19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा अनुपम उपन्यास“टुँडाल”मा मेरो नजर

कृति/समीक्षा उमेश राई 'अकिन्चन' August 17, 2009, 9:26 pm

“अमर भाई !एउटा कुरा भनौ ?”

“हुन्छ,भन्नु तर त्यस्ताउस्ता केही नराम्रा कुरा भए नभन्नु”

“तपाई यो रक्सी नखानु होस् न ल”

मुसुक्क हाँसेर बोल्यो –

“यही कुरा रक्सी दोकानकी दिदी पनि भन्छिन् तर सधैँ बेचिरहन्छिन्” ।

यी उदधृत् गरिएका हरफहरू कृण्ण धरावासीको नयाँ उपन्यास “टुँडाल”बाट साभार गरिएका हुन् ।नेपाली आख्यानका लागि कृण्ण धरावासी एउटा स्थापित नाम मात्र होइन,नयाँ विचार र शैली पस्केर परम्परागत लेखनमाथि धावा बोल्ने आफैमा एउटा आन्दोलन पनि हो ।यो हल्लैहल्लाको देशमा कम हल्ला गरेर,धेरै लेखन गर्ने मनुवामा पर्दछन् उनी ।सायद यही भएर होला उनलाई नेपाली साहित्यको “पाउलो कोहिल्यो” पनि भन्न थालिएको छ । “शरणार्थी”,“आधाबाटो”,“झोला”,“राधा”,“तपाइँ”र“टुँडाल” उनका उत्कृष्ट हस्ताक्षरहरू हुन् ।नेपाली उपन्यासको फाँटमा‘स्पिड ब्रेकर’को रुपमा लिइएको “शरणार्थी” र मदन पुरस्कार प्राप्त कृति “राधा” उपन्यासका अनुपम नमूना जो छदैछन् ।यस लगत्तै सुन्दर सिर्जनाको लहरमा “टुँडाल” उभिन आइपुगेको छ ।

के तपाइँ नेपाली महिलाहरूको यौनप्रतिको दृष्टिकोण बुझ्न चाहनुहुन्छ?

के तपाइँ नेपाली कला र सँस्कृतिलाई माया गर्नुहुन्छ?

के तपाइँ एकल महिलाको पुनःविबाहको पक्षद्यर हुनुहुन्छ?

वा

तपाइँ पैतालिस सालको भूकम्पले गरेको धनजनको क्षति बारे बुझ्न चाहनुहुन्छ?

कृण्ण धरावासीका अन्य आख्यानहरूझैं विषयबस्तुको नवीनता र प्रस्तुतिको नौलो स्वादसँगै यी माथिका प्रश्नहरूका सिंगो जवाफ “टुँडाल” उपन्यासमा पाइन्छ ।आत्मपरक शैलीमा लेखिएको यो उपन्यासकी मुख्य पात्र सुस्मिताको संस्मरणात्मक अभिब्यक्तिसँगै कथा अघि बढछ्।सुस्मिताको बालापनदेखि तीस–पैतिस उमेर सम्मका घटनाहरू उपन्यासमा सरसरति बगेका छन् ।२०४५ सालको भूकम्पमा सुस्मिताको बाबाको निधन,भाइ श्यामल र शशीको विवाह,सुस्मिता र श्यामल आफ्नो खुट्टामा उभिएपछि आमाको पुनः विवाह आदिलाई मुख्य घटनाहरूको रुपमा लिइएको छ । उसो त सत्या,शशी,उमा जस्ता जिउदा–जाग्दा महिला पात्रहरूको उपस्थितिले यौनलाई आधुनिक नारी मनोविज्ञान बाट हेर्न मदत पुगेको छ ।पाका नारीहरू अजी र आमालाई पुराना तर उदार पात्रको रूपमा प्रस्तुत गरिएको छ ।भक्तपुरको पृष्ठभूमिमा उभिएको “टुँडाल”,आफैमा नारी चेतना र विद्रोहको बिम्ब पनि हो ।नारीलाई भोग्य वस्तुको रूपमा जसरी विश्वमैं लिइन्छ ।त्यसमाथि हाम्रा मन्दिर,देवालयमा राखिएका रतासनयुक्त टुँडालका दृश्यहरूमा नारीलाई अप्राकृतिक र अन्यायी ढङ्गले गरेको यौन शोषणको ठीक विपरीत उपन्यासका नारी पात्रहरू उभिइएको पाइन्छ ।आफूले मन पराएको पुरुषसँग मनलागि गर्न पाउने देखि कुमारी आमा बनेको घटनासम्म उपन्यासले समेटेको छ ।यसै क्रममा यो उपन्यासकी नायिका सुस्मिताले पुरुषले नारीलाई हेर्ने श्रृङ्गारिक दृष्टिकोणको बारेमा यसरी बोलेकी छिन्–

सबैभन्दा दिक्कलाग्दो कुरा त के थियो भने–जतिसुकै पढेलेखेको,भलाद्मी,बौद्धिक र ओहोदाका भए पनि हरेक पुरूषको आँखा हामीमाथि केवल यौनजन्य मात्र हुन्थ्यो ।तिनीहरू सानो परिचयपछि नै एकदम नै आत्मिय हुन खोज्ने,संसारै दिन खोज्ने र भावुक भइहाल्थे ।एकदुई भेटपछि नै रेस्टुरा वा कुनै लामो भ्रमणमा निस्कने प्रस्ताव गरिहाल्थे ।साधारण चिया वा चिसो खान बस्दासमेत नजानिदो पाराले गफको सिलसिलामा झुक्किएझैं गरी हात वा खुट्टाका औंलामा स्पर्श गर्दै पानी जाँच्न खोज्थें ।त्यसबेला भने आफ्नै जीउ आफूलाई घीन लाग्दो अनुभूति हुन्थ्यो ।मानसिकररूपमा जसले पनि जतिबेला पनि छोइरहने,चाटिरहने,चलाइरहन खोज्ने यो शरीर आफैंलाई दिगमिग लाग्ने ग–थ्यो ।

परम्परादेखि उत्तरआधुनिक सम्म,एकल महिलाको पुनः विवाहदेखि गे,लेस्वियन सम्मलाई यो उपन्यासले अत्यन्त रोचक ढङ्गबाट प्रस्तुत गरेको छ ।पाठकलाई कथामा बाँधेर राख्न यस्ले कुनै कसर बाँकी छाडेको छैन ।“टुँडाल”आफैमा ऐतिहासिक विषय भएको हुदा यस्लाई प्रष्टयाउन लेखकले किम्बदन्ती,लोककथा,भनाइ आदिको प्रसस्त प्रयोग गरेका छन् ।जुन जायज पनि लाग्छ । विशेषतःसामाजिक,राजनीतिक,साँस्कृतिक र मनोवैज्ञानिक आयामबाट यस्ले हामी बाँचेको समाजलाई विश्लेषण गरेको छ । यद्यपि,केही राजनीतिक र सामाजिक अबस्था २०४५ सालअघिको देखाइए पनि त्यो अवस्था अद्याबधि विद्यमान छ ।

हिजोदेखि आजसम्म हाम्रो समाजले यौनलाई वर्जित विषय मानेको छ ।यौनलाइ मनोवैज्ञानिक र शारिरीक आवश्यकतासँग जोडेर हेर्नुपर्ने तथ्यलाइ यो उपन्यासले उजागर गरेको छ ।यस्ले साठी वर्षिय पुरूष शर्माजीसँगको सुस्मिताको संसर्ग र अर्कोतिर “छोरी !तिम्रो बाबाजस्तो मान्छे यो संसारमा जन्मदैनन् होला”भन्दै अर्कै पुरूषसँग पुनःविवाह गर्ने आमाको द्धैध अवस्थालाई देखाएको छ ।उसो त नारी यौनवादी पात्र सत्या मार्फत लेखकले,यौनमा हावि हुदै आएको पुरूषवादि शोषणलाई झापड मात्र हानेका छैनन् ।यौनमा नारीले पुरूषलाई अन्य विषय सरह चुनौति दिन सक्छन भन्ने देखाएका छन् ।सत्याको बोली बचन,हाउभाउ,दैनिक क्रियाकलाप सबै ‘बोल्ड’ देखाइनु त्यसैको पुष्टि हो –

‘किन रिसाउँछेस यार !उमेरले के फरक पर्छ ।हामीले कसैसँग केही समय सम्बन्ध राख्दैमा त्योसँग जीवन नै बिताउनु पर्ने गरी बाँधिनु पर्ने हुन्छ र ?अनुभूतिका क्षणहरू आफ्नो इच्छा र रहरभरि जोसँग पनि बिताउन मिल्छ ।यी !म त अचेल धनुसँग छु ।त्यो हामीभन्दा उमेरले कति कान्छो छ त !एउटा पूर्णविकसित लोग्नेमान्छे भइसकेको छ ऊ ।शर्माजीले तँलाई विकसित र योग्य महिला देख्दा धनु मेरा लागि पूर्णपुरुष किन हुन सक्दैन ?मैले सानैदेखि मन पराएकै थिएँ ।तर ऊ मेरो प्रेमी पनि होइन,लोग्ने पनि हुँदैन ।ऊ एउटा केटासाथी हो अहिले ।’

यसरी नै उमालाई बैधानिक बाउबिनाको सन्तान जन्माउने दृढ संकल्पित नारीको रुपमा उभ्याइएको छ ।शशी भने श्यामलसँगको सम्बन्धमा दोधारे मनस्थितिमा देखाइएको छ ।नारी मनोविज्ञानको उत्कर्षमा उपन्यास पुगेकोले पुरुष पात्रहरू श्यामल,रविन दादा,शर्माजी,श्याम सर,प्रविण,अमर आदिलाई सहायक भूमिकामा सिमित गरिएको छ ।बरु,यो उपन्यासले नेपाली साहित्यसंसारका धेरै मूर्धन्य नामहरूलाई पात्रको रुपमा उभ्याएको छ ।यस्ता वास्तविक पात्रहरूको प्रयोगले उपन्यासलाई अझ जिवन्त पार्न मदत पुगेको छ ।विण्णुविभु घिमिरे, डा.सञ्जिव उप्रेति,बैरागी काइँला,उदय निरौला,धुब्र मधिकर्मी,श्यामल,भूपेन्द्र खड्का जस्ता थुप्रै स्रष्टा नामहरू यसभित्र समेटिएका छन् ।उपन्यासभित्र विण्णुविभु घिमिरे,बैरागी काइँला,श्यामलका कविताहरूले त सुनमा सुगन्धनैं थपेका छन् ।

यो उपन्यासको कमी कमजोरी भनेको बोलीचालीको भाषा प्रयोग हो ।यथार्थतताको नाममा केही शब्दहरूको प्रयोग उचित भएपनि,कतिपय पाठकहरूलाई त्यो पाच्य नहुन सक्छ ।अर्को कुरा,भावनाको साइनो केवल यौनद्धारा प्रेरीत हुन्छ भन्नु अलि सार्वभौम लाग्दैन ।किनभने यो उपन्यासले हाडनाता बाहेकको सम्बोधन काका,दिदी,भाइ,दाइ जे जस्तो भएपनि समागम भएका घटनाहरू पेश गरेको छ ।

“टँुडाल”को सफलता भन्नु यस्ले पाठकलाई तानिरहन्छ ।“टुँडाल”जस्तो साँस्कृतिक विषयमा यति मीठो आख्यान त्यो पनि २० दिनमा तयार हुनु असम्भव प्रतीत हुन्छ ।“टुँडाल”जस्तो जटिल विषयलाई धरावासीले नेपाली साहित्यमा यसरी जोडेका छन ।अब यो समाजशास्त्रिय र साँस्कृतिक चासोको विषय मात्र रहेन,यो त अब प्रत्येक घर–घरको विषय बन्न पुगेको छ ।फ्रायडलाई आदर्श मानेर यौनलाई पाश्चात्य आँखाबाट हेर्ने चलनलाई पनि यस्ले अन्त्य गरेको छ ।सबैभन्दा ठूलो कुरा, यो उपन्यास यौनको विषयमा उठान भएपनि अश्लिलता र फोहोरी भद्दापनबाट टाढा छ ।“टुँडाल”विषय र प्रस्तुतिको शिल्प र व्यञ्जनामा पनि सर्वदा नौलो र पृथक अनुभूति हुन्छ ।अन्त्यमा,यस्तो अनुपम कृतिका जन्मदाता,सहृदयी,दार्शनिक ब्यक्तित्व कृण्ण धरावासीलाई मेरो पनि शब्द सलाम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।