17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यात्रा उही माईपोखरीको: लेखोट फरक

नियात्रा डा. सुमन राज ताम्रकार August 31, 2009, 10:33 pm

नियात्रा साहित्यमा मैले नौलो प्रयोग गर्दैछु । भयो के भने यात्रा प्रसङ्ग एउटै हो तर सिर्जना भने फरक समयमा गरिएको । माईपोखरीको यात्रा बारे धेरै पहिले खेस्रा उतारिराखेको छु भन्ने थाहा थियो तर त्यो धुईंपात्ताल खोज्दा पनि भेट्टाउन सकिनँ । अतः पुरानो कुरा सम्झिँदै यात्रा संस्मरण फेरि लिपिबद्ध गरेको केही समयमै पुरानो खेस्रा पनि भेट्टियो । मनमा किन दुवै नछाप्ने जस्तो लाग्यो । समयको अन्तरालमा सिर्जना गरिएका एउटै प्रसङ्गका दुईटा रचनामा कति फरक हुने रहेछ, पुरानो खेस्रा झन् कति परिष्कृत हुने रहेछ र कुनै सिर्जना समयमै किन गर्नुपर्ने रहेछ भन्ने मैले पाएको ज्ञान तपाईंहरु सँग बाँड्नका लागि यी दुवै रचनाहरु प्रस्तुत गर्ने स्विकृती चाहन्छु ।

हालै रचित रचना

साहित्यका अन्य विधाहरु भन्दा व्यङ्ग्य र यात्रा संस्मरणमा कलम चलाउँदा अर्कै संसारमा पुगे जस्तो हुन्छ । त्यसमाथि आफ्नो यात्रा वर्णनले आपूmसँगै पाठकलाई पनि त्यहीँ लैजान वा सँगै यात्रा गरिरहेको जस्तो भान पार्न सक्यो भने सफल यात्राकार मानिन्छ भन्ने सुनेको छु ।

यस्तैमा अस्ति कुन चाहिँ पत्रिकामा हो माईपोखरीको कभरेज र ल्याण्डरोभर जिप हिलोमा अड्किएको, त्यसमा सवार यात्रुहरुले थेल्दै गरेको फोटो देखेपछि इलामका पुराना दिनहरुको याद आयो, तत्बेला इलाम र वरिपरिका ठाउँहरु घुम्दाको संस्मरणहरु खेस्रा कोरेको थिएँ तर कहाँ प¥यो कहाँ ? भएन, त्यस्तो मिठो भ्रमण बारे दुई चार शब्द कोर्नै प¥यो साँढे आठ वर्ष पछि भएपनि भनेर कोर्न लागें ।

आपूm पौने डाक्टर हुँदा ताका अर्थात् डाक्टर बन्ने अन्तिम परीक्षा दिनु अगाडि व्यवस्थापन तालीम लिने क्रममा नीजि, जिल्ला र अञ्चल स्तरका अस्पतालमा आवासीय पोस्टिङ्गको लागि जानु थियो ।

यसै क्रममा दमकको आम्दा अस्पताल, भद्रपुरको मेची अस्पताल पछि इलामको जिल्ला अस्पतालमा गइयो । माओवादी द्धन्दकालको उत्कर्ष ताका पुगेको कारण सुरक्षाको दृष्टिले पनि जिविस गेष्ट हाउसमा बसेका थियौं । त्यस बसाईको क्रममा चिया बगान त पानी पँधेरो नै भयो भने, आएको बेला भनि माईखोला, सिंहवाहिनी मन्दिर, फिक्कल जस्तै एकदिन माईपोखरी तर्पm लागियो ।

त्यसो त इलाम सदरमुकामबाट १३ किलोमिटर उत्तरमा रहेको माईपोखरीमा रैथाने गलैंचे, भ्mयाउ, रुख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु तथा वनस्पति पाइन्छन् भने ३ सय¥भन्दा बढी चराका प्रजाति पाइन्छन् रे । २ हजार १ सय २१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशय सहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताका दृष्टिले संवेदनशील मानिएको छ । यस्तै पोखरी वरिपरि विभिन्न प्रजातिका गुँरास, १६ प्रकारका सुनाखरी, ६२ प्रकारका जडिबुटी पाइन्छन् । यसैगरी यहाँ ३ प्रजातिका रैथाने माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप, १४ प्रजातिका स्तनधारी तथा ३ सय प्रजातिका चरा पाइन्छन् रे ।

माईपोखरी धार्मिक स्थल भएपनि विशेष पर्व पारी नगएको कारणले व्यङ्ग्यपूर्ण चाहिँ भयो । साउने झरि सकिनै लागेको बेला झरि नरोकिसकेको अवस्थामा इलामबाट पाँचथर लाग्ने पक्की बाटो छाडेपछिको बाटो हिलाम्य थियो ।

तैविसेक पुराना ल्याण्डरोभर जिप कनिकुथी चल्दोरहेछ । जाने बेलामा त जोशले समूहमा हिँडियो जसबिरे हुँदै । माईपोखरीमा नौका बिहार पछि फर्किने सुरसार ग¥यौं । फर्किने बेलामा त्यस्तै खाले जिप पायौं इलाम बजार सम्म ल्याई पु¥याउने । शहर तिर गाडीमा हिँडी राख्या र त्यस्तो ठाउँमा अलि अलि थकानको बेलामा गाडी भेट्टाउँदा गाडी चढ्ने निर्णय भयो । तर एकजना साथीले बीचमा निर्णय फे¥यो गाडीको हँकाईले । कारण ठ्याक्कै थाहा नभएपनि ढाड सेकिन्छ मात्र भनियो ।

गाउँले आपैंmले खनेको बाटो रहेछ, ग्राबेलिङ्ग, कुलेसो बनाइ सक्या थिएन पानी पर्न थालेछी त बाटो मै भेल पो बग्यो । गाडीको गति र बाटोको घुमाउरोपना यस्तो थियो कि गाडीबाट ओर्लेका हाम्रा साथी र हामी चढेको गाडी पटक पटक भेट भइरहन्थ्यो । यस्तैमा एकजना यात्रु गाडीमा चढ्न लाग्दा चिप्लेको देख्यौं । चलायमान जिप बाट रसिक खाले साथीले प्वाक्कै भन्यो ‘हामी जिप्लेर तपाईं चिप्लेर’ । एवंरीतले इलाम आउने पक्की बाटो छिचोल्न थुप्रै गाह्रो भयो । कति ठाउँमा त गाडीका चार पाङ्ग्राले भूईंमा नछोई बीचको भागले बाटोको लिकमा मात्र छुन्थ्यो ।

ल्याण्डरोभर जिप त्यस्तो अवस्थामा चलिरहेको कम्पनीवालाले देखेको भए सानोतिनो साहसीको पुरस्कार नै ठम्याउन्थ्यो होला । गाडी यस्तरी हलिन्थ्यो कि गाडीमा सवार हामी त ठेकीमा दही मोथे भैंm हुन्थ्यौं । तै कसो घिउ मक्खन चाहिँ निस्केन , मोही चाहिँ बन्यो कसै कसैको डरले पिसाबको रुपमा ।

जसोतसो इलाम बजार आइ पुगियो । भरे भाडा तिर्ने बेलाम होश हवास उड्यो, अनि चाहिँ ढाड सेकियो । अघि गाडी यात्रा परित्याग गर्ने साथीले ढाड सेकिन्छ भन्न खोजेको यही थियो कि ?

पहिल्यै खेस्रा कोरिराखेको रचना

इलामको नामैले मात्र पनि कति शितलता मिल्छ, इलाम नपुग्नेहरुका लागि आफ्नो गन्तव्य मध्येको एक हो । इलाममा पुगेपछि घुम्न कतै निक्लिनु पर्दैन किनकि कुवाको भ्यागुतारुपी हामी उपत्यकाबासीको लागि बाह्रै महिना बाह्रै काल इलाम रमाइलो छ, रसिलो छ । एमवीवीएसको अन्तिम वर्षको जिल्ला स्वास्थ्य व्यवस्थापनको सिलसिला २०५७ सालको भाद्र तिर दमक र भद्रपुरको अलावा इलाम पनि जानुप¥यो ।

त्यसो त विश्व सुन्दरीमा सहभागी हुने सबै सुन्दरीहरु राम्री नै हुन्छन् तैपनि मिस वल्र्ड, फस्ट रनरअप, सेकेण्ड रनरअप भनेर छाने जस्तै त्यसैपनि रमाइलो इलामको पनि अझ राम्रो ठाउँहरुको फेहरिस्त तयार गरियो । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, माईखोला, माबु आदि इत्यादि । चियाबारी अर्थात् चियाबगान त उल्लेख नै गर्नु परेन किनकि चियाबारी त इलामको पर्याय भन्दा फरक नपर्ला ।

यस्तैमा भाद्र २३ गते शुक्रवारको दिन माईपोखरी घुम्न जाने योजना बनाइयो, शुक्रवार माईपोखरी नजिक देउरालीमा हाट लाग्छ रे, शुक्रवार नै जानुको एउटै मात्र कारण । जोसुकै लाई पनि नौलो स्थानमा घुम्नु जानु अगाडि मनमा कति कुरा सोचिन्छ । अघिल्लो रात निदाउनै गाह्रो हुन्छ । ठिक त्यसै भयो । शुक्रवार बिहानै तयार भयौं डाक्टर बन्ने संघारमा पुगेका बलराम, सुवास, राजु, अरुण र म । जिविस गेष्ट हाउसमा रहेको हाम्रो बासस्थान बाट चोक बजारमा निस्कियौं, बिहान ७ बजे तिर । तर बिब्ल्याँटे जाने गाडी आइपुगेको रहेनछ । बिब्ल्याँटेको अर्थ खोजियो तर अर्थ मुताबिक बिब्ल्याँटेको नाम किन बिब्ल्याँटे भयो थाहा भएन ।

करिब साँढे आठ तिर बरबोटे पुग्यौं । भदौ महिना, नेपालका अन्य स्थानमा त मौसमको भर हुँदैन, अर्थात् भदौरे झरिको, त्यसमाथि इलामको कुरै नगरौं, बरबोटे बाट कहिले स्कुले विद्यार्थी सँग त कहिले बटुवा सँग बात मार्दै जसबिरे पुगियो । करिब साँढे नौ तिर त्यहाँ पुग्दा भात खान यति मन लाग्यो कि कुरै नगरौं, साथीहरुले चाउचाउ (त्यहाँ त छाउछाउ भन्दोरहेछ) बनाएर खाने भनेको थियो तर मेरो करले भात र चाउचाउ दुवै खाइयो । पुनः लागियो माईपोखरी तिर बाटो बाटोमा फोटो खिचियो । माईपोखरी पुग्दा सेकेण्ड, मिनेट र घण्टा एकै अर्का माथि खप्टिरहेको थियो अर्थात् बाह्र बजेको थियो ।

माईपोखरीमा प्याडलिङ्ग बोटिङ्गको पनि व्यवस्था रहेछ । रामदाई र अर्की बहिनीलाई अनुरोध गरि भएका दुईटा बोटहरु भाडामा लिइयो । वरिपरि सल्ला, धूपीका रुखहरु तथा तलाउमा कमलको पूmलले माईपोखरीलाई झनै रमणिय बनाएको थियो । करिब एक घण्टा पोखरीमा नौका विचरण गरिसकेपछि खाना खाइयो, साथीहरुले अन्नरस (तोङ्बा) मगाएको रहेछ, एक दुई सिप लिइयो । इलाम पुगेर चिया नपिउनु, अन्नरस नपिउनु अलि नपच्ने कुरा रै छ । र माईको दर्शन पनि गरियो, एउटा सँस्कृत पाठशाला पनि रहेछ । वटुकहरुले चुईंगम खाइरहेका रहेछन् अचम्म लाग्यो र सोधें पनि, ‘आजकल खान मिल्छ रे’ ।

एकैछिनमा इलाम आउने जिप (त्यहाँ ट्याक्सी भन्दोरहेछ) मा चढियो । अब पो यात्रा रमाइलो भयो । उक्त जिपको यात्रा यति रोमाञ्चकारी थियो कि कुरा गरि साध्य थिएन । बाटो यस्तो थियो हरिको नाम जप्नु बाहेकको विकल्प थिएन यात्राभर । आइयो त्यही जिपमा लड्दै पड्दै । एडभेन्चरको नाममा बाटो यस्तो थियो र गाडी यस्तरी चलाएका थिए कि गुरुजीले, ल्याण्डरोभर जिपको निर्माणकर्ताले देखेका भए शायद ड्राइभर अफ द इयर ले नै विभूषित गथ्र्यो कि ?

भर्खरै खन्या बाटो कुनै कुनै ठाउँमा यस्तो थियो कि चारवटा चक्काले भूईं नछोई केवल गाडीको बीचको भागले मात्र जमीन छुन्थ्यो । बाटोभरि व्यङ्ग्य गर्दै आइयो । त्यतिकै पानी पर्न शुरु भयो, जसबिरे पुगेर चिया पियौं, एकैछिन विश्राम ग¥यौं, गुरुजी पेट्रोल (बोटल्ड सोमरस) भ¥यो, फेरि यात्रा शुरु भयो, एकैछिनमा पानी दर्किन थाल्यो । अब भने भेल बग्ने र गाडी गुड्ने बाटो एउटै भयो । साथीले भन्यो – ‘हामी चढेको गाडी गुडेको होइन, भेलले पो बगाउँदैछ ।’

एकजना साथीलाई ढाडको पीर लाग्यो र गाडीको यात्रा परित्याग ग¥यो । उसलाई पनि व्यङ्ग्य कस्यो अर्को साथीले – ‘हाम्रो त ढाडै छैन जस्तो ?’ तैपनि उसले गाडीमा यात्रा गरेन । बाटोभरि लोकगित गाउँदै आयौं, गाडीमा सवार अन्य गाउँले यात्रुहरुले पनि रमाइलो माने । बटुवा एकजना गाडी चढ्न लागेको थियो तर सकेन अर्थात् अवसरै पाएन । फेरि व्यङग्य कस्सियो गाडीबाटै – ‘हामी जिप्लेर (जिप लिएर), तपाईं चिप्लेर (बाटो माछाको जिउ जत्तिकै भैसकेको थियो) आउनुस् भन्दै’ । यसरी जिस्क्याउँदै, जिस्किँदै इलाम बजारमा फर्कियौं । शायद यो उमेरमा यस्तै हुँदो हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।