19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इशारा

लघुकथा नर्मदेश्वरी सत्याल August 30, 2009, 5:37 pm

ऊ टक्क उभियो। मैले कर्के आँखाले नियाले। ऊ कृत्रिम पोखरीमा बाँकटे हान्न तम्तयार देखिन्थ्यो। सुडौलो शरीर, कुमसम्मको पुत्ले कपाल, कानमा मुन्द्रा, आँखीभौँमा टप, आँखामा गाजल, भ्याङलो सर्ट, जाँघ लत्रिएको पेन्टमा पेटी, औँठीसौँठी, त्यान्दाङ्गतुन्द्रुङ्ग केके हुन्, बुटजुत्ता र हातमा चुरोट धूवाउँदै, मानौँ त्यो आयातीत विकासवादी ठिटो जो आधुनिकतामा गमक्क छ।

म विद्यालयबाट थकित भएर दुईतिर पोका झु48ड्याई घर फर्किदै हुन्छु। पल्लो चोकबाट टिन एजभित्रका दुई केटी मुखामुख गर्दै ऊतिर मोडिए। मैले हात गलेको भानपारी पोका बिसाए र तिनीहरूलाई पनि नियालेँ। शरीर दुई फ्याक देखिन्थ्यो। माथिल्लो फ्याकमा पाङ्ग्रे चाउचाउ कपाल, एउटीको कानमा चुरा, अर्कीकोमा लहरो, आँखामा लाली, ओठमा गाजल, अरू दलदाल त्यस्तै। झल्के बुटिसको साजसज्जाले स्वतन्त्रताको परिचय पाइन्थ्यो। तल्लो फ्याकमा सभ्यताको प्रतीक बनेर नाइटो इशारा गर्दै थियो – “म एक्काइसौँ शताब्दीको नाइटो! अभाव र विकास मागिरहेछु।” अचानक मेरा आँखा पुनः नाइटोमुनि एकोहोरिए। एक तिहाई हिपमा झुण्ड्याइएको मिनीस्कट, कागेजुत्ता र चबके हिँडाईले ठ्याक्कै इन्द्रकी अप्सराको झझल्को दिलाउँथ्यो।

म पोका टिप्न लाग्दै हुन्छु, तल्लो गल्लीबाट आँखा तन्काउँदै तीन भाइ केटा निस्किए। मेरा कानमा स्वाट्ट आवाज छिर्‍यो – कस्ता च्वाँक यार! त्यो त यतै बसेछ क्यार! मोवाइलबाटै रेष्टुराँमा अडर गरिसकेँ, अझै दुईटी देख्तिन। ट्युसन सकिँदा त फर्किनुपर्‍यो नि। बेलामा नपुगे मार्छिन् यार मेरी आमाले। ओइ, बाउ नि! बाउ त सधैँ आधा रातमा ........। म झस्किँदै हिँडे। परबाट रेष्टुराँ मालिक आँखाले इशारा गर्दै थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।