल फलेको मन खोज्दैछु ।

पारिजात पाउलिएको तिम्रो अनुहार-

र नदी जस्तै बगेर हराएको तिम्रो बैश पनि छाम्दैछु

तिमी आफैले भन्थ्यौ-

मान्छेको जीवन

आँसुको असार पस्किए जस्तो कसैगरी हुन्न

अंगालोमा उनिने रहरलाई

उमेर फुलेको हिमाल जस्तै बनाएर

जीवन जिउँन कदापि सकिन्न

यस्तै यस्ता शब्दहरुको खेती गरेर

तिमीले कोरेका साँध सिमानाको हेक्काभित्र

लक्षण रेखा नाघ्न नसकेको सम्झना पनि आलै छ अहिले

कसरी भन्नु मैले

निसङ्गकोच म पस्न चाहान्थे नौनी जस्तै तिम्रो आखाको नानीमा-

र खेल्न चाहान्थे कुराउनी जस्तो तिम्रो कमलो मनभित्र ।

कस्तो नियति !

मनभित्र पस्ने-

प्रवेशाज्ञाको पर्खाइमै

सिमलको भुवाझै

ओइलायो / उड्यो-

मेरो गोधूलि मन-

म रोएँ-

आसु सकिए पछि पनि रोएँ

साउनसँग आँसु पैचो लिएर झरी रोएँ ।

आँसुवापतको सौदा कटाएर-

गर्न बाँकी रहेको हिसाव किताव अधुरै छन् तिमीसँग

अलिकति बान्की परेको तिम्रो अनुहार-

हेरे वापतको तिरो तिर्नु थियो मैले

मेलापातमा छुटेका कुइनेटाहरुको-

ब्याजै सहितको बाली बुझाउनु थियो मैले ।

अलिकति पर्ममा गोडेका गराहरुको

रहल साँवा चुक्ता गर्नु पनि थियो मैले ।

हिउद बास्नु अघि-

सित हास्नु अघि

पूर्णिमा पस्नु एकदिन अघिको जूनसँग

तिमीले मागेको वर

कतै म नै थिएँ भने पनि-

माफगर !

म यतैकतै सहरमा-

तिमीलाई खोज्दै

नभेट्टिने गरी हराएको छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।