19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

काठे संवेदना

कविता मनोज बोगटी September 1, 2009, 12:38 pm

तिम्रो संवेदनामा काठ पस्दै गइरहेछ।

••

अब कुनै पनि शरीरबाट उड़ेर जानेछ लाजको सह

मरूभूमि मात्र हुनेछ शरीरको बालुवा।

तिर्खा-तिर्खा-तिर्खा

तृप्तिको हाहाकारमा बॉंच्ने छ संवेदना।

मृत्युको त्यो कालो भयले खोल्न सक्दैन

आँसुको ताला

प्रेमको त्यो कोमलता

सुक्नेछ

फूलमा।

-त्यसपछि कहिल्यै पुनरावृत हुनेछैन सृष्टिको वचन।

म तिम्रो खस्रो ओंठ छोएर भन्नसक्छु

त्यसलाई कोमलताको मातको सुगन्ध आउँदैन।

कति पातलो छ तिम्रो मनको पाप्रा

जहॉं आमाको मृत्युको एक थोपा शोक अड़िन सक्तैन।

तिम्रो आँखाको सुरूङबाट छिर्ने

संसारको वासनाको त्यो सौन्दर्य

कुनै कम्पनीको ब्राण्ड जस्तो टॉंसिएको छ

शहरमा उभिने होर्डिङहरूमा।

त्यो यान्त्रिक यौनको गर्मीमा

भटाभट मर्दैछ अनुभूति।

तिमी नै भन

च्याटिङमा आउने

टुक्रिएका अक्षरहरू

तिम्रा स्वास्नीको ठूल्ठूलो सासभन्दा अर्थपूर्ण छ?

••

तिम्रो संवेदनामा काठ पस्दै गइरहेछ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।