हरि अधिकारी वर्तमान समयका सशक्त कवि हुनुहुन्छ । सन् १९५२ जुलाई १३ मा जन्मनु भएका अधिकारी कविता, कथा र समालोचना विधामा समान रुपले कलम चलाउदै आए पनि मूलत: प्रखर कविका रुपमा उहाँको छवि बढी प्रचारित छ । प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय अधिकारी पेशाले पत्रकार तथा नेपाल प्रेस युनियन संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको 'संसदमा एक दिन' र 'हरि अधिकारीका कविता' नामक दुई कविता संग्रह र 'रामलालको आकाश' नामक एक कथा संग्रह प्रकाशित छन् । केही समयदेखि अमेरिकामा रहनु भएका अधिकारीसँग समकालीन डट कमका लागि इमेलबाट गरिएको कुराकानी ।
१) तपाईं अहिले के लेख्दै हुनुहुन्छ ?
फुटकर कविता र कथाका अतिरिक्त म एउटा उपन्यास लेख्दै छु । १० वर्ष लामो गृहयुध्दको पृष्ठभूमिमा छ त्यो उपन्यासको कथा । म अहिले विदेशमा भएकाले त्यसको लेखनको गति केही सुस्त भएको छ । आगामी २ वर्षभित्र पाठक समक्ष ल्याइसक्ने अठोट गरेको छु । मेरो पत्रकारिताको लेखनले साहित्य-लेखनलाई बिथोल्ने गर्छ । यसको व्यवस्थापन पनि गर्नु छ मलाई ।
२) तपाईंको लेखनको शुरुवात कहिले र कुन विधाबाट भएको हो ?
मैले बि सं २०२४ सालमा कविताको प्रकाशन गरेर साहित्यको आराधाना सुरु गरेको हुँ । कविताका अतिरिक्त कथा समेत साहित्यका अरु विधामा पनि मैले कलम चलाऊँदै आएको छु । तर मेरो सबैभन्दा प्रिय विधा कविता नै हो ।
३) पत्रकारिता, समिक्षक, कवि, लेखक कथाकार यति धरै विधामा संलग्न हुँदा कुन विधामा सबै भन्दा सन्तुष्टि प्राप्त भएको छ ?
कविताबाट नै म सबैभन्दा बढी संतुष्ट छु । तर कहिले काहीँ सामाजिक-राजनीतिक बिषयमा राष्ट्रिय चेतनालाई नै घच्घच्याउँने गरी लेखिएको कुनै लेख वा टिप्पणीले पनि क्षणिक नै किन नहोस्, संतुष्टि दिन्छ । राजनीतिक टिप्पणीकर्ताका हैसियतले लेखेका केही लेखका हकमा त्यस्तो भएको अनुभव मसंग छ ।
४) यति लामो समयदेखि लेखन कार्यमा लाग्दा तपाईंले कुनै पुरस्कार सम्मान प्राप्त गर्नु भएको छ कि ?
प्रतियोगितात्मक साहित्य सम्मेलनहरूमा मैले धेरै पटक पुरस्कार पाएको हुँ । २०२७ सालको राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको थिएँ । पछिल्लो समयमा गरिमा सम्मान, वासु शशी स्मृति पुरस्कार, वाणी-नव क्षितिज साहित्य पुरस्कार, दानमाया साहित्य पुरस्कार र साझा पुरस्कार आदिबाट म पुरस्कृत भएको छु ।
५) तपाईं एक शसक्त लेखक मात्र नभई प्रजातान्त्रिक योद्धाका रुपमा चिनिनुहुन्थ्यो । आजकल राजनैतिक वृतबाट हराउनु भयो नि ?
म प्रतिबद्ध प्रजातन्त्रवादी व्यक्तिका हैसियतले राजनीतिमा सकृय थिएँ र छु । तर पार्टी संगठन र पदीय जिम्मेवारीका अर्थमा अहिले म नेपथ्यमा धकेलिए झै भएको छु । राजनीतिको क्षेत्रबाट नै हराएको भने होइन । एउटा राजनीतिक प्राणी त्यसबाट धेरै दिनसम्म टाढा रहन सक्दैन ।
६) राजनिति र साहित्यको बिचमा कस्तो सम्बन्ध हुनुपर्छ जस्तो लाग्छ ?
साहित्यले मानवीय सरोकारका, राजनीति समेत सबै बिषयहरूको खोजवीन र परिशीलन गर्ने हुनाले यी दुईका बीच घनिष्ठ संवन्ध छ । राजनीतिले समाज-समाज र मानिस-मानिसबीचको संवन्धको निरूपण गर्दछ र त्यसलाई व्यवस्थित गर्न नियामकको भूमिका निर्बाह गर्दछ भने साहित्यले समग्र मानवीय सभ्यताको निर्माणमा राजनीतिलाई मार्ग निर्देशन गर्दछ ।
७) नेपालमा स्वतन्त्र लेखक भन्दा पनि पार्टीका आसेपासेले नै अवसर र फाईदा लिएको देखिन्छ । तपाईंको बिचारमा लेखकहरुले पार्टी कै झण्डा मुनि नै बस्नु पर्ने हो त ?
नेपालमा मात्र होइन संसारभरि नै सत्ताबाट फाइदा लिनसक्नेहरूको जातै अर्कै हुन्छ । असल लेखक कुरा चपाउँन जान्दैन, खस्रो बोल्छ, चाकरी-चापलुसी गर्दैन । शायद असल साहित्यकार अवसर र फाइदाबाट प्राय: वन्चित नै रहन्छ । योग्य लेखकले अवसर पाउँदैन भने त्यो उसको समस्या होइन त्यो त त्यस देशका नेताहरूको नालायकीको प्रमाण हो ।
८) हाम्रो साहित्यको लेखनधार अहिले कता गैरहको पाउनु भएको छ ? अहिलेको बदलिदो परिस्थितिमा कस्तो धार पक्रीनु पर्ला ?
नेपाली साहित्यको अहिलेको दिशा र गति सहज र विश्वव्यापी चिन्तन र चिन्तासंग प्रवाहमान छ । कविता विधालाई हेर्ने हो भने यो विश्व साहित्यको मूल धारको निकट छ भन्न सकिन्छ । आख्यानका हकमा हामी पछाडि नै छौँ । आजको मानव समाज जुन सर्वव्यापी समस्याहरूको माखेसांग्लोमा जेलिएको छ, साहित्यको केन्द्रिय बिषय-वस्तु पनि त्यही नै भएको छ । परिवार जस्तो संस्थाको विगठन, संवन्धहरूमा भएको क्षय, अन्तरराष्ट्रिय आतंकवादबाट उत्पन्न असुरक्षा र भय, संचारको अद्भूत बिकासले सिर्जना गरेको नयाँ चेतना र बिग्रँदो विश्व पर्यावरण, यी केही यस्ता बिषय-वस्तु हुन्, जुन आज विश्व साहित्यका केन्द्रिय सरोकारका बिषय बनेका छन् । नेपाली साहित्य पनि यसबाट अछुतो छैन । र, नेपाली साहित्यको मूल धार यी नै बिषयहरूबाट सुरु हुन्छ ।
९) अहिलॆ कविताको केन्द्रीय स्वर के हो ?
अहिलेको एउटा सचेत नेपालीको मनलाई उद्विग्न पारिरहने तमाम चिन्ता र सरोकारहरू आजको नेपाली कविताको केन्द्रिय स्वर हुन् । अल्मलिएको राजनीति, दिशाहीन भौँतारिएको युवा पुस्ता, बेकम्मा सावित भएको राष्ट्रिय नेतृत्व र हीन मनोबल आम जनता, आजको नेपाली कविका सामुन्ने भएका ज्वलन्त बिषयहरू यी नै हुन् र यिनैको सेरोफेरोमा कविता लेखिंदै छ ।
१०) तपाईं कविता लेखनका एक सशक्त हस्ताक्षर हुनु हुन्छ । कविता लेखीरहेका नयाँ पुस्तालाई के सुझाव दिन चाहानु हुन्छ ?
म मेरा साथी कविहरूलाई कविताका माध्यमबाट नेपाली भाषाको सौन्दर्यलाई बढाउँन, पाठकको हृदयको एकदम नै नजिक हुनसक्ने भाषा र भंगिमाका साथ काव्य रचना गर्न र कवितालाई नेपाली चेतनाको प्रतिनिधि स्वर बनाउँन आग्रह गर्छु ।
११) अहिले संविधान निर्माणको जटील र संक्रमणकालीन अवस्था छ । यस्तो बेला हरेकका आ-आफ्ना माग छन् । एउटा नेपाली साहित्यकार भएका नाताले अबको संविधानमा भाषा साहित्यका लागि तपाईंको तर्फबाट राखिनु पर्ने कुनै माग छन् कि ?
अब लेखिने संविधानमा राज्यले साहित्य र साहित्यकारहरूलाई कसरी हेर्ने भन्ने कुराको स्पष्ट किटान हुनुपर्छ । अभिव्यक्तिमा कुनै पनि प्रकारको सेन्सर नभएको मुलुक हुनुपर्छ अबको नेपाल । राज्य, प्रकाशक समुदाय र पुस्तक व्यवसायी वर्गले लेखकमाथि शोषण गर्न नपाउने कुराको प्रत्याभूति संविधानले नै गर्नुपर्छ । राज्यको संरक्षणको पक्षमा भने म छैन । लेखकले पनि अरु सबै पेशाका नागरिकहरूले झै काम गर्ने उचित र सजिलो बातावरण पाउनुपर्छ भन्ने पक्षमा छु म ।
१२) अहिलेको बदलिदो परिस्थितिमा प्रज्ञा प्रतिष्ठानको गठन र यसको संरचना कसरी विस्तार गर्नु पर्दछ भन्ने लागेको छ ?
प्रज्ञा प्रतिठानहरूको गठन र संचालन जहिले पनि विवादको बिषय रहदै आएका छन् । राज्यले नियुक्ति गर्ने हुनाले त्यस्तो संगठन पूर्णत: विवादरहित हुन शायद संभव हुँदैन । तर योग्यता र योगदानका हिसाबले कम भन्दा कम विवादास्पद व्यक्तिहरूलाई प्रज्ञामा पठाउँन सके त्यसको प्रतिष्ठा कायम रहन सक्थ्यो । समस्या वामपन्थीहरूको संकीर्ण सोच र उनिहरूसंग गतिला साहित्यकार आवश्यक संख्यामा नभएका कारण पैदा भएको हो नेपालका सन्दर्भमा । साहित्यलाई राजनीतिको हतियार मात्र ठान्नेहरूले प्रज्ञा प्रतिस्ठानहरूमा पार्टीका झोले-बन्दूकेहरूलाई पठाउँने नै भए । रूढाग्रही कम्युनिष्टहरूसंग साहित्यको श्रेष्ठताको कुरा गर्नु नै निरर्थक छ ।
१३) तपाईं अहिले केही समयदेखि अमेरीकामा हुनुहुन्छ । तपाईंले त्यहाँबाट हेर्दा नेपाली साहित्यको अवस्था र अन्तर्राष्ट्रिय स्तरमा यसको पहुँच र स्तर के पाउनु भयो ?
अन्तरराष्ट्रिय भाषाहरू, खास गरेर अंग्रेजी, फ्रेन्च, स्पेनिस, जर्मन आदिका साहित्यमा भएको बिकासका तुलनामा हाम्रो साहित्य धेरै पछि छ । हाम्रो भाषा बोल्नेको संख्याका हिसाबले यो स्वाभाविक हो । हाम्रो साहित्यको बिकासको गतिको अध्ययन गर्दा हामीले आफैलाई हेरेर गर्नुपर्दछ । र यसोगर्दा हामी खिन्न हुनुपर्ने कुनै कारण म देख्दिन । तर हामीले सिर्जेको साहित्यको श्रेष्ठतम् पक्ष संसारभरिका पाठकहरूसमक्ष जसरी पुग्नुपर्ने हो त्यो भने हुनसकेको छैन । अंग्रेजी अनुवाद यसका लागि सबैभन्दा उपयुक्त माध्यम हो तर त्यसको उपयोग गरिएको छैन । अमेरिकाबाट नेपाली साहित्यलाई हेर्ने कुरा अनौठो छ । एसियाको सरहद काटेपछि नेपाल राष्ट्रकै बारेमा थाहा पाउँने मान्छे भेट्न मुश्किल पर्छ भने नेपाली भाषाको साहित्यको त के कुरा गर्नु?
१४) नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन के गर्नु पर्ला ?
नेपालीमा लेखिएका श्रेष्ठ ग्रन्थहरूको अंग्रेजी अनुवादलाई विश्व साहित्यको बजारमा दरो किसिमले पुर्याउँन सकियो भने हामीलाई आफ्नो मूल्यांकन गर्न पनि सजिलो हुन्थ्यो र प्रतिभाशाली लेखकहरूले उचित मूल्य र पहिचान दुबै पाउँन सक्थे ।
१५) नेपाली भाषा साहित्यका लागि अन्तर्राष्ट्रिय स्तरबाट के के कार्य भएको पाउनु भयो ? यसका लागि नेपाली डायोस्पोरा र तिनका संस्थाहरुलाई तपाईंको कुनै सुझाव छन् कि ?
बिदेशमा बसेर पनि नेपाली भाषा-सहित्यको बिकासका लागि खट्न तयार लेखक तथा साहित्यप्रेमिहरूले आ-आफ्ना स्तरबाट काम गरिरहेका छ्न्, जुन प्रशंसनीय छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, अमेरिका र यसका बिभिन्न शाखाहरूले नेपाली भाषा- साहित्यको उन्नयनका लागि काम गरिरहेको छ । त्यस्तै अरु संगठनहरू पनि छन् । तर नेपाली साहित्यलाई अनुवादको मध्यमबाट व्यापक पाठक-वर्गसम्म पुर्याउंने मामिलामा भने खासै काम भएको देखिएको छैन । बेलायत र हङकङमा सकृय साहित्यिक संस्थाहरूले आफ्ना गतिविधिहरूमा सबैखाले लेखकहरूलाई समेट्न सकेका छैनन् ।
१६) डायोस्पोरा साहित्य मूलधारको साहित्यमा अटाउन सक्छ कि सक्दैन ?
असल साहित्य डायस्पोरा वा नन्-डायस्पोरामा बिभाजित हुँदैन । बिषय-वस्तु डायस्पोरिक हुनसक्छ । नेपाली भाषामा असल साहित्यको सिर्जना जसले जहाँ बसेर गरे पनि त्यो नेपाली साहित्यको मूलधारकै साहित्य हुन्छ । र, त्यो हाम्रो गौरवको बिषय हुनेछ । साहित्य राष्ट्रका सीमामा मात्रै खुम्चने बिषय होइन । नेपाली भएका नाताले म नेपाली साहित्यलाई बढी माया गर्छु, त्यो स्वाभाविक हो तर म अंग्रेजिमा कविता गर्ने टेड ह्युजेस, स्पेनिसमा उपन्यासको रचना गर्ने मार्खेज वा हिन्दीमा गजल गर्ने दुश्यन्त कुमारलाई पनि उत्तिकै संमान र माया गर्छु । मेरानिम्ति साहित्यको श्रेष्ठता नै लेखकप्रतिको सम्मानको मापो हो ।
१७) अन्तमा समकालीन साहित्य डट कम मार्फत नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?
भाषा मान्छेको निजी पहिचान हो । आफूलाई चिनाउँन मान्छेले भाषा पाएको छ । त्यसैले आफ्नो भाषाप्रति अनुराग गर्नु मान्छेको कर्तव्य हो । यो कुरा सबै नेपालीले आत्मसात् गर्नु पर्दछ भन्ने मेरो आग्रह छ ।