14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

ल्हासा टु सिनिङ

नियात्रा भोजराज भाट September 5, 2009, 7:42 am

"आर यू पाकिस्तानी ?" रेलको बार्‍हौं डिब्बातिर लाग्दै गर्दा एक चिनियाँ युवतीले टुटेफुटेको अङ्ग्रेजीमा प्रश्न गरिन् । "नो..नो.. फ्रम नेपो" । कस्तो अनौठो ! नेपाल भन्दाखेरि कोही नबुझ्ने । 'ल' उच्चारण नगरेर नेपो मात्र भनेपछि बल्ल उनले नेपाली ठम्याइन् । अनि मैले रेलको टिकट देखाएर सोधेँ, "ह्वयर इज् माइ सिट ?" मुन्टोको इशारामा ती युवतीले त्यस डिब्बाको सबैभन्दा माथिल्लो सिट इंगित गरिन् । एकछिन त पर्‍यो फसाद ! पहिलो पटक रेल चढेको मान्छे, त्यसमाथि विश्वकै सबैभन्दा उच्च भूभागको रेलयात्रा । कसरी जाने हो आफ्नो सिटमा ? मैले रेलको मेसो नपाएको देखेर होला, चिनियाँ युवतीले छेउको बटनवाला खोपा निकालिदिइन् । त्यही खोपा-खोपा टेकेर तीन बेडमाथि जानुपर्ने रहेछ ।

हामी बसेको डिब्बा छ जनाको सिट रहेछ । एकापट्ट तीन र अर्कोपट्ट तीन । बीचको झ्यालतिरको किनारमा चियानास्ता खान मिल्ने चुच्चे आकारको टेवुल । मुल ढोकातिर मान्छे ओहोरदोहर गर्न मिल्ने बाटो रहेछ । त्यही बाटोसँगै जोडिएको भित्तामा फोल्डिङवाला टेवुलमा डिब्बाका यात्रुहरू बाहिरको दृश्य हेर्दै, चियाकफी लिएर बस्दा रहेछन् । यी सबै मेरा लागि नौला विषयवस्तु थिए । यसो हाम्रो डिब्बाको भूइतिर हेरेँ, त्यहाँ त तातोपानी राख्ने भाडो र त्योसँगै फोहोर फ्याक्ने थैली देखियो । आफ्नो सामान सिटमा राखेपछि मनमनै गमें, "२४-२४ घण्टाको रेल यात्रा गर्नुपर्नेछ । सिट भने छानामा पर्‍या छ । जे होस्, आज राम्ररी सुत्न पाइँदैन कि क्या हो !"

१२ नम्बर क्याविनमा ममात्र नेपाली थिएँ, अरू सबै चिनियाँ । तीमध्ये एक जना युवती मात्र कनीकुथी अङ्ग्रेजी बोल्थिन् । भाषाकै समस्या परेपछि संवाद गर्ने त कुरै भएन । ती युवतीसँगको एस्, नो, थ्याङ्क्यूको अन्तरसंवाद पनि पट्यारिलो भइसकेको थियो । मलाई अरू साथी कता बसेका छन्, कस्तो अवस्थामा होलान् भनेर खुल्दुली लाग्न थाल्यो । यसो बाहिर के निस्केको थिएँ, पत्रकार हेम दुलाल झुल्किए । उनको पनि मेरोजस्तै कहानी रहेछ । डिब्बामा एकमात्र नेपाली, त्यसमाथि उनको पनि छानामै सिट परेछ । अङ्ग्रेजी पत्रकारिता गर्ने मान्छे, झन् उनकै क्याबिनमा एस नोसमेत भन्न नआउने चिनियाँ परेछन् । एकछिन त मजाक पनि गरियो ।

रेल पैयां नगुड्दै डिब्बा छेउछाऊका उफर माइकमा चिनियाँ परम्परागत संगीतका धुन गुञ्जिन्छन् । यात्रुहरू आफ्नो सिट खोज्ने हतास मनस्थितिमा देखिन्छन् । रेलका सुरक्षागार्ड टिकट जाँच कार्यमा व्यस्त छन् । सिट पाइसकेका चिनियाँ यात्रु आफ्ना झोलाका पोकापन्तुराबाट खानेकुरा झिक्न थालिसके । हामी भने ट्वाल्ल परिरहेका थियौं । यही बेला हाम्रो टोली नेता कौशल चेम्जोम आइपुगे । हाम्रो टोलीमा उमेरले सबैभन्दा कान्छा तर जिऊडालमा सबैभन्दा ठूला किरण गौतम पनि हस्याङ्फस्याङ् गर्दै टुपुल्किए । बेइजिङ रेडियोका नेपालस्थित संवाददाता रमेश भट्टराई र पत्रकार रघुनाथ लामिछाने पनि निन्याउरो अनुहार लगाएर आए । यी सबैको समस्या उस्तै प्रकारको थियो, "सबैभन्दा टाउकोमा सिट पर्‍यो । त्यहाँ त सुत्नै सकिँदैन । स्वाश-प्रश्वाश लिनै गार्‍हो हुन्छ । संवाद गर्ने कोही मान्छै भएन ।" हामीहरूबीच छलफल भइरहँदा नेपाल टेलिभिजन का पत्रकारहरू बालकृष्णप्रसाद र सुधीर मिश्रको अर्कै विलौना सुनियो, "बर्बाद भयो यार, आज दुःख पाइने भो । हाम्रो टिकट ल्हासादेखि घेर्मुसम्म मात्र रहेछ, त्यहाँबाट हामी सिटबिहीन हुन्छौं ।"

चिनियाँ सरकारको निमन्त्रणामा नौ जना नेपाली पत्रकारको टोली २२ सेप्टेम्बर २००७ तारिकमा 'ल्हासा टू सिनिङ' रेलयात्रा गर्दै थियो । तर, यहाँ सिटको प्रबन्ध राम्रोसित मिलेको देखिएन । त्यसको दोष न स्थानीय अधिकारीको थियो न हाम्रो लियाजो अफिसर चेनीको नै । हाम्रो कार्यतालिका फेरबदल गराउनमा मुख्य जिम्मेवार एयर चाइना थियो । सेप्टेम्बर १६ तारिकमा काठमाडौबाट ल्हासा उडेको जेट विमान ल्हासास्थित अन्तर्राष्ट्रिय हवाइमैदानमा खराब मौसमका कारण अवतरण गर्न नसक्दा हामी सिधै सिचुयान प्रान्तको राजधानी छेन्दु शहर पुगेका थियौं । पूर्वनिर्धारित कार्यक्रममा हामी छेन्दु पुग्ने योजना थिएन । एक रात छेन्दु बसेर पुनः ल्हासा फर्किदा हाम्रो कार्यतालिकामा थोरबहुत फेरबदल भएको रहेछ । अनौठो कुरा, ल्हासा-छिङ्हाइ रेलयात्राका लागि दुई महिनाअगाडि नै टिकट बुक गर्नुपर्ने रहेछ । हैन भने टिकट पाउनै गार्‍हो । धन्न, तिब्बती पर्यटन महाशाखाले एक हप्तामै हाम्रा लागि जसोतसो टिकट मिलायो ।

ल्हासा आउने रेलमा तीन किसिमको डिब्बा हुँदो रहेछ । डिलक्स, माध्यम र साधारण । डिलक्समा प्रत्येक क्याविनमा तलमाथि दुई-दुई गरी चार सिट छन् । प्रत्येक सिटमा टेलिभिजन र क्याविनमा ढोका लगाउने व्यवस्था छ । हामी बसेको सिटचाहिँ मध्यमखालको थियो, जहाँ विस्तारा बनाएर सुत्न र ओढ्न मिल्ने ओछ्यान राखिएका थिए । साधारण क्याविनमा चाहिँ लस्करै बस्न मिल्ने सिटमात्र छन् । यिनीहरूको भाडा सरदर तीन सय, छ सय र नौ सय चिनियाँ युयान रहेछ । प्रत्येक डिब्बाको मध्यभागमा शौचालय, हातमुख धुन मिल्ने बाथरूम बनाइएको रहेछ । त्यसको छेवैमा तातोपानीकेा जार राखिएको थियो ।

यस रेलयात्रामा अधिकांशले आफूले खानेकुरा पहिलै ल्याएका हुँदारहेछन् । हामीले पाएको जानकारीमा सबै कुरा रेलकै रेष्टुरेण्टमा किनेर खान पाइन्छ भन्ने थियो । त्यसकारणले पनि हामीले कुनै खानेकुरा बोकेनौं । जब रेल गुडन थाल्यो, यात्रु आफ्ना खानेकुरा झिक्न थाले । सानो थर्मसको डिब्बामा राखेर जस्मिन चिया पिउँदै, कर्‍याम-कुरूम खाजा चपाउँदै चिनियाँ यात्रु तिब्बती पठार भूमिको दृश्वावलोकन गर्न थाले । त्यहाँको माहौल कुनै भोजभतेरभन्दा कम थिएन । त्यो देखेर हाम्रा जिब्रा पनि रसाए, अनि हामी पनि खानेकुरा खोज्न थाल्यौं । साथी हेम र म रेलको पाँचौ डिब्बामा रहेको रेष्टुरेण्टतिर लाग्यौं । डिब्बाको छेवैछेऊ अगाडि बढ्दै गएपछि साधारण यात्रु बस्ने ठाउँ आयो

ओहो, त्यहाँ त यात्रु गुजमुज्ज बस्दा रहेछन् । ठेलमठेलको अवस्थामा पनि कोही तास खेल्दै त कोही खाजा खाँदै । साधारणवाला चार वटा डिब्बा पार गरेपछि रेष्टुरेण्ट आयो । रेष्टुको भ्युपोइण्ट कत्ति मज्जा ! चारैतिर पारदर्शी सिसैसिलाले घेरिएको र बीचमा बसेर बाहिरको दृश्वालोकन गर्दै खाजा खानुको आनन्द बेग्लै । डिलक्स सिटमा रहेका पश्चिमा पर्यटक काँधमा बढेमानका क्यामेरा बोक्दै हामी बसेकै रेष्टुरेण्टतिर ओइरिइरहेका छन् । कसैको हातमा बियरको बोत्तल, कोही वाइनको चुस्की लिँदैछन् । "ओ माइ गड, ह्वाट्स अम्याजिन !" हिमालको फेदैफेद रेल गुडिरहँदा विदेशी पर्यटक मन थाम्न नसकेर घरिघरि क्यामेरा तेस्र्याउँछन्, क्लिक .क्लिक ..क्लिक .......................

एक सय किलोमिटर प्रतिघण्टाको दरमा कुदेको छ रेल । सबै आ-आफ्नै धुनमा छन् । चुरौटेहरू रेलको हरेक दुई डिब्बाको काँच-काँचमा उभिएर ध्ाुवाँ उडाइरहेका छन् । रेलको अन्य भागमा धुमपान गर्न मनाही भएकोले यहाँ जम्मा भएका मानिसहरू चुरौटे हुन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । हाम्रो टोलीमा पत्रकार हेम दुलाल र तत्कालिन निमित्त रक्षा सचिव श्रीधरप्रसाद पोखरेल बारम्बार यता किन बस्दा रहेछन् भन्ने भेद धेरै पछि मात्र खुल्यो । पद र उमेरका हिसाबले निकै वरिष्ठ भए पनि यात्रामा निमित्त रक्षा सचिव पोखरेल निकै रसिक मान्छे पाइए ।

ल्हासामा यात्रा गर्दाखेरि सचिव पोखरेलसँगै परराष्ट्र मन्त्रालयका अधिकृत आरबी खत्री दुई नम्बर डिब्बामा रहेको गाइँगुइँ सुनिएको थियो । हामी सबैले उनीहरू डिलक्स सिटमा होलान् भन्ने अनुमान गरेका थियौं । तर, के को हुनु ? "आज त लोतर हुने भइयो, भोजराज भाइ । छ-छ जनाको सिटमा परेका छौं, अङ्ग्रेजी बोल्ने कोही छैन । न्यास्रो लागेर यता (१२ नम्बर डिब्बा) आएका हौं ।", निमित्त-सचिवको यस्तो कुरा सुनेपछि हाम्रा अन्य साथीहरूले आफ्नो सिटको चित्त बुझाए ।

नेपाली समयभन्दा चिनियाँ समय साढे दुई घन्टाको फरक भएकोले उनीहरूको दिनचर्याअनुसार चल्दा सुरूमा हामीलाई केही अप्ठ्यारो महसुस भयो । रेल यात्रामा विहान साढे दश बजे खाना खाइसक्नुपर्ने र वेलुका छ बजे डिनर गरिसक्ने चिनियाँ आनिबानी त हाम्रो लागि विल्कुलै अप्ठ्यारो हुँदो रहेछ । जस्तो, तिब्बत-छिनहाइ प्रान्तको सुर्योदय झुल्काउने/अस्ताउने समय नेपालजस्तै भए पनि चिनियाँ समयअनुसार उनीहरूको रुटिन हुँदा नेपाली समयअनुसार विहान आठ बजे लन्च र वेलुकी चार बजेतिर डिनर खाइसक्नु पर्ने रहेछ । र, रेलमा उनीहरूले जे-जे ल्याए, त्यहीँ खानुसिवाय अर्को विकल्प पनि थिएन हामीसँग ।

अनौठो त के भने रेलमा दिइने खाना वा खाजाको परिकारमा बंगुरको मासु छुट्दो रहेनछ । बंगुरको नाम लिनासाथ बान्ता गरौलाझै गर्ने पत्रकार बालकृष्ण प्रसादलाई खाऊ त दिनभरिको शिकार नखाऊ त कान्छा बाऊको अनुहार भयो । अन्य साथीहरू पनि प्याकेटको खानादेखि दिक्दारी भइसकेका थिए । हेम, सुधीर मिश्र र म पेय पदार्थ -वियर, जुस आदि) का लागि रेष्टुरेण्टतिर जाँदा त्यहाँ प्राय सिद्धिसकेको थियो । सन्सारकै छानाबाट यात्रा गदोखेरि एकपटक हरेकले पेय पदार्थ चाख्ने रहर मेटाउँन नपाउँदै वेलुकासम्म रेष्टुरेण्टको भण्डार सिद्धिसक्दो रहेछ । त्यसपछि साढे नौ बजे राति डिब्बाभित्र रहेका विजुली 'अफ' हुँदोरहेछ । अनि सबैलाई आ-आफ्नो डिब्बामा सुत्न जान करै लाग्ने ।

ल्हासा टु सिनिङ शहरबीचको १९ सय ५६ किलोमिटर दुरीमा चार ठाउँमा रेल स्टेशन रहेछ । जसमध्ये, ५, ०६८ मिटरको उचाइमा रहेको ताङ्गुला स्टेशन विश्वकै उचाइमा रहेको स्टेशन हो, जहाँ हामी पुग्दा पुरै हिउँले ढपक्क ढाकिएको थियो । निकै उचाइमा पुगेकोले होला, रेलभित्र यात्रुहरू भित्तामा रहेका अक्सिजन बटम खुला गरेर स्वास-प्रस्वास लिदै थिए । घेर्मुबाट रेल अगाडि बढ्दै जाँदा निरन्तर तीन घन्टासम्म ५,००० मिटरको उचाइ घटेकै छैन । रेलको माथिल्लो बार्दलीमा रहेको डिजिटल स्क्रोलले बाहिरी तापक्रम, उचाइ र रेलको गति चिनियाँ र अङ्ग्रेजी भाषामा देखाएकोदेखायै छ ।

यतिखेर रेल केही सुस्त गतिमा गुडिरहेको छ । रेलका लिकहरू पुरै सेताम्मे पनि देखिन थालिसके । यस ठाउँबाट तल हेर्दा हिऊकै ढिक्का भएको नदी पो देखिने । नजिकै हिमनदी बगेको दृश्य, हिमपहिरोले चोयाचोया परेका हिमालहरू त कति देखिए कति । अचम्मको कुरा, अहिलेसम्म यस रेलयात्रा हिमपातका कारण रोकिएको रेकर्ड छैन । बरू यही वर्ष भदौमा सिनिङ शहर नजिकै पहिरो जाँदा केही दिन रेलयात्रा अवरुद्ध भएको थियो ।

विश्वकै छानोमाथि रेलयात्रा गर्दाको विछिट्टको अनुभूति त्यस्तो पाइयो, जहाँ पठारभुमी, पशुपालन चरन क्षेत्र, हिमनदी, हिमतालदेखि उच्च हिमाली क्ष्ाेत्रमा पाइने जनावर पनि निर्धक्क चरिरहेको देखियो । रेलमार्ग सँगैको राजमार्गबाट स-साना जिपहरू घुइकिएको दृश्य होस् वा ५,००० मिटरको उचाइबाट ठूल-ठूला मालबाहक ट्रकहरू सामान ओसार्दै गरेको अवस्थ, यी सबै कुराले विकासको नाममा चीनले आकाश चुमेको झ-झल्को दिन्थ्यो ।

ल्हासादेखि सिनिङसम्मको हाम्रो २४ घन्टे रेलयात्रामा अविस्मृत संस्मरणका पानाहरू गुथिए । सिनिङ शहर पुग्न एक घन्टा मात्रै बाकी रहँदा मलाई पाकिस्तानी भन्ने चिनियाँ युवतीले सम्झनास्वरुप मलाई कलम उपहार दिएको घटना कहिलै नविर्सिने भयो । अनि मैले पनि आफैले लगाएको हेम्पले बुनेको रोल्पाली घोप्ले टोपी ती युवतीको टाउकोमा लगाइदिए । एकछिन उनीसित सामुहिक तस्बिर पनि खिचियो । संक्षेपमा बातचित गरियो । चीनको सुन्दरी उत्पादन गर्ने शहर छेन्दुकी रहिछन् उनी । र, जानेवेला मुसुक्क मुस्कुराउँदै उनले भनिन्, "बाइ-बाइ नेपो, सीयू इन् छेन्दु ।

नागरिकबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।