18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार कमलमणि दीक्षितसँग कुराकानी

वार्ता कृष्ण बजगाईं August 25, 2009, 4:40 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं. १९८६ भाद्र कुशे औंशीका दिन काठमाण्डौंमा जन्मनु भएका बरिष्ठ साहित्यकार तथा भाषा सेवी कमलमणि दीक्षित नेपाली साहित्यमा प्रतिष्ठित नाम हो । मदन पुरस्कार गुठी, मदन पुरस्कार पुस्तकालय, जगदम्बा श्री पुरस्कार लगायत विभिन्न संस्थामा आबद्ध श्री दीक्षित खरो र प्रष्ट कुरा गर्न र लेख्न मनपराउनु हुन्छ । उहासँग समकालीन डट कमका लागि सम्पादक कृष्ण बजगाईंले इमेलबाट गर्नु भएको कुराकानी ।

१.तपाईं नेपालको प्रतिष्ठित संस्था मदन पुरस्कार पुस्तकालय, जगदम्बा प्रकाशन र रातो बंगला स्कूलसँग सम्बन्धित हुनहुन्छ । यस संस्थाको स्थापना देखि अहिलेको सम्मको कार्य छोटकरीमा बताई दिनुहोस्‌न ।

यी तीनोटा संस्थाहरु आफैमा अलग अलग हुन् । मदन पुरस्कार पुस्तकालयको म संस्थापक र लाईब्रेरियन हुँ । यस संस्थाको अध्यक्ष पनि ऐले म नै छु । जगदम्बा प्रकाशन प्राइभेट लिमिटेड कम्पनी हो, ५३ वर्षअघि मैले खडा गरेको त्यसको पनि म अध्यक्ष छु । त्यसले आजसम्ममा जम्मा ११४ ओटा पुस्तक प्रकाशित गरेको छ । रातो बंगला स्कूलसँग म सोझै सम्वन्धित छैन । तर स्कूलले मलाई आफ्नो 'पेट्रोन' (संरक्षक) भन्ने पदवी दिएको छ । म त्यहाँ नेपाली छन्द कविता पाठ गर्न सिकाउने कक्षा पनि लिने गर्छु ।

मदन पुरस्कार पुस्तकालयका बारेमा बढी बुझ्न त्यसको वेबसाइट www.mpp.org.np मा पस्नु उचित हुन्छ । त्यस्तै रातो बंगलाको बारेमा www.ratobangala.edu.np बाट सबै कुरा बुझ्न सकिन्छ ।

२.यसले सरकारी स्तरबाट कुनै सहयोग प्राप्त गर्ने गरेको छ कि ?

मदन पुरस्कारले सरकारका तर्फबाट कुनै सहयोग पाएको बा लिएको छैन । रातो बंगलाको भने त्यसको 'फाउण्डेसन'ले जिल्लाजिल्लामा चलाएको शिक्षक तालिम अभियानलाई मान्यता (रिकग्निसन) दिएको छ भन्ने बुझेको छु ।

३.मदन पुस्तकालयलाई नेपाली भाषा साहित्यको अनुसन्धानालय पनि भनिन्छ । आजका मितिसम्म केदेखि कोसम्मका के कति सामाग्री संग्रहित भएका छन् ?

यसका बारेमा त माथि १ नंबरमा भने जस्तै वेबसाइटमै पसेर खोज्नुपर्छ । पुस्तक र पत्रपत्रिका संकलनको भने पछिल्लो संख्या दिन सक्छु । मपुपु-मा पुस्तकहरू जम्मा २७६०० पुगेका छन्, पत्रिकाहरूका ५४०० (शीर्षक) । यी सवै नेपाली भाषाका हुन् । नेपालीबाहेक अरू कुनै भाषा यहाँ संकलित छैनन् ।

४.मदन पुरस्कार पुस्तकालयले प्रदान गर्ने मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारको प्रक्रिया के कस्तो छ ?

मदन पुरस्कार पुस्तकालयले पुरस्कार दिदैन । पुरस्कार दिने छुट्टै संस्था छ, त्यसको नाम हो मदन पुरस्कार गुठी । गुठीले वर्षको दुइटा पुरस्कार दिन्छ : मदन पुरस्कार र पुरस्कार जगदम्बा-श्री । मदन पुरस्कारमा पुस्तक पुरस्कृत हुन्छ, जगदम्बा-श्रीमा व्यक्ति । मदन पुरस्कार अघिल्लो वर्ष (विक्रमीय) भरिमा प्रकाशित भएका पुस्तकमध्ये सर्वश्रेष्ठलाई दिइन्छ । तर त्यो पुस्तक गुठीमा पेश गरिएको हुनुपर्छ । लेखक या प्रकाशकले नै पुस्तक पठाउनुपर्छ अरुले पठाएर हुँदैन । जगदम्बा-श्री भने छान्ने प्रत्येक वर्ष एउटा समिति बनाउछ गुठीले । त्यस समितिले सिफारिस गरेको व्यक्ति या संस्थालाई गुठीले जगदम्बा-श्री दिन्छ ।

५.तपाईं आफै पुरस्कार प्रदान गर्ने संस्थाको उच्चपदमा हुनुहुन्छ । तपाईं आफैले चाहीं कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?

मैले पैले पैले एकदोटा पुरस्कार लिएको छु । तर म गुठीको अध्यक्ष भएपछि भने कुनै पुरस्कार या सम्मान नथाप्ने घोषणा गरेको छु । भएपनि महेन्द्र प्रज्ञा पुरस्कार मैले राजा ज्ञानेन्द्रका हातबाट लिएँ र त्यो रकम तत्काल नेपाली शिक्षा परिषद्लाई भानु पुरस्कार अक्षयकोषका लागि चढाएको थिएँ ।

६.तपाईंका अहिलेसम्म कतिवटा कृतिहरु प्रकाशित भएका छन ? मुख्य मुख्य कृतिहरुको नाम उल्लेख गरिदिनुहोस्‌न ।

मेरा कृतिहरू भन्नाले लेखेको र संपादन गरको सबै गन्ति गर्ने गरेको छु मैले । तिनका संख्या ६९ पुगेको छ : संपादन गरेको २२, लेखेको ४७ । तर मेरा कितापहरू सबै निबन्धसंग्रह मात्र हुन्, आफै समग्र किताप होइनन् । त्यस्तोमा कुनलाई मुख्य भन्नु ? मैले भन्ने गरेको छैन ।

७.नेपाली भाषा तथा साहित्यका लेखन,संरक्षण र सम्बर्द्धनमा लागेर के पाउनु भयो र के गुमाउनु भए जस्तो लाग्छ ?

मैले मान पाएँ, प्रतिष्ठा पाएँ र सबभन्दा ठुलो कुरा आत्मसन्तोष पाएँ । गुमाएको केही छैन अलिकति द्रव्य (पैसा) बाहेक ।

८.अहिलेको संक्रमणकालीन अवस्थामा भाषाको खिचलो देखिएको छ । अब बन्ने संविधानमा नेपाली भाषाको अवस्था के होला ?

त्यो अन्योलमा छ । तर नेपाली भाषाको पहिलेको सम्मान यो नयाँ बन्ने संविधानले कायम राख्ने ढाँचा देखिदैन ।

९.अब बन्ने संविधानमा नेपाली भाषा तथा साहित्यका बारेमा कुनै कुरा सुनिश्चित गरिनु पर्छ कि ?

साहित्यका बारेमा त होइन, नेपालीभाषाको सम्मान अक्षुण्ण रहनुपर्छ भन्ने मेरो धारणा छ ।

१०.नेपाली भाषाकै कारण अन्य मातृ भाषा उपर दमन गरियो, विकाश हुनै दिईएन भन्ने आवाज यदाकदा सुनिन थालेको छ । तपाईंको विचारमा यसमा कतिको सत्यता छ ?

यसमा कुनै सत्यता छैन भन्छु म । नेपाली भाषा राष्ट्रव्यापी रूपमा प्रचलनमा आउनुमा बाहुनछेत्रीको भन्दा बढी हात जनजातिका ती असंख्यको गोर्खाली सिपाही, जवान, लाहुरेहरुको छ भन्ने मेरो धारणा छ ।

११.नेपाली भाषा तथा साहित्यका विकाश गर्न के के काम गर्नु पर्ला ? यो काम कस्ले र कसरी गर्नु पर्ला ?

के गर्ने ? प्रत्येक पढेलेखेका नेपालीले कममा पनि एउटा पुस्तक लेख्ने जुनसुकै विषयको भए पनि । अनि पढेलेखेकाहरु प्रत्येकले वर्षको कममा पनि दुईटा नेपाली किताप, किन्ने र पढिदिने । यत्ति गरे पुग्छ । कल्ले गर्ने ? सबैले । कसरी गर्ने ? आ-आफ्ना तरिकाले ।

१२.अन्तर्राष्ट्रिय स्तरमा हाम्रो नेपाली भाषा साहित्यको अवस्था र स्तर कस्तो देख्नु भएको छ ?

मलाई विश्व-साहित्यको ज्ञान छैन । तर नेपाली भाषामा प्रकाशित केही पुस्तक निश्चित रूपले विश्व-साहित्यका टक्करका छन् भन्ने मलाई लाग्छ । तर म यस विषयको विज्ञ होइन ।

१३.अन्तर्राष्ट्रिय स्तरका अन्य भाषाको समकक्षमा नेपाली भाषा साहित्यलाई पुर्याउन के गर्नु पर्ला ?

पहिले त नेपालीमा लेखिएका उत्कृष्ठ पुस्तकलाई अन्तर्राष्ट्रिय भाषाहरुमा अनुवाद गरूँ र विदेशी कान आँखामा पुर्‍याऊँ । नेपाली कविलेखकहरुले पनि अरु साहित्यको अध्ययन गर्नु म आवश्यक देख्छु । 'मै ठीक, मेरै ठीक' भनेर बसेर हुदैन । मैले अनुभव गरेको कुरा हो-हाम्रा साहित्यिकहरुमा अन्य साहित्यको ज्ञान न्यून छ । मेरो आफ्नै त्यस क्षेत्रमा मनग्गे प्रवेश छैन, अरूलाई के भनूँ ?

१४.यो कार्यको थालनी कसले र कसरी गर्नु पर्ला ?

यो कार्यको थालनी पैले त हामी आफैले गर्नुपर्‍यो । नेपाल प्रज्ञा प्रतिष्ठानको पनि ठूलो भूमिका हुन सक्थ्यो यस दिशामा । तर प्रज्ञा आफै अन्योलमा छ । गैरआवासीय नेपाली संघ संस्थाले पनि यता यस्सो चियाइदिए हुन्थ्यो । तर उहाँहरुको एजेण्डामा भाषा र साहित्य पर्छ जस्तो लाग्दैन । भनेपछि बाँकी रह्यो को त ? तपाई र हामी न हो ?

१५.अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली भाषा साहित्यका लागि केही काम भएको थाहा पाउनु भएको छ की ?

मैले थाहा पाएसम्म इन्टरनेट चल्न थालेपछि तपाईकै जस्ता 'डट कम' हरूले निकै ठुलो सहयोग पुर्‍याइरहेका छन् । क्यै न क्यै भैरहेको छ प्रवासमा भन्ने आभास हुन्छ । तर यिनलाई समन्वय गर्ने संस्था देखिएको छैन । धेरैलाई यसबारे थाहै छैन ।

१६.के डायोस्पोरा साहित्य, प्रवाशी साहित्य र मूलधारको साहित्य नेपाली साहित्यका अलग अलग बाटाहरू हुन् त ?

यसमा मेरो उत्तर हुदैन । यस विषयका ज्ञाता हुनुहुन्छ डा. गोविन्दराज भट्टराई जस्ता विद्वान्‌हरू । उहाँहरुलाई सोध्नुपर्छ ।

१७.अन्तमा समकालीन साहित्य डट कम मार्फत नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?

पाठकलाई के भन्नु ? यो साइट बीचबीचमा खोल्नुस् र पढ्नुस्, तपाईंलाई फाइदै हुन्छ, नोकसान हुदैन भन्छु । तपाइहरूलाई पनि भन्नु छ : ठुलो काम गरिरहनु भएको छ । नछाड्नुस्, यसलाई निरन्तरता दिनुहोस् । अनि, तपाईहरुको नेपाली 'टाइप' राम्रो आउदैन मात्राहरु अगाडिपछाडि हुन्छन् । कुनै कुनै वाक्य 'ओभर प्रिन्ट' पनि भएर आइपुग्छन् । पढ्न गाह्रो हुन्छ । यसलाई सच्याउने प्रयास होस् । यत्ति !

२४ अगष्ट २००९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।