ईस्ट नदीपारि म्यान्हटन् शहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ खपेर आएको उसलाई यो झिलिमिली र वैभव्यले अनौठो लागेको मात्र होइन्, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालयित हुने होलान् ! उसका आँखा अगाडि काठमाडौँको अमेरिकी दूतावास अगाडि पाल टाँगेर लाघ्रे हुँदै महिनौँ बिताउने जमातको तस्वीर नाच्न थाल्छन्— ती “ती डी.भी. चिठ्ठा पीडितहरू !”
तल ईस्ट नदीको पानीमा टल्किरहेका गगनचुम्बी महलहरूको झिलिमिली पनि उत्तिकै आकर्षक थियो, आधा हिउँ पग्लेर आधा जति खाल्डा खोविल्डामा बाँकी रहेर सडकको बत्तीको उज्यालोमा टल्किरहेका थुप्राहरू र नाङ्गा रूखहरू पनि म्यानहटनको झिलिमिलीले गर्दा आफ्नै प्रकारले आकर्षक देखिन्छन् । अक्टोजेन भवन भनेर चिनिने आवासिय घरको दुइतिर देखिने अलगअलग पुलहरूमा बत्तीको प्रकाशले गर्दा दिउँसो भन्दा बढी नै खुले जस्तो लाग्थ्यो । अलि पर एउटा विशाल भवन उभिएको— पानीको माझमा छुट्टै । एउटा बेग्लै वास्तुकलालाई प्रतिनिधित्व गर्ने त्यो भवन त जेल अर्थात् विशेष प्रकारको कारागार हो भन्ने सुन्दा उसलाई आश्चर्य पनि लाग्छ । अनि उसका आँखा अगाडि विभत्स अवस्थामा रहेको नखु जेल, केन्द्रीय कारागार र डिल्लीबजार खोर र त्यसपछि किताबमा पढेका तीभन्दा पनि गएगुज्रेका कारागारहरू नाच्न थाल्छन् ।
यो जादूनगरी, यो सपनाको संसारमा ऊ यसपटक पसेको दुई हप्ता पनि बितेको छैन, उसले काठमाडौँको जताततै देखिने फोहोरको डङ्गुर बिर्सिएको छैन, न त उसले बस बिसौनीमा सडक नै बन्द गर्ने गरी तीनचार लाइनमा जबर्जस्ती यातायात रोकिरहेका टेम्पो, माइक्रोबस र मिनीबस, अनि तिनैभित्र छिर्न आतुर हूललाई आँखाबाट हटाउन सकेको छ । हिजै त हो नि ऊ पुलपारी गएर बस चढेको, मान्छेहरु एक अर्कालाई रत्तिभर स्पर्श नगरी लाइन लागेका ! ऊभन्दा तीन यात्री अगाडि उभिएकी एउटी गोरी केटीलाई अफ्रिकन–अमेरिकन बस चालकले खुद्रा सिक्का र मेट्रो टिकट नभएको कारणले ओरालिदियो, देख्दा बिरामीझैँ लाग्ने त्यो बिचरीले लाइनमा उभिएका अरू दुइ जनासँग गुहारेर सिक्का जम्मा गरेर फेरि बसभित्र चढी । भास्करलाई अनौठो अनुभव भएको थियो । नेपालमा भए कि त त्यो केटी विना टिकट यात्रा गर्ने भाग्यशाली हुन्थी, कि त बस चालक अन्य सहयात्रीको आक्रोशको शिकार हुन्थ्यो । कहाँ पाउनु त्यस्तो अनुशासित र कानून मान्ने मान्छेहरू आफ्ना देशमा ?
भास्कर २१ औँ तल्लाको आफ्नो कोठाको वरण्डाबाट न्यूयोर्क शहरको झिलिमिली र आपूm बसेको टापूको दुवैतिर हावाले हुत्याएर बगाएको ईस्ट नदीको पानीको बहावको आनन्द लिइरहेको थियो । आजै कामबाट चाँडो आउनु, अनि अनुशीला कामको खोजिमा बाहिर निस्केकीले ऊ घरमा एक्लै थियो । अनुशीलाले काम पनि पाउने हो कि होइन ! आफ्नो देशको एम.ए.को डिग्रीले यो ठाउँमा केही माने अर्थात् मूल्य नराख्ने रहेछ । भास्करलाई दुइ वर्ष अगाडि आफ्नो मेधावी भतिजोले दुखेसो पोखेको सम्झना हुन्छ—
“के गर्नु अंकल ! छानिएको त थिएँ, तर एक जना को हो कुन्नि ! अमेरिकामा ग्रा्यजुएट गरेर आएको रे ! उसलाई पो लिए त ! हेर्दा त त्यति तेज देखिँदैनथ्यो, के विशेषता देखे कुन्नि !”
भास्करको भतिजो कलेज टप गरेको र सबै कुरामा तेज थियो । तर त्यो नाम चलेको गैरसरकारी संस्थामा जागीर खाने उसको धोको पुगेन । भास्करले पनि केही गर्न सकेन । उसलाई कहिलेकाहीँ आत्माग्लानी हुने गथ्र्योे । एम. ए. पास उसकी स्वास्नीलाई सानोतिनो पसलमा क्यासियरको जागीरमा पनि यो ठाउँमा कसैले पत्याएन !
भास्कर र अनुशीला भर्खरै डि.भी. चिठ्ठामा न्यूयोर्क छिरेका थिए । सडक विभागको जागीर भए पनि सरकार फेरिए पिच्छे भकुण्डो जस्तो भएर ठाउँठाउँ चाहारिरहेको उसलाई यो संयोग परेको थियो— त्यो पनि उसकी पत्नी अनुशीलाको कारणले ! भास्करले ईस्ट नदीमा छचल्किरहेको पानीमा आफ्नो सेवा निवृत्त हुन लागेका शिक्षक बाबुको अनुहार नाचेको देख्छ, हिँड्ने बेलामा डबडबाएका आँखा लिएकी आमा, अति भर्खरै अन्मिएर गएकी बहिनीको मलिन मुख !
“तेरो राम्रो होस् ! हामीले के भन्ने अब !”
“आउलास् नि दुइचार वर्षमा बाबु !”
“भाउजूले त कलेजमा बिदा मात्र लिनुभएको हैन ?”
त्यतिबेला भास्करको भक्कानो नछुटेको पनि होइन, तर हिँड्ने बेलामा आफैँले त्यसो गर्दा के गर्लान् भनेर उसले आपूmलाई सम्हालेको थियो ।
पहाडबाट राजधानी छिरेको सानो परिवार थियो उसको । बाबु विभिन्न कारणले निजामती जागीरमा छिर्न सकेनन्, तर उनको मास्टरी पेशा राम्रै चलेको थियो, स्कूल ट्युसन आदि गरेर राम्रै गरेका उनले झन् भास्करले पढाइ सकेर सरकारी इञ्जिनियरको जागीर पाएपछि त निकै राम्रो थियो ।
बाहिर अँध्यारो हुँदै थियो अनुशीला अझै आइपुगेकी थिइन । हिजै उनीहरूको कुरा भएको थियो— कसै गरी भए पनि यतातिरको डिग्री नभए तालीम लिइहाल्नुपर्यो !
अहिले भास्करको जागीर राम्रै भए पनि पछिको के ठेगान ? यत्रो आर्थिक मन्दी छ ! बसाइ पनि त सँधै अहिले जस्तै गाँस्सिएर बस्न त गाह्रो होला ! आदि आदि । हिजै एउटा पुरानो साथीले भास्करलाई भन्दै थियो—
“पहिले अमेरिका आउन आतुरी, त्यसपछि काम पाउन आतुरी, काम पाएपछि राम्रोसँग बस्ने आतुरी, अनि यहाँकै जीवनशैली अनुसार साधनसम्पन्न हुने आतुरी, त्यसपछि केटाकेटीलाई राम्रो शिक्षा दिने आतुरी, के के आतुरी के के !”
हुन पनि कुनै न्यूनतम आवश्यकता नभएको समाज जस्तो लाग्छ भास्करलाई अमेरिकाको समाज । दुइ दिन अगाडि मात्र पल्लो फ्ल््याट्मा बस्ने सामान्य देखादेख भएकी एउटी केटीको कुरो सुन्दा छक्क परेको थियो । पेशाले मोडेल त्यो केटी छ सात महिना अगाडि मात्र कुनै कम्पनीसँग आवद्ध भएर त्यहाँ बस्न आएकी रे ! त्यसपछि उसले अर्कै राम्रो ठाउँमा सम्बन्धन हुने अवसर पाइछ, अनि त आफ्ना सबै कुरा त्यहीँ छाडेर अर्थात् मिल्काएर म्यानहटन्मा बस्न गइ रे नयाँ कम्पनीको फ्ल््याट्मा ! हारालुछ गरेर उसका सामान त्यो बिल्डिङ्का कामदारले लगेछन् ।
भास्करले आफ्नो संसार सम्झिन्छ । उसको बाबुको कोठामा तीस वर्ष पुरानो टेबुल त्यसै सजिएको थियो अनि उसको आफ्नै बूक् ¥याक आई.एस्सी. पढ्दा किनेको । तर ती र अरू केही सामान पनि फ्याँकिदिने उदारता उसको समाजले मान्दैन । आमाले कुन जुगको कीटको कराहीमा अझै साग झ्वाँइ पार्दै थिइन्, बाबुले सायद राजा वीरेन्द्रको राज्याभिषेकको कालो कोट पनि यदाकदा लगाएर हिँडेकै थिए ।
ढोका खुलेको आवाजले भास्करको ध्यान कोठातिरै फर्किन्छ ।
“ए ! आइसकेको ? निकै थाकियो आज त ! कति भीड सब्वैमा यो बेला त !”
अनुशीला कोठाभित्र छिरिसकेकी थिइ ।
“भयो त ?
“तीन दिनको पैसा दिन्न भन्छ, आठ डलर दिन्छ रे घण्टाको; हप्ताको पाँच दिन !”
“ठिकै छ नि ! त्यति भयो भने एउटा स्टुडियो (एक कोठाको फ्ल््याट्) लिनुपर्ला रिजबुड्तिर भए पनि ।” रिजबुड् म्यानहटनबाट अलि टाढा नै छ ।
“त्यति टाढा नजाने कि ?”
उनीहरूलाई गाँस्सिएर बसेको ठाउँ छाडेर आफ्नै ठाउँमा सर्ने आतुरी थियो । आपूm स्थापित नहुँदासम्म अझ कुनै उपाय पनि त हुन्न नि ! तर यो त अमेरिका प्रवासको एउटा जीवनपद्धति नै रहेछ । डेरामा एउटै भान्छा र अझ एउटै फ्रीज बाँडेर बस्ने भन्ने कुरो आफ्नो देशमा अलि उदेक लाग्ने भए पनि यता त बाध्यता पनि छ नि !
“छिरिङ्का बुढाबुढी कतिबेला आउँछन् ? खाना पो बनाउने हो कि ?” अनुशीला लुगा फेर्दै थिइ ।
छिरिङ्— भास्करको पुरानो मित्र, बास र गाँस अर्थात् दुवै चीजको प्रबन्ध गरिदिने मान्छे ! उनीहरू कलेजमा सँगै थिए, तर व्यापारी बाबुको छोरो छिरिङ् त्यसपछि अमेरिका छिरेको थियो अहिले त राम्रै ठाउँमा जागीर र सुविधासम्पन्न भएर बसेको छ !
“तीन महिना जति बस न, त्यतिबेलासम्म त एउटा व्यवस्था भइहाल्छ नि !” भास्कर आइपुगेको दिन छिरिङ्ले त्यसो भनेको थियो ।
“भइहाल्छ नि ! बरु एक एक कप कफी खाने हो कि ?”
यति भनेर भास्कर फेरि बरण्डातिर लाग्छ । म्यानहटनको झिलिमिली र ईस्ट नदीको निरन्तर बहाव उस्तै थियो । न्यूयोर्क सहरको तीनवटा बोरो (इलाका) जोड्ने ट्राइबोरो पुलको रङ्गीचङ्गी बत्तीको झिलिमिली झन् बढ्दै थियो । नदीको किनारामा डुल्ने मान्छेहरूको भीड भने केही कम भएको थियो ।
“आज फोन गर्ने हो कि ?”
“काममा जाउँ, अनि एकैपल्ट गरौँला नि !”
“त्यसो भए भोली गर्नुपर्ला, बहिनीको जन्मदिन पनि हो ।”
भास्करलाई अनौठो असमञ्जस भइरहेको छ । नयाँ ठाउँ, नयाँ घर नयाँ जागीर मात्र नभएर नयाँ जीवनपद्धति बनाउनु पर्ने बाध्यता छ उसलाई । परिवार र समाजको बढी चिन्ता गर्ने मनोवृत्तिबाट टाढा भएर व्यक्तिवादी जीवनपद्धति अँगाल्नु पर्ने बाध्यता छ उसलाई । ऊ आफैलाई थाहा छैन आफ्नो जीवनपद्धतिको यो आमूल परिवर्तनलाई उसले कतिसम्म आत्मसात् गर्न सक्ला ।
मे २१, २००९
रुजवेल्ट टापू न्यूयोर्क
सं.रा. अमेरिका