19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हामी मरेपनि हाम्रो अनेसास रहिरहोस्‌

कविता गोकुल भण्डारी August 17, 2009, 3:57 pm

“नेपाली खसको मात्रै, अरुले बोल्नु हुन्न त्यो

पञ्चायती प्रशासन्‌को कालो षड्‌यन्त्र मात्र हो

लादियो यो जबर्जस्ती, गोली ठोकेर माथमा

नबोल्ने जतिलाई चै, बांधियो नेल हातमा “

यस्ता विद्वेषले व्याप्त हल्लाले देश ग्रस्त छ

देश टुक्राउने तत्व यस्तैमा आज व्यस्त छ

अस्ती सम्म थिए हाम्रा देवकोटा, महाकवि

उनै व्यक्ति भए आज, सामन्ती खसका कवि ?

नेपाली जनजिब्रोले मालती मंगले टिप्यो

मुना मदनको रोदन्‌ कस्बाट, कहिले छुप्यो ?

यी दुबै कृति लेखीए नेपालीमै भनेपछी

आज चांहि्‌ अकस्मात, किन दुर्दुर्‌ छिछि छिछि ?

यो सबै क्रोध, अज्ञान, स्वार्थका वशमा परि

प्रतिक्रिया त्यसैको नै देखिदैंछ घरी घरी

फर्की हेर्छन्‌ कुनै जाती, एक्‌ डेड्‌ सौ सालका कुरा

कोही देख्छ्न्‌ कबिलामा हिडेको बन टाकुरा

आफ्नो संस्कृति, भाषाको मोह गर्नु गलत्‌ कुरा

नलागोस्‌ अर्थ यस्बाट, बुझ्ने हो कि पुरा कुरा ?

जगेर्ना संस्कृति भाषा गर्नु् ज्यादै जरूरी हो

किन्तु हौं अग्रगामी र सापेक्षी बर्तमानको

बद्‌लिदै जान्छ भाषा र संस्कृति, देश कालमा

पैलेकै रुपमा फर्कौं भन्नेको आज जालमा

पर्यौं हामी भने हुन्छ, देश टुक्रा छरिबरि

त्यो बेला क्वै हुने छैन, फगत्‌ शत्रु वरिपरि

इन्टर्नेट र कम्प्युटर्‌ टिभी सर्वत्र फैलिए

के सक्छौं झिक्न तिन्लाई ? सबैको बोली भैसके

कर्णालीबाट निस्केको खस्‌ भाषा यसरी बढ्‌यो

अरुलाई लडाएर न कैल्है उच्च यो बन्यो

गुछ्छा हुन्‌ फूलका हाम्रा सयौं भाषा र भाषिका

नेपाली हो सबैलाई बांध्ने धागो समष्टीका

बिना धागो, बिना मियो एकता हुन्छ के गरी ?

टुक्रिए देश जिब्रोमा, आंखामा - जोडनु के गरी ?

आफ्नो सम्बृद्धीको निम्ति आफ्‌नै देश फुटाउने ?

भाइको रिसले गर्दा, शत्रु ल्याई लुटाउने ?

यो भन्दा दुर्नीति के छ ? विरोधाभास झन्‌ कति ?

खुट्टा काटेर उभ्भिन्छु भन्ने मूर्ख कति कति

नेपाली हौ्‌ सबै हामी, छरिए जुन्‌ कुना पनि

भाषाको सेतु चाहिन्छ, बोली बेग्लै भए पनि

एकताको बनोस्‌ केन्द्र, सबैको उन्नति गरोस्‌

हामी मरेपनि हाम्रो अनेसास रहिरहोस्‌

विण्ड्‌सर्‌, क्यानाडा

कृष्ण जन्माष्टमी, २००९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।