19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रभू आशिर्बाद

कविता रामकुमार श्रेष्ठ July 24, 2009, 2:20 pm

प्रिय,

मैले त भनेकै थिएँ नि

कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर

तर तिमीले कहिल्यै पत्याइनौ

ल तिमी आँफै हेर त

कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ

तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात

रातो पिरो दौरा सुरुवाल गुरु भन्दैछ -

टहटह जुन लागेको कस्तो रमाइलो रात

उस्को कुराले तिमी भने "मूर्ख" भन्दै अट्टहास छाड्छौ

ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक

देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ

होइन के हो यस्तो यो ?

प्रिय,

तिमीले बुझिनौ

रात र दिनको यो दिग्भ्रम कहाँबाट कसरी आयो ?

यस कारणले कि प्रभूको अपरंपार लीला बिचित्रैले छायो ,

परेवादेखि चतुर्दशीसम्मको चौध दिन नै गायब

तीन चित खाइरहेको रातो पिरो दौरा सुरुवाल गुरुको लागि

चिताउँदै नचिताएको कुरा पनि कति पायक ?,

प्रभूको आशिर्बाद पाए औंसीको रात पनि पूर्णिमा बन्ने

स्वाभिमानीको लागि औंसीको रात नै धन्य धन्य ।

देख्यौ त प्रिय,

मैले जे जे हुन्छ भनेको थिएँ त्यही त्यही भयो कि भएन

मैले साँढे ब्याउँछ भनेको थिएँ आखिर ब्याएरै छाड्यो,

गंगा उल्टो बग्छ भनेको थिएँ आखिर बगेरै छाड्यो,

यहाँ के हुन्न प्रिय

यहाँ त सबै थोक हुन्छ

संसारमा कहीं संभब नहुने कुरो यहाँ संभब हुन्छ –

रात दिन हुन सक्छ अनि दिन रात

औंसी पुर्णिमा हुन सक्छ अनि पुर्णिमा औंसी

केबल प्रभूको आशिर्बाद चाहिन्छ प्रिय

सबैको कल्याण गर्ने पशुपति र तेत्तिस कोटी देबी देबताहरुले

अल्छि गरेर के हुन्छ र

अहो रात्र दौड धूप गर्ने प्रभू भएपछि

जाबो गाइजात्राको लागि बर्ष दिन कुर्नु पर्छ र प्रिय

जुन बेला जस्तो आवश्यक पर्छ त्यस्तै गाइजात्रा मन्चन भै हाल्छ

पुन्पुरो बलियो नहुनेहरुले उजुरी हाले हाल्छ ।

लोक लाजको पनि कुनै अर्थ हुन्छ र प्रिय

यहाँ लाज त लोकलाई पो हुने भयो त

लोकको तोक शोकमा किन पर्दैन त प्रिय

चौबिसै घण्टा ब्यस्त प्रभूसंग

नारी खौंचेर लिन खोजेपछि टक्कर

आइपर्छ नि त नसोचेको अक्कर

प्रभूको आशिर्बाद पायौ भने त प्रिय

तिमी लाटो, लंगडो, खोरण्डो, कानो, बहिरो, लठेब्रो

जे भए पनि केही फरक पर्दैन नि प्रिय

जब लोकतन्त्र प्रभूतन्त्रमा परिणत हुन्छ भने

लोकतन्त्र प्रभूतन्त्रमा

औंसीको रातमा

टहटह जुन लाग्न थाल्छ प्रिय

टहटह जुन

त्यसैले प्रभू आशिर्बादको मर्म बुझ प्रिय

प्रभू आशिर्बादको मर्म ।

केण्ट, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।