उसले सोचेको थियो– 'यो संसारमा सबैभन्दा ठूलो देउता नै हो। देउतालाई खुसी पारेपछि, आफूले चाहेका सम्पूर्ण इच्छाहरु पूरा हुन्छन्। अरु केही नै गर्नु पर्दैन।'
त्यसपछि उसले देउतालाई खुसी पार्न अनेक कोशिश गर्यो। पूजा गर्यो, प्रार्थना गर्यो, नैवेद्य–भेटी चढायो, भाकल गर्यो। सम्पूर्णमा देउँतामै लीन राख्यो आफूलाई। तर पनि उसले चाहेका सबै इच्छाहरु पूरा भएनन्। आफ्नो यत्रो कोशिश परिश्रम व्यर्थ भएपछि उसलाई देउताप्रति नै अनास्था पैदा भयो। देउतसँग असाध्यै रिस उठ्यो। उसले थुक्यो, गाली गर्यो, भत्कायो देउताको आसनलाई। यद्यपि देउताले उसलाई केही गरेन।
यसरी पूजा गर्दा पनि, गाली गर्दा पनि देउताले केही नगरेपछि उसलाई आश्चर्य लाग्यो देउताप्रति ने। आखिर देउता के हो त? किन यसले पूजा गर्दा पनि केही गर्दैन? र गाली गर्दा पनि केही गर्दैन? यो प्रश्नको समाधान नभेटेर ऊ व्यग्र रह्यो। यताउति भौतारियो धेरै वर्षसम्म पनि।
एकदिन उसमा एकाएक देउतालाई चिनेको अनुभूत भयो– 'यसैले त देउता देउता भयो। यसरी पूजा गर्दैमा खुसी हुने र गाली गर्दैमा रिसाउने भए त देउता र मान्छेबीच फरक नै के रहन्थ्यो र?'