14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

एक्लै हुँदाको मजामा मलेसिया

नियात्रा कृष्ण प्रर्साई September 7, 2009, 5:27 am

सिटीवान प्लाजा ब्लक बीको अठ्तीस तलामाथिको आफ्नो कोठाबाट बाहिर हेर्न एक किसिमले कहाली नै लाग्थ्यो । तर पनि यति माथिबाट बाहिरको भागलाई हेर्नुको मजै अर्को थियो ।

हिँड्दा जति टाढा भए पनि यति माथिबाट देखिने क्वालालम्पुर टावर र ट्विन टावर (जुम्ल्याहा भवन) आँखैअगाडि यसरी देखिन्थे मानौँ तिनीहरू मेरै छिमेकी घर हुन् । तर जब मैले एउटा फुर्सदिलो दिनलाई आफ्नो बनाएर कब्जा गरेपछि हिँडेरै त्यहाँ पुग्ने अठोट लिएँ अनि मात्र मलाई थाहा भो त्यो ठाउँ मैले अनुमान गरेभन्दा धेरै फरक र टाढा रहेछ ।

क्वालालम्पुर सहरका मुख्य भाग, सौदापात किन्ने ठाउँ र डिपार्टमेन्टल स्टोरबाहेकका ठाउँहरूमा पैदल हिँड्ने मान्छे कमै भेटिन्छन् । स्थायी बासिन्दाहरूका प्रायः आफ्नै सवारीसाधन हुन्छन् र जसको छैन तिनीहरू पनि बस, ट्याक्सी र सहरभरि छरिएर रहेका तीन किसिमका मेट्रोहरूमा चढेर आफ्नो यात्रा गर्छन् ।

तर म एक्लै हिँडिरहेको थिएँ क्वालालम्पुर टावरलाई भेट्न बाटाको छेउबाट । पछाडिबाट फर्केर हेरुन्जेल र अगाडि आँखाले भ्याइन्जेलसम्म कुनै पनि मानव–आकार त्यस बाटामा हिँडिरहेको देखेको थिइनँ मैले । त्यति नै खेर मैले रवीन्द्रनाथ ठाकुरको ‘एकला चलो रे’ भन्ने कविताका पङ्क्ति सम्झिएँ । एक किसिमले उनको अनुयायी भएर हिँड्न पाएकामा मजा पनि लाग्यो । कमसे कम यस दूर देशमा आएर मैले बङ्गाली कवि ठाकुरको अनुसरण गरिरहेछु । ठाकुर मेरा देशका नभएर छिमेकी देशका हुन् । मेरो त छिमेकी देश मात्र नभएर छिमेकी राज्य बङ्गालका हुन् जो जन्मेको सहरमा मैले बीसौँ पटक पाइला राखिसकेको छु र उनको मातृभाषा पनि येनकेन प्रकारेण कामचलाउ बोल्छु ।

म गमिरहेथेँ, ठाकुरबाजेका घरभरि प्रशस्त नोकरचाकर थिए । ठूलो जमिन्दारी थियो । नाम, दाम, प्रतिष्ठा र बाह«ै घण्टा मानिसहरूको राजधानी हुन्थ्यो उनको घरमा । तर किन धेरै मानिसको बीचबाट चोइटिएर एक्लै हिँड्ने सन्देश दिए ती मूर्धन्य कविले ? सायद एक्लो हुँदा र एक्लै हिँड्दाको आफ्नै मजा हुन्छ । कसैको वैचारिक भारी बोकिरहनुपर्दैन । मनमौजी हुन पाइन्छ र त्यसबाट हुने एक किसिमको आनन्दले योगानुभूतिको आस्वादन पाइन्छ भनेरै एक्लै हिँड भनेर भनेका होलान्, ती महामानवले । म यस्तै सोचिरहेको थिएँ र हिँडिरहेको थिएँ । मेरो एकातिर केही उठेको बस्तीविहीन जङ्गलले भरिएको पहाड थियो भने देब्रेतिर मानवनिर्मित आलिसान भवनहरू र व्यवसाय साँधेर बसेका निजी कार्यालयहरू थिए । हिँड्ने म मात्र एक्लो थिएँ तर सडकभरि सवारी साधनमा हुइँकिरहेका मानव महासागरको कमी थिएन त्यहाँ । दुवैतर्फ चल्ने सवारी साधन गुडिरहेका थिए आफ्ना मालिकहरूलाई, आफ्ना यात्रुलाई लिएर । तर म मान्छेहरूबीच पनि नितान्त एक्लो थिएँ र एक्लै हिँडिरहेको थिएँ, क्वालालम्पुर .टावरलाई भेट्टाउन ।

निक्कैबेर हिँडिसकेपछि चौबाटो आयो । उस्तैउस्तै लाग्ने बाटाहरू भएकाले कुन बाटो रोज्दा चाहिँ टावरमा पुगिन्थ्यो मलाई ठम्याउन अलि मुस्किल भयो तर सानो टापुजस्तो डाँडामा अवस्थित क्वालालम्पुर टावरको भौगोलिक बनावटको बारेमा म रहँदै आएको अठ्तीस तल्लामाथिको कोठाबाटै भेउ पाइसकेको थिएँ । त्यसैले टापुजस्तो थुम्कालाई छोड्नुहँुदैन भनेर मैले मनमनै विचार गरेँ । सोधुँ भने पनि कोही मान्छे थिएनन् । त्यसैले पनि म ढुक्क भने हुन सकिनँ आफ्नो सोचमा र एउटा आकासे पुलमा केहीक्षण बसेर मान्छेको प्रतीक्षा गर्नथालेँ । पन्ध्र मिनेट बस्दा पनि केको भेटिनु मान्छे ! मेरो केही चलेन र अन्त्यमा आफ्नै हिसाबले बाटो रोजेँ क्वालालम्पुर .टावरको । संयोग नै भनौं ! मैले ठीकै बाटो रोजेँछु । अलिपर गएपछि क्युरियोका सानातिना पसल भेटिए ।

क्युरियोका पसले साहूलाई मैले जान चाहेको ठाउँको बाटो सोधेँ यद्यपि टावर मैले देखिरहेको थिएँ तर त्यहाँ पुग्ने बाटोमात्र मलाई चाहिएको थियो । अन्ततः उसको निर्देशनअनुसार म टावरमा पुगेरै छोडेँ ।

१८ मार्च २००७ को झन्नै दिनको १ बजेको हुनुपर्छ । साइरन, सुरक्षा गार्ड र मान्छेहरूको बाक्लै उपस्थितिभित्र बाँचिरहेको थियो मैले उसलाई पहिलो पटक छुनै खोज्दा क्वालालम्पुर टावर । रातो कार्पेट पनि बिछ्याइएको थियो छेउमै र अस्वाभाविक हिसाबले मान्छेभन्दा सुरक्षा जत्था धेरै देखिएपछि मैले अनुमान गर्नथालेँ आज कुनै मन्त्री वा ठूलै पदासिन मान्छे आउँदै हुनुपर्छ टावर चढ्न । नत्र यति धेरै सुरक्षा–संयन्त्र किन ?

नभन्दै मैले २० रिङ्गेट मलेसियन पैसा (हाल चार सय नेपाली रुपैयाँ) तिरेर टावरको लिफ्टमा के उक्लन खोजेको थिएँ मैरे अगाडि पो देखिए पाकिस्तानी राष्ट्रपति परबेज मुसर्रफ त ! रक्तपातविहीन सैनिक कु गरेर सत्ता हत्याउने मुसर्रफलाई नेपालमा आउँदा पनि मैले टेलिभिजनमा मात्र देखेको थिएँ तर आफ्नै अगाडि उनकी श्रीमती र उनकै दूतावासका केही कर्मचारीसँगै उनलाई सशरीर देख्दा म तीनछक्क परेँ । एउटै लिफ्टबाट हामी चढिरहेका थियौँ । लिफ्टमा अरू नचिनेका मलेसियनहरू पनि मजस्तै टावर चढ्न आएका थिए तर सायद कमैले चिनेका हुनसक्छन् मुसर्रफलाई । सबै सँगसँगै टावरमाथि पुगियो । माथि पुगिन्जेल कोही कसैसँग बोलेनन् । मौन अवस्थामै यात्रा गरियो पाँच मिनेटसम्म ।

मैले एकमनले सम्झेँ जाऊँ परवेजसँग हात मिलाऊँ र आफ्नो नागरिक परिचय दिऊँ । आखिर ऊ पनि मैजस्तो विदेशी त हो मलेसियाका लागि । तर फेरि अर्को मनले त्यसो गर्न मानेन । ऊ त तानाशाह हो । प्रजातन्त्रलाई सिध्याउन चाहने मान्छे हो ऊ । अनुहार राम्रो भए पनि खागी बर्दीको विचारमा विश्वास गर्ने मान्छे हो ऊ, जसलाई मैले जीवनमा सधैँ नकार्दै आएको छु । मलाई रमाइलो केमा लागिरहेको थियो भने त्यत्रो मुलुकको त्यति शक्तिशाली राष्ट्रपति भए पनि आखिर हामी त्यहाँ सबै समान थियौँ र एउटै प्रयोजनका लागि गएका थियौँ । त्यो थियो क्वालालम्पुर टावरको माथिबाट आँखाले देखिएजति चारै दिशाका दृश्यहरू नियाल्नु र आ–आफ्नै अनुभव आफ्नो मस्तिष्कमा कैद गर्नु ।

मैले सम्झेँ नेपालमा भएको भए एउटा सामान्य मानिसले यसरी एउटै लिफ्टमा चढेर समान हिसाबले कुनै राष्ट्रपतिलाई नजिकबाट हेर्नु असम्भवप्रायः हुन्थ्यो । राष्ट्रप्रमुखको सवारी चलाउँदा मात्र पनि दुई घण्टादेखि बाटो काब्जा गरेर सवारीका साधन र पैदलयात्रीलाई रोकिन्थे । नपाउने सास्ती मान्छेहरूले पाउँथे । अति विशिष्ट व्यक्तिको सवारी छ भनेर सबैलाई दुःख दिने काम हुन्थ्यो । तर त्यहाँ देखियो, चल्दोरहेछ त सवारी नरोके पनि ! चल्दो रहेछ सबै साथसाथै हुँदा पनि ! अनि चल्दोरहेछ कसैलाई दुःख नदिई सहज तरिकाले विशिष्ट र साधारण भनाउँदो नातासम्बन्ध एकै ठाउँमा राख्दा पनि !

मुसर्रफ कतिखेर फर्किए थाहा भएन तर मैले झन्डै एक घण्टा लगाएर सबैतिरबाट टावरको माथिबाट क्वालालम्पुरलाई नियालेँ । त्यहाँ देखिएका आलिसान भवनहरूलाई हेरें । केही पर उभिएको माथिबाट सानाजस्तो देखिने अहिलेसम्मकै संसारको सर्वोच्च भवन टुइन टावरलाई पनि दोहो¥याईतेह¥याई अवलोकन गरँे । धन्य भएँ म, संसारका गतिला भवनहरू, हरियाली दृश्यहरू र विकासका फड्काहरू त्यति माथिको टावरबाट हेरेर । आनन्दित भएँ म मलेसियाली विकास र मानव संसाधनको तीव्र गतिसँग, अनि गौरवान्वित भएँ म मान्छेले गर्न चाहँदा हुनसक्ने विकासको परिणाम देखेर । म कति सानो रहेछु भनेर मैले त्यतिबेला नै थाहा पाएँ जतिखेर मैले आश्रय लिइरहेको ४२ तले भवन पनि मेरै आँखाअगाडि लिलिपुटजस्तो भएर उभिइरहेको देखियो । मेरो देश पनि विकासमा लिलिपुट नै थियो अझै । मन कुँडिएर आयो । विरक्त लागेर आयो आफू र आफ्नो देश सम्झेर । आखिर आफ्नै औकात नाप्न ठूलै भएर सोच्नुपर्ने रहेछ, असल भएरै हेर्नुपर्ने रहेछ र उचाइमा पुग्नैपर्ने रहेछ । आफूभन्दा माथि उक्लिएर आफूलाई हेर्दा मात्र आफ्नो उचाइ थाहा पाइने रहेछ । मैले यस्तैयस्ता विचार गरेँ क्वालालम्पुर–टावरमाथिबाट ।

विकासले कसरी फड्को मार्दोरहेछ त्यो मैले चीनमा देखेको थिएँ । भौतिक विकासपछिको मानसिक र व्यावहारिक विकास कसरी गर्न सकिन्छ भनेर मैले जापानलाई भेटेको थिएँ । भौतिक र व्यावहारिक विकास सँगसँगै जाँदा कस्तो हुन्छ भनेर मैले कोरियालाई छानेको थिएँ तर मलेसियामा विकास पसेर थाहै नपाई कसरी सुटुक्क चुलियो त्यो नै हेरिरहेको थिएँ र अचम्म मानिरहेको थिएँ म ।

चारपटक मलेसिया टेकिसके पनि पहिलो यात्रा–अनुभवबाटै मैले मलेसियालाई अनुमान गरिसकेको थिएँ यो अब चानचुने रहेनछ भनेर ।

त्यहाँ लमतन्न सुतिरहेका बाटा, बाटावरपर फुलिरहेका फूल र मौसम नै वरदान भएर भूमिलाई दिएको प्राकृतिक सौगात नै पर्याप्त थियो मलेसियाले विकास गर्नुमा । त्यसैले मलेसियाको कुनै पनि कुनाबाट जुनसुकै कुना र ठाउँहरू जाँदा घुमाउरो बाटो भएर हिँड्नु नै पर्दैन । पुनः पहिलेकै ठाउँमा फर्किनै पर्दैन । जहीँतहीँ बाटैबाटा छन् । जताबाट गए पनि आफ्नो गन्तव्यमा पुगिहालिन्छ । त्यति राम्रो सडक सञ्जालका लागि एसियाकै नमुना हुनुपर्छ मलेसिया । हप्तैपिच्छे पानी परिरहने उष्ण भूमध्यरेखीय तापक्रम नै पर्याप्त भयो सदासर्वदा हरियाली बनाउन मलेसियालाई । रबरखेती र पामतेल उत्पादनका लागि सुहाउँदो माटोलाई साथ दियो मौसमी वातावरणले मलेसियालाई । यतिमात्र होइन महाथिरजस्ता राष्ट्रवादी र विकासप्रेमी नायकलाई जन्म दियो मलेसियाले, जसले छोटो समयमै नजिकैको इन्डोनेसियाभन्दा कैयौँ गुणा विकासे फड्को मारेर दुनियाँलाई चकित पारिदिए, र देखाइदिए आफ्नो विलक्षण विकास–शक्तिको परीक्षा पराई मुलुकलाई ।

कुनै बेला बेलायती उपनिवेश रहेको मलेसियाले भौतिक विकासमा फड्को मारेको धेरै भएको छैन । इन्डोनेसियाबाट आएका बहुसङ्ख्यक आदिवासी भूमिपुत्र मुसलमान सम्प्रदाय, चिनियाँ मूलका व्यापारिक वर्ग र अल्पसङ्ख्यक भारतीय मूलका (विशेषगरी तमिल सम्प्रदाय) को आधिकारिक बसोवास रहेको मलेसियालाई समुद्रहरूले पनि समृद्ध बनाएको छ ।

मलेसियाको पहिलाको नेपाली नाम मलाया थियो । मलाया पहिले–पहिले सैनिक भर्ती लाहुरे (लाहोरमा भर्ना हुने भएकाले जन्मिएको शब्द तत्कालीन भारत र हाल पाकिस्तान) भएर बेलायती उपनिवेशकालीन भारतबाट लडाइँमा लगिने ठाउँविशेषले चिनिन्थ्यो नेपालमा । त्यसो त आजभोलि पनि रावाङ भन्ने ठाउँमा अझैसम्म पनि नेपालीहरूको सानो बस्ती छ । त्यहाँ द्वितीय विश्वयुद्धमा लडाइँ लडेका नेपाली परिवारहरूको बसोवास छ । त्यो बसोवास मिलाउन र नेपालीहरूलाई मलेसियाली नागरिकता दिन तत्कालीन प्रधानमन्त्री महाथिर मोहम्मदले नै भूमिका खेलेका रहेछन् ।

आजभोलि भने मलेसिया सस्तो श्रमबजारको रूपमा नेपालीमाझ चिनिएको छ । झन्डै चार लाखको हाराहारीमा नेपाली कामदार रहेको मलेसियामा इन्डोनेसिया र बङ्गलादेशपछि नेपाली कामदारको गणना हुन्छ ।

सन् १९५७ मा बेलायतबाट स्वतन्त्र भएको मुलुक मलेसियाको त्यतिबेला नेपालको भन्दा पनि आर्थिक अवस्था जर्जर थियो तर आज आएर मलेसियाली नागरिकको वार्षिक प्रतिव्यक्ति आम्दानी दस हजार अमेरिकी डलरभन्दा उकालो लागिसकेको छ र दिनानुदिन यो चुलिँदै छ ।

कहाँसम्म सत्य हो, भनिन्छ बेलायतीहरूले आफ्नो उपनिवेश रहँदा पाँच हजार भारतीय नागरिकसहित पाँच सयवटा काग मलेसिया लगेका थिए रे । त्यति धेरै सङ्ख्यामा रहेका भारतीयहरू त्यहाँ बाटो बनाउने र अन्य निर्माणकार्यमा सहयोग पु¥याउने परियोजनाका लागि मजदुर बनाएर लगिएको थियो । कागले चाहिँ फोहोर वस्तु खाने हुँदा सरसफाइको हिसाबले लगिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । कागले पर्यावरण पनि अनुकूल बनाइदिन्छ भन्ने धारणा छ । त्यसैले पनि होला नेपाली चाडपर्वमा कागलाई महङ्खवपूर्ण पंक्षी मानेर उसको नाममा पर्व राखिएको छ ।

त्यहाँ लगिएका पाँच हजार भारतीय मजदुरहरूको सङ्ख्या बढेर सात दशकपछि अहिले लाखौँ पुगिसकेको छ । भारतीय मूलका मान्छेहरू गएपछि उनीहरूका नातागोता र अन्यलाई पनि क्रमैसँग बिस्तारै लगेका प्रमाण भेटिएका छन् । हाल पनि भारतीय मूलका मानिसहरू मलेसियामा जहाँतहीँ भेटिन्छन् । तिनीहरूका बाबुमात्र त्यहाँ जन्मिएका र हजुरबुवा भने भारतबाटै गएका भन्ने शब्द तिनीहरूकै मुखबाट सुनिन्छ । मलेसिया आउँदा कतिका आफन्त र नातेदारहरू भारतमा नै छोडिएकाले हालसम्म पनि उनीहरूले आफ्ना नातेदारहरू खोजी गर्ने गरेका र नयाँ पुस्ताहरूले लगभग आफ्नो पुख्र्याैली थलो बिर्सिसकेको यथार्थ पनि छ्रयाप्छ्याप्ती भेटिन्छ । कतिको भारतमा रहेका आफ्ना सगोत्री सन्तानहरूको आवतजावत र सम्बन्ध मनग्य रहेको पनि छ । त्यसैले उनीहरूमा भारतप्रेम असाध्य छ ।

भारतबाट मलेसिया जाने प्रायः सबै हिन्दूधर्मी, विशेष गरी शैवमार्गी छन् । मलेसियामा हिन्दी भाषा नबोलिए पनि हिन्दी चलचित्र र हिन्दी गीतको बजार पत्याईनसक्नुको छ । भारतीय मूलका मलेसियालीहरू अधिकांश तमिलभाषी भएकाले तमिल चलचित्र हेर्न र तमिल गीत पनि प्रशस्त सुन्न पाइन्छ मलेसियामा । भारतीय मूल मात्र होइन मलेसियाकै मलेहरू पनि भारतीय कलाकार भनेपछि हुरुक्क हुन्छन् । यसो हुनुमा धेरै भारतीय चलचित्रको छायाङ्कन मलेसियामा हुनु पनि हो ।

सानातिना दर्जाका सरकारी जागिर, एकाध उच्च राजनीतिक पदहरूमा तमिल मूलका भारतीयहरू रहे पनि पछिल्ला दिनमा व्यापारको क्षेत्रमा चिनियाँ समुदायबाट उल्लेखनीय प्रगति गरेको देख्न पाइन्छ । त्यसो त मलेसियामा एक नम्बरमा चिनियाँ, त्यसपछि भूमिपुत्र मले र भारतीय मूलका मानिसहरू नै व्यापारमा देखिएका छन् । बहुराष्ट्रिय कम्पनीहरूको सङ्ख्या अत्यधिक रहेकाले बीस लाख मजदुरहरू मलेसियाको विकासमा सहयोगी भएका छन् । माथिल्ला सरकारी पद र राजनीतिक निर्णायक ओहदामा अधिकांश भूमिपुत्र मलेहरूकै बोलावाला छ मलेसियामा । भूमिपुत्र मुसलमानहरूका लागि सरकारले धेरै सुविधा दिएको छ । कति विषयमा भूमिपुत्र मलेबाहेक अन्य नागरिकलाई दोस्रो दर्जाको नागरिकझैँ लिइन्छ । यहाँसम्म कि बहुराष्ट्रिय कम्पनी र अन्य व्यापारिक प्रयोजनमा ५१ प्रतिशत लगानी भूमिपुत्रको नाममा हुनैपर्छ नत्र इजाजत पाइँदैन । त्यसैले निःशुल्क पाइने सेयरले गर्दा भूमिपुत्रहरू धेरै अल्छे, आराममुखी, आशामुखी भएर गइरहेको तर्क समाजशास्त्रीहरूले गर्न थालेका छन् मलेसियामा ।

बाटाघाटाको विकाससँगै भवननिर्माण–योजनाको उच्चतम नमुना भने मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा देख्न सकिन्छ । त्यहाँका भवननिर्माणको बनोट सम्भवतः एसियाकै उच्चतम वास्तुकला र वैज्ञानिक बनोटमा छ । हेर्दै आकर्षक, मनमोहक र उदाहरणीय लाग्ने पुत्रजयाले सबैको मन लोभ्याउँछ र मस्तिष्कलाई हुरुकहुरुक पार्छ । हेर्नैपर्ने ठाउँको नाम हो पुत्रजया । जानैपर्ने ठाउँको नाम हो पुत्रजया र सम्झनै पर्ने ठाउँको नाम हो पुत्रजया ।

त्यसो त वास्तुकला र सुन्दरताका हिसाबले क्वालालम्पुरका जुम्ल्याहा भवन सम्भवतः विश्वमै प्रख्यात छन् । किनभने त्यस भवनमा प्रयोग गरिएको मानवीय कालिगडीले प्रत्येक मान्छेलाई मोहनी नलगाई छाड्दैनन् । झन् साँझ र रात्रिपख देखिने चाँदीमय प्रकाशको आभाले जुम्ल्याहा भवन उज्यालिँदा यस्तो लाग्छ मानौँ स्वर्गको एउटा भाग नै हो त्यो । जुन पृथ्वीमा खसेर मान्छेका आँखाहरूलाई हेर्नुको मजामा बेहुला–बेहुली भएर अन्मिएको छ ।

मैले चीनको सेन्जेन टावर हेरेको छु, चीनकै संसार हेर्ने झ्याल भनाउँदो आइफेल टावरको कान्छो भाइका टाउकाबाट आकाश सुुम्सुम्याएको छु । चीनकै गन्झाउ टावर र सङ्घाईको (एसियामा पहिलो र संसारकै तेस्रो उचाइ ४६८ मीटर) को पर्ल टावरको टुप्पाबाट भेटिएसम्मका दृश्यहरू हेरेर मनलाई धन्य बनाएको छु । त्यतिमात्र होइन जापानको टोकियो टावर, हङ्कङको ओसियन पार्क टावर, कोरियाको सामुद्रिक सतहभन्दा ३६० मिटर उचाइमा रहेको शिओल टावर र कोरियाकै होङ नदीको किनारमा अवस्थित ६३ तले भवनले चुनौती दिने सम्पदाहरूको उचाइ र त्यसमा आत्मसात् गरिने अलौकिक अनुभव समेत सँगालिसकेको छु । तर मलाई मलेसियाको ४५१ मिटर अग्लो यो जुम्ल्याहा भवनजत्तिको मन अरू कुनैले तानेनन् । त्यसैले मैले प्रत्येक पटकको मलेसिया यात्रामा प्रायजसो साँझ र रातीका समयमा ती जुम्ल्याहा भवन छेउमै गएर रम्नसम्म रम्ने गरेको छु । हेरेर, छोएर र सुम्सुम्याएर पुलकित भएको छु र तिनीहरूसित कहिल्यै नरित्तिने माया लाएको छु । खोइ कस्तो जादु छ ती जुम्ल्याहाको सौन्दर्यमा, हरेकपटक म हुरुक्कै भएको छु ।

ááá

एक्लै हिँडेर मैले क्वालालम्पुर टावरलाई गोलाकार रूपमा बाँधिसकेको रहेछु । मैले जति सोचेँ एक्लै रहेर नै सोचेँ । समूहका बीचमा रहे पनि म एक्लै थिएँ र मलाई चिन्ने कोही थिएन त्यस यात्राभरि । सबैभन्दा नरमाइलो चाहिँ समूहबीचमै रहे पनि एक्लै हुँदाको, एक्लै बन्दाको र कसैसँग नबोल्दाको क्षण हुँदो रहेछ । यद्यपि पूर्वीय मान्यतामा मौन रहनु एक किसिमको योग हो । भनिन्छ जसले मन स्थिरमा राख्छ र मानसिक शान्ति दिन्छ ।

सोच्दासोच्दै म क्वालालम्पुर टावरबाट टावरलाई दाहिनेतिर पार्दै कोतरायछेउको बाटो हुँदै कोठामा आइपुगेछु । पसिनैपसिनाले भिजेको शरीरबाट लुगा फुकाएर मैले पुनः अठ्तीस तला माथिबाट क्वालालम्पुर टावरलाई हेरँे । ऊ अझै मेरो नजिकजस्तो लाग्यो मलाई । यस्तो लाग्दै थियो कि मेरो खुसी, थकान र दुःख ऊ पनि साट्न चाहन्छ मसँग । तर म विवश थिएँ उसका सम्पूर्ण मौन भाषा बुझ्न नसक्नुमा र विवश थिएँ आफ्नो संवेगीय कमजोरीमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।