19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो शब्द-कथा तपाईंहरु सामू

कविता पुष्प बरुवाल August 17, 2009, 2:32 pm

मेरो नाम देवकुमारी बदिनी

वर्ष एकचालीस

जन्म गाउँ- लेख पराजुल गा.वि.स., वडा नं. १, मनिरामकाँडा

जिल्ला सुर्खेत

देश नेपाल ।

म, एक गरीब परिवारमा जन्मिएकी बदिनी

पेशाले नाची खाने

गाउँका ठालु, मुखिया र हुनेखानेको जीऊमा तेल लागाइदिने

र, उस्तै परे ......!

हुन त म

पाँच वर्षकी छँदादेखि नाचेकी हुँ

घरमा खाने अन्न नहुँदा नाचेँ

आङमा एकसरो कपडा नहुँदा नाचेँ

मुटुको ब्यथाले थलिएका बा'को ओखतीको लागि नाचेँ

मभन्दा सानी बुईनीलाई स्कुलमा पढाउनको लागि नाचेँ

र, यस्तै-यस्तै धेरै परीवेशहरुमा म नाचेकी छु ।

सत्र वर्षकी हुँदा मेरो बिहे भयो

भेरीछालको छेऊमा

एउटा सानो छाप्रो थियो हाम्रो

भदौको मास,

पर्वमा म माइत गएको बेला

राती मुसलधारे पानी पर्‍यो र बगायो बसेरी

बसेरीसँगै सबै बग्यो,

मेरो सिन्दुर पनि बग्यो

अनि म एक्ली भएँ,

अवला भएँ ।

गाउँका चालीस वर्षे ठालु

रामसिँह कार्कीले दया देखाई घरमा बोलाए

गाई गोठमा बास दिए

केही दिन गाँस दिए

जब उनकी जोई माइत गइन्

अनि उनी ममाथि खनिए

मेरो चोलो च्याते

मजेत्रो फ्याके

अनि मलाई लुछे

म लुछिएँ लाचारीमा

र, त्यो रात

मसँगै लुछियो मेरो मृत लोग्नेप्रतिको सम्मान पनि ।

जब म गर्भिणी भएँ

गाउँलेको लाजले ठालू गाउँबाट भागे

मुखिनीले यो कुरा चाल पाइन्

मलाई भुतालिन्, जगल्टाइन्

अगुल्टोले हानिन्

र, बेस्सरी पेटमा कुल्चिदिइन्

म हिलाम्मे भएँ, म रक्ताम्मे भएँ

अन्तत: मेरो गर्भ झर्‍यो

अब मेरो कोही रहेन

अब मेरो केही रहेन

म पूर्णत: एक्ली भएँ ।

.....त्यसैले हजूर,

आज म यहाँ तपाईंहरुसँग गुहार माग्न आएकीछु

तपाईंहरुको फौजसामू न्याय माग्न आएकीछु

अब म सामाजिक कूकर्मको पर्दाफास गर्छु,

तपाईंहरुको साथ चाहिन्छ

अब म सामाजिक अपराधीहरुलाई दण्ड दिन्छु,

तपाईंहरुको सहयोग चाहिन्छ

मेरो भन्नु यतिनै हो .......

.......मेरो भनाई नटुङ्गिदै

जब कमाण्डरले आफ्नो टोपी माथि उठायो

म झस्किएँ

म आत्तिएँ

म चिच्याएँ

म कराएँ

किनकी, त्यहाँ ममाथि उद्दण्डित त्यही हातहरु थिए

मलाई चिथोर्ने तिनै नङ्ग्राहरु थिए

मेरो अस्मितामाथि वूर्कुसी मार्ने त्यही शरीर थियो

जसै मैले देखे त्यो स्वरुप

अनि म भागे र अझै भागिरहेकी छु ।

आज भाग्नु र लखेटिनुको परीवेसमा

म लालिमा हराएको बिहानी जस्ती भएकी छु

निस्सार एउटा काहानी जस्ती भएकी छु

हुनसक्छ, म देशको पीडा भोग्दैछु

माटोको चित्कार चिच्याउदैछु

र, आशातित व्यक्तिहरुबाट च्यातिएको मजेत्रोले लाज छोप्दैछु

र लेख्दैछु यो कवितामार्फत मेरो सवाई ।

मेरो नाम देवकुमारी बदिनी

वर्ष एकचालीस

जन्म गाउँ- लेख पराजुल गा.वि.स., वडा नं १, मनिरामकाँडा

जिल्ला सुर्खेत

देश नेपाल ।

आमस्टरडम, द नेदरल्यान्डस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।