19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घाउका रङहरू

कविता मनोज बोगटी August 30, 2009, 7:28 am

... अझसम्म पनि

सिञ्चेलले

आफ्नो अनुहारको रङ देख्न सकेको छैन।

त्यहॉं टल्किएको छ

कान्तिहीन घामको पुरुषत्व।

तरूणी चियाका पातहरूका

फैलिएका अङ्गालो देखेर पनि

उत्तेजित हुन नसकेका

घामका जुङ्घाका रेखीहरू जस्ता लाग्ने युवा किरणहरू

निभ्दै गइरहेछन्‌।

आँगनमा गजधम्म बसेको छ

खड़ेरी।

*

•युवाहरूको माथ्लो ओंठमा

जुङ्घाका जस्ता किरणहरू प्रष्ट छन्‌

जसले बोकेका छन्‌

बलजफ्ती

गह्रौं स्वाभिमानको नरकंकाल ।

रातो माटोमा चिप्लिने खेल्दा-खेल्दै

हुर्किएका ती युद्धहरू।

प्रत्येक युद्धको अनुहार माटोसित मिल्छ।

माटोले जो लुकाएको छ

युद्धहरूका उज्याला ती सपनाहरू

छातीमा।

खेत जोत्दा-जोत्दै ढलेका

ती पसीनाहरूको सम्झनामा

हल्लिबस्ने लुङदरको टुप्पोमा

बस्न सजिलो छ गिद्धलाई।

खड़ेरीको मौसममा

सपनाहरू

गर्भपात गर्दै बस्छन्‌।

माटोको आँखालाई

रतन्धो सङ्गीत सुनाउँदै बस्छ

समय।

•अझसम्म पनि

झरेका ती टोपीहरूको सम्झना लुकाएर बॉंचेको

देउरालीमा

ब्वॉंसोहरू आउँछन्‌

नन्दीग्रामको निम्ति कुन्नी के-के लेख्छन्‌

दार्जीलिङतिर फर्किएर।

त्यहींबाट शब्दहरू

आफु लुटिएको वैराग गाउँछन्‌।

त्यो गीतलाई विद्रोह हुरीले आङमा बोकेर

गाउँ पुर्‍याउँछ।

सबैले नै सुन्छन्‌

मृत्युवाचकले सुनाएको

आफ्नै अनुहारको समाचार।

छाम्दै बस्छन्‌ गाउँहरू

सिमाना लुटिएको अनुहारको डील डॉंड़ा।

औंलाहरूले छाम्छन्‌

भॉंच्चिएका घाउका टुक्राहरू

जो

अक्षरहरूका पाप्रा भएर छन्‌ निधारमा।

कस्तो कहाली उठेको छ

गाउँहरूको गाउँमा

अँट्‌दैन त्यो

देशको चश्मामा।

*

•नयॉं जिल्दमा आएको छ अहिले

छातीहरूको संस्करण

जसको पृष्ठैपिच्छे

कालो अनुहार पारेर बोल्नै नसक्ने गरी बसेका छन्

‌लुते शब्दहरू।

आफ्नै अनुहार थेग्न नसकेको पीड़ा गाउँदै

सर्कस देखाउन सधाइएको हात्ती जस्तो

कुन्नि कुन इमान्दारिता देखाइबस्छन्‌ शब्दहरू।

अझसम्म

के के भन्न नपाएको

गाउन नपाएको

के के खोल्न नपाएको

मादलको धिङताङ थुनिएको छ

छात्तीमा।

कस्सैले देख्दैन त्यो(?)।

शब्दहरूका ती काला अनुहार पछिल्तिर लुकेको अँध्यारो विम्ब

अझसम्म झरेको छैन

भूँइमा।

अहो!किन फर्केनन ‌ एकसाथ

क्राइष्टलाई अङ्गालो मार्दै हाम्रो कृष्ण?

*

•कृष्ण जस्तै काला रातहरू जो

कालै काफन ओढ़ेर छन्‌

अन्धकारबाट आफुलाई बचाउन।

सन्त्रासित छन्‌

असुरक्षाको साइरन बजिरहने

झॉंक्रीहरूको देशमा

हाम्रा उज्यालाहरू।

कुनै जोखाना टिप्न नसकेको बाध्यता

बल्झिबस्छ जहिलेसुकै

चुहुने छानुमुनि बॉंच्दै आएका

बोनबोहरूको गाउँमा।

उज्यालो जति चुहिसकेको कागज जस्तो सेतो

उभिन्छ

कञ्चनजङ्घा

समयको साक्षी दिन।

किन टिप्न सकेनन्‌ त्यसलाई क्यामेरामा

कालो गगल्स टाउकोमा झुण्डाएर आएका

आफ्नै राज्यका टुरिष्टहरूले?

*

•आतंगवादी अन्धकारहरूबाट लुकाएर अचेल

घाम जस्ता सयपत्रीहरूले

पर्चा बॉंड्न थालेका छन्‌

गाउँमा।

(घाम लाग्छ अब ?)

के के लेखेका होलान्‌

घाउहरूले

जब दुख्नै छोड़ेपछि।

रगतले लेखेको देश

मुट्ठीमा बोकेर

बॉंच्दै आएका ती कोपिलाहरूले

जब हॉंस्नै पाउँदैन।

धेरै वर्ष ओथ्रा बसेका सपनाहरू

अब फुट्‌ने हुन्‌ कि!

जब देश हिँड़ेर गाउँ आउन सक्तैन

तब देश विकलाङ्ग कि गाउँ?

जब कि गाउँले बाटेको दोरीले नै

बॉंधिएको छ देश।

*

•सुनाखरीको छातीमा लागेको

धोकापूर्ण कॉंड़को तीखोबाट

चुहिरहेको छ

इतिहासको रङ।

त्यही रङ छालामा दलेर

बॉंचेको छ

लालुपातेको पातमा आमैको आँशु।

*

अन्धकारको सुरूङ खन्ने

मिर जफरका औंला काट्‌न

हातमा लिएका छन्‌ सिरूपाते

शब्दहरूले।

शब्दहरूको पनि धार पलाएको छ।

धेरै वर्षको भूमिगत यापन पछि

कविताको पाखुरामा पनि बल पलाएको छ।

कविताले त्यो कोमलतालाई गालेर

तयार पारेको

चट्टान छाती

अहिले

गाउँका सबै युवाहरूको कमिजभित्र लुकेको छ।

उज्यालिँदै आएको छ

गर्भवती हिमालको निष्कलंक अनुहार।

आँगनको डीलबाट नै टॉंगिएको तारमा

पहरा बसेका फाटेका चौबन्दी-फरियाहरू

गाउँदैछन्‌

अनुहारको नयॉं गीत

.... आइज घाम यो माटोको घाउ सुकाइदे

रोइरहेको टिस्टाको पीर गहमा लुकाइदे।

चुल्ठोमा गुरॉंसका सपनाहरू खिलेर

हत्केलाका घाउहरू कोट्याइरहेका छन्‌

बस्तीका फुटेका खालीखुट्टाहरू।

ओंठको रातो रङ त्यो

लिपिस्टिकको हो र

लालुपातेको?

केशको त्यो पहेंलो-सेतो रङ

गार्नियरको हो र

चमेलीको?

(मल्टिकलर्ड विज्ञापनहरू गाउँ चढ़ेकै थिएन जब।)

जतिबेला चियाका पातहरूले

आफ्नो मौसम मागेको थियो

सुन्दरता मागेको थियो देशलाई।

कुलैनका फुलहरूले

वसन्त मागेको थियो देशलाई।

पहाड़को ओंठमा जुन खड़ेरी झरेको थियो

एक लहर मुस्कान मागेको थियो।

बड़रको रूख अनि दार्मी गाईको थुनले

ती ओंलाहरू मागेका थिए

जसले लेख्न सक्थ्यो

नेपाली अक्षरमा माटोको सुवासलाई।

माटोको सुवास जो

बज्न चहान्थ्यो शिरको टोपी हल्लाउँदै

मचुङ्गाको धुनमा।

-त्यो सपना मात्र थिएन

आँखाहरूले अनिंदो बसी-बसी ओथ्राएको

विपनाको एक-एक चिङ्‌ना थियो।

हुन त सपनाको कुनै भूगोल हुँदैन

इतिहास हुँदैन।

सपनाको रङ पनि हुँदैन, आकार पनि हुँदैन

त्यसैले सपनाको घर पनि हुँदैन।

एवोर्सन गरिएका सपनाहरूको पनि

एउटा पहाड़ै छ।

जहॉंबाट बग्छ

एउटा आत्महारा दुर्गन्धको विरक्त गीत।

पर्खिरहेछन्‌ अझ्झ

सड़कहरू

टोपीहरूका कलिला पदचिह्नहरू।

वसन्तहरू

गुप्तवासमा छन्‌

सुनाखरीहरूलाई रातो फरिया सिउँदै।

शिशिरहरूले आँगनको डील-डील

रोपेका छन्‌

बाबरी फुलको बोट।

( कुन पर्व आउँछ अब ?)

लाटा गाउँहरू भने

खबरकागज लिन शहर पसेका छन्

‌बुढ़ी आमालाई

उसको अनुहारको समाचार सुनाउन।

(अखबारका शब्दहरू जो

कॉंपिरहेका छन्‌।

खाममा थुनिएका

जवान छोरोको मृत्युको सूचना हातमा बोकेर।

शब्दहरू

यसरी कठोरिँदै आएको कति भयो?

गाउँहरूको सपना

कति चोटी खसिसकेको छ गुलाबको फुलबाट

भुईंको धूलोमा।

अलिखित छ सपनाको इतिहास।

(किन गाउटग्रस्त छन्‌ शब्दहरू?)

लुती चियाको पात

ओड़ेको घुम अलिकति उचालेर हेर्छे

कञ्चनजङ्घामाथि चिच्याइरहेको

कालो बादलको अनुहार।

क्रोध हो कि त्यो

ग्लानि हो कि!

नबुझेर चियाका फुलहरू अलमल्ल पर्छिन्‌

छोरा-छोरीलाई

त्यही अन्योलता सुनाएर

सुताउँछिन्‌।

चियाका फुलहरूले सपनामा देख्छन्‌

आँगनसम्मै आइपुगेको घामलाई।

मलेरिया लागेको कुलैनको पहेंलो पात

रातभर आमा1 पढ़ेर बस्छन्‌।

उज्यालो भइसक्दा सुकिसकेको हुन्छ

हत्केलाको रगत।

खण्डहर जस्तो कुलैन फ्याक्ट्री

लेखोकेको एकोहोरो आवाज

रातभरि फैलिबस्छ

चेतनाको सिमाना छुन।

पुनारावृत भइबस्छ

यो कथा

गाउँले सभाहरूमा।

बस्तीहरू सब्जी बेच्न शहर झर्दै गर्दा

बन्दको चपेटमा परेका सपनाहरूको बिल्लिबॉंठ

बाटैमा सुनाउँछ

आधा बाटोबाट नै फर्किएका लुते विपनाहरूले।

खेत, बारीको आङमा

कतिवर्षदेखि खोप्दै आइरहेको छ

आतंककारी राजनीतिको शिलालेख।

हात्तीको खुट्टा जस्तो बलियो हुकूमको डरले

भुटेका मकै र डल्ले खोर्सानीहरू गुनासो साट्‌छन्‌

खेतालापातमा।

गाउँलाई सेप्टिक जस्तै दुख्छ लाटो घाउ।

नदुख्ने घाउको त भाषा नै हुँदैन।2

लाटो हुनु भाषा नहुनु त हो।

दुख्दा-दुख्दै पनि नदुखेको हुनु

कसले सिकायो घाउहरूलाई?

घाउ हुनु दुख्नु हो र?

घाउहरू फुटाएर निस्किएका छन्‌

अक्षरहरू। अहिले।

घाउका रङहरू टल्किएको छ

रगतको उज्यालोमा।

घाउ फुटेको आवाजले

ब्यूँझिएका छन्‌

शहीद वेदीहरू

शब्दहरू

घाउ च्यातेर आएका छन्‌ बाहिर।

आमाको काख भोग्न नपाएका ती बालखा सपनाहरू

यसरी चर्किएको छ

निस्कन तयार छ विपनाको अनुहार।

त्यो शब्दको अनुहार

सयपत्रीसित मिल्छ

चौबन्दीले पोको पारेर राखेको मानचित्रसित मिल्छ

जुन मानचित्र फाटेको चौबन्दीबाट

निस्कन खोजेको युगौं भयो।

27 जुलाईहरूले चुटेका नीलडामहरूसित नै

बॉंचेको

बाजेको धुलो लागेको सपना

शहीदवेदीलाई ढोगेर जो निस्किएको छ अब।

त्यो प्रत्यागमन

बाइबल, महाभारत वा कुरानको

कुनै स्वैरकल्पना होइन।

टिस्टाको पानीले अनुहार धोएर आएको सपनाको विम्ब

शहीदको आमाको मनको गॉंठोसित मिल्छ।

भर्खर उम्रन थालेको मकैको बोट

छोएर आएको हावाले

के को सुगन्ध छर्छ?

अब मैदान उत्रेका शब्दहरूले लेख्छन्‌ यसलाई।

दिनहरू अहिले

अँध्यारो ज्याकेट खोलेर बसेका छन्‌

टिस्टा-सुनकोशको बगरैबगर।

रातहरू

मनभरि पीरको रङ दल्दै बसेका छन्‌

समयको क्यान्भसमा

टल्किएको कञ्चनजङ्घा लेख्न।

एकान्तमा

सितार बजाउँदैछ

गाउँहरू सुन्छन्‌।

माटोको सतहबाट बगेर आउँछ

अनुहारको गीत।

सुकेका खेतका ओंठहरूमा भन्किएका

हरिया झीङ्गाहरूको जुलूस छ।

घाउहरूको पीढ़ागीत सुन्दै अझ पिउँदैछन्‌

मीरजफरहरू

चियाको पातबाट चुहेको गाउँको रगत?

गाउँका घाउहरू टेक्दै आउने

पर्यटकहरूको ह्याण्डिक्यामले समात्न नसकेका जीवनका विम्बहरू

एक्लै फुल्छ, झर्छ। यो जङ्गलमा।

टिस्टाले दुवैतिर बाटेकी किनाराबाट

मग्मगाएर आउने

इन्द्राणी र गङ्गामायाहरूको काखीको गन्ध

मीठा मात्र लाग्छन्‌ बजियाहरूलाई।

बिहानै कचेरा पुछ्‌दै पहरामा बसेको

कञ्चनजङ्घाको बाङ्गिएको टोपीको फोटो खिच्छन्‌ मोराहरू।

आफ्नो दूधको मूल्य तोक्न नसकेकी

बज्यैहरूका चाउरीहरूमा

लुकेर बसेका लाटा शब्दहरू

चौरस्तामा बज्ने घोड़ाको टापबाट निस्कन्छ

अनि बतासेको लुपमा हराउँछ।

कति राम्रो कथा हगि यो?

वद्माश गणतन्त्रले पट्टी बॉंधेको छ टाउकोमा

युग जस्तै लामो पालेको छ केश

र बगलीमा छ छुरी।

निर्धाहरूको आङमा नीलडामहरूको घर बढ्दै जान्छ

घाउहरूको गाउँ बढ्दै जान्छ।

सातो हराएका छिप्पट शब्द

चुपचाप बारी खनिबस्छ

हातमा बीऊ नबोकी।

अहो!

किन उज्यालिँदैन शब्दहरूको झोपड़पट्टी?

डॉंड़ामा समय खपेर बसेको चिलाउनेको रूखपछि

लुकेर हेर्छ जुनघाउहरूको लुब्दो इतिहासको वंश।

जुन इतिहासमा युद्ध छैन

माटोको सुवास पनि छैन।

खुकुरीले लेखेको तासपत्ताको इतिहास

भत्किँदो रहेछ हगि?

हुरीहरू आफ्ना नहुँदा रहेछन्‌

हुरीको विश्वास नहुँदा रहेछन्‌।

हुरीमा विश्वासको कुरा नै पो के कुरा र हगि?

जब घाउ फुटाएर बाहिर आए शब्दहरू

छातीको आँखामा चमक आएको छ।

कानून लगाउन सकेन सरकारले

शब्दहरूलाई।

सरकारले

हिमाललाई टल्किनबाट रोक्न सकेन

टिस्टालाई बग्नबाट छेक्न सकेन।

पहाड़हरूको बीच भएर बग्ने कुइरोलाई

गोली ठोक्न सकेन।

हिमालबाट झर्ने झरीमा

जहिले पनि मुसा जस्तो भिज्छ सरकार।

च्यातिएको अस्तव्यस्त चियाबारीको चोली

पसीना पुछ्‌दा रङ हराएको कुलैनबारीको टोपी

भोक्कै टोयट्रेनमा ओहोर-दोहोर गरिरहने

तिनीहरूका सपना भन्दा ठूलो

हुनै सकेन

सरकारको राजनीति।

1986 को हातबाट लगाइएको कोर्राको दागसितै

जवान भएका घायल ती कलिला अक्षरहरूसित

किन आह्रिस गर्छ सरकार?

गोलीले भेटेका शहीद अक्षरहरूको सपना फुलेको

किन रिस्‌ गर्छ सरकार?

आखिर

हिलोमा झरेको बीऊ उम्रन्छै-उम्रन्छ

हिलो खुनकै होस्‌ न चाहे।

बले-बिरेको अनुहारको चाउरीमा

घाम लागेको

मन नपराउने सरकारको त्यो कालो अनुहारको ब्ल्याकबोर्डमा

चमेलीले जुन मानचित्र कोरी

त्यसलाई नै अनुत्तीर्ण किन बनाइयो मुख्यमन्त्री?

वार्षिक परीक्षा नजिक पठाइएका पाठ्य पुस्तकबाट नै बटुलिएका अक्षरहरूले

जुन आवाज लेखियो

अब त्यसलाई मेट्‌न सक्छौ र राज्य सचिव?

चियाका पातहरूले गीत गाएको

मन पर्दैन सरकारलाई

भाइचुङ भोटिया मादलमा नाचेको

मन पर्दैन सरकारलाई।

टोपीले

पसीना होइन

भाग्य पुछ्‌दै बॉंचेको इतिहासले

घर बनाएको मन पर्दैन सरकारलाई।

सरकारले हिमाललाई सपना देख्न त रोक्न सकेन

विपना देख्न पनि रोक्न सक्तैन।

आमाको फरिया च्यातिन्छ, तर

फरियामा लुकाएर राखेको सपना च्यातिन्न।

हिमालको मन

पैह्रो पीढ़ितहरूलाई बॉंड़िने प्लास्टिक होइन

जो सरकारको षड्यन्त्रले च्यातियोस्‌।

हिमालको मन हिमाल नै हो जहॉं

सबैभन्दा पहिले चुम्छ

इमानको घामले।

सरकार सयपत्रीको फुलसित हारेको छ

सुनाखरी र धुप्पीसित हारेको छ

अरू त के

कुइरो र जाड़ोसित हारेको छ

खोल्साको पानी र रूखसित हारेको छ।

सरकार त डॉंड़ा जत्रो अग्लो पनि छैन

झर्ना जस्तो सङ्लो पनि छैन।

.... हुन त सपनाको कुनै रङ हुँदैन

सिमाना र आकाश पनि हुँदैन।

शहीदले भन्दा पनि धेरै मृत्युलाई

छातीमा सहेकी आमाको सुकिसकेको स्तनले मागेको सुरक्षा

शहीदले भन्दा पनि धेरै रगतआँखाबाट झारेकी

उजाड़ सिउँदोमा कञ्चनजङ्घा थामेकी

बुहारीको अपुताली कोखले मागेको मूल्य

सपनाका यी नै रङहरूले त लेखेर राखेको छ

आँखामा।

बॉंच्ने उत्साहमा नै त

सपनाहरू अस्तित्वमा छन्‌।

मृत्युको सपना हुँदैन।

सपना आफैमा कति घायल छ।

सबै घायल सपनाहरूले

बुद्धको काख पाउँदैनन्‌।

सपनाको कुनै कविता नै हुँदैन

आकार र आयतन हुँदैन।

कविता नै नभएको

आमाको अनुहार

र सिउँदो कस्तो हुन्छ?

शब्द नै नभएको

बाबुको छाती कस्तो हुन्छ?

नाती-नातिनीको निधार कस्तो हुन्छ?

कारागारमा बसेका

सपनाहरूले

झेलेका छन्‌

विपनाको तिर्खालाई।

(माटो नहुनु, कारागार भन्दा ठूलो हो र?)

निधारले उन्यू फुलाएको धेरै भयो।

बुढ़ो कृषकको आँखा फुला परिसकेको छ।

पसीना फुलेको छैन।

पसीनाले पनि माटो पायो भने मात्र

उम्रन सक्छ फुल्न सक्छ।

पसीनाको सुवासको लोककथा

पसीनाको दुःखहरूको आदिकथा लेख्ने

कविलाई पनि त चिहान चाहिन्छ।

जसको आँगनमा पसारिएर युगौंदेखि पुरानो इतिहासको घाउ

अझ चाट्‌दैछ

कुकुर समय।

घामखैनी माड्दै बस्छ

चिसोमा कक्रिएर मरेको अँध्यारो छेउमा।

अन्धकारको निम्ति

जुनकिरीहरू आए, गए।

आफै लाई मात्र बाटो देखाउने जुनकिरीहरूको

विश्वासमा

औंसीहरूले कहिल्यै देखेनन्‌ रामको उज्यालो अनुहार

न देखे उज्यालोको रामराज्य।

अँध्यारो भनेको

कालो मात्र होइन।

कालो र सेतोबीच युद्ध नै हुँदैन।

दुख्न जान्यो भने मात्र

घाउ, घाउ हुन्छ।

नदुख्नेलाई छाती के हो?

दुख्नु भनेको मर्नु होइन

दुख्नु भनेको

सम्हालिएर बॉंच्नु हो

हिँड्नु हो।

लड्यो भन्दैमा लक्ष्य भाग्दैन।

लड्नुहरूको अधिकार हो लड्नु

जीवनमा।

जीवनमा लड्दै नलड्नुलड्दै नलड्नु के हो जीवन?

रून जान्यो भने मात्र

आँशु, आँशु हुन्छ

हार्नु जान्यो भने मात्र

युद्ध, युद्ध हुन्छ।

दुख्न घाउ चाहिन्छ

घाउलाई छाती।

घाउका रङहरूले टल्किएको हिमालले

साउँ अक्षरले लेख्न थालेको छ आफ्नो अनुहार।

(यो इतिहासमा गन्हाउने रगत

ती नै कलिला अक्षरहरूका हुन्‌।)

घाउहरूले भाषा पाएको छबोल्न सक्छन्‌

अब संविधानलाई सिकाउने छन्‌ अधिकारको पाठ।

आँगन-आँगनमा भेला भएका छन्‌

गाउँभरिका ठेलाहरू।

धेरै वर्ष नबोलेका गन्हाउने सासहरूले

रङ पाएको छ।

भुकुल्ले बिहानी खेलिरहेछ माटोमा।

अहिले कमसेकम शहीदवेदीको टुप्पोमा बसेर

काग कराउन त छोड़ेको छ।

अहिले जुन तरङहरूको भेल उर्लेको छ

त्यसको कुनै सिमाना छैन।

त्यो भेल मुट्ठीमा बोकेको गीतले

के-के भत्काउँछ अब।

गीतलाई रिस्‌ उठ्‌दा

कत्रो भूकम्प हुन्छ भने

देश पनि ढल्छ।

बॉंध नै फुटेपछि

शब्दको आँधी उठ्‌छ।

शब्द फुट्‌दा

कस्तो पैह्रो चल्छ भने

कारागार नै पुरिदिन्छ।

त्यो आँधीले मुट्ठीमा बोकेको आवेगले

के-के बिगार्छ अब।

माटो नहुनेलाई

कृष्णचुँढ़ाको बिजनको माने हुँदैन

न कॉंस फुलेको थाहा हुन्छ।

जब गीत लाटो बन्छ

गाउँ लाटो हुन्छ

लाटा गाउँहरूको हात समातेर

कति माथि उठ्‌छ र देश।

देशको माया अझ बजाउँछ रामसिंह

अनि गाउँछे लता।

नलेखिएका इतिहासको दस्तावेज बोकेर

शब्दहरूले

ती नै गाउँहरूको गाथा सुनाइरहेछ अहिले

देशलाई।

अहिले आफ्ना अनुहारको मानचित्रमा

छर्किरहेछन्‌ विद्यार्थीहरू

घाउका रङहरू।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।