17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरेसँग वार्ता

वार्ता कृष्ण बजगाईं October 4, 2009, 4:47 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं.१९९८ भाद्र ३ गते गहिराथोक, मन्थली, रामेछापमा जन्मनु भएका रोचक घिमिरे नेपाली साहित्यिक पत्रकारितामा अग्रणी नाम हो । नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष घिमिरेले २०१८ साल देखि रचना द्धैमासिकको सम्पादन तथा प्रकाशन गरि नेपाली साहित्यका अभिबृद्धि गर्दै साहित्यिक पत्रकारितामा एउटा बेग्लै इतिहास बनाउनु भएको छ । उहाँ विभिन्न १७ वटा पुरस्कार तथा सम्मानद्धारा सम्मानित हुनुहुन्छ । बिभिन्न साहित्यिक तथा सामाजिक संघ सस्थाको जिम्मेवार पदमा रहि महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएका साहित्यकार रोचक घिमिरेसँग समकालीन डट कमको लागि सम्पादक कृष्ण बजगाईंले इमेलबाट गर्नु भएको कुराकानी ।

१.‘रचना’ पत्रिकाको प्रारम्भको बारेमा छोटो जानकारी गराई दिनोस् न !

पिताजी सोमनाथ घिमिरे व्यास साहित्यकार हुनुहुन्थ्यो । घरको वातावरण साहित्यिक थियो । पिताजीका मित्रहरू–लक्ष्मीप्रसाद देवकोटा, मधुसूदन देवकोटा, जनकलाल शर्मा, योगी नरहरिनाथ, साम्वभक्त सुवेदी ‘मुरारि’ आदिको जमघट पिताजीको कोठामा हुने गर्दथ्यो । हिन्दी र नेपाली साहित्यिक पत्रिकाहरूका ग्राहक हुनुहुन्थ्यो पिताजी । केटोकटी देखि नै त्यस्ता पत्रिकाहरू पढ्ने र साहित्यकारहरूका रचना घरैमा तिनको मुखबाट सुन्ने वातावरणले गर्दा ममा साहित्यप्रति रुचि जाग्रत भयो । युवावस्थामा भैरव अर्याल र रमेश विकलसँग सङ्गत भयो । मैले पुस्तक र पत्रपत्रिकामा प्रशस्त खर्च गरेको देखेर भैरवले बरु हामी नै साहित्यिक पत्रिका निकालौं भन्ने सल्लाह दिए । विकलले पनि सघाउने वचन दिए अनि म आफैं सम्पादक–प्रकाशक भएर २०१८ सालको हिउँदमा चार महिनेको रूपमा ‘रचना’ प्रकाशित हुन थालेको हो । क्रमशः यो तीन महिने हुदै अहिले दुई महिनेको रूपमा निस्किरहेको छ । यो ४९ वर्ष पुग्यो र हालै पूर्णाङ्क १०३ प्रकाशित भएको छ ।

२.तपाईंले आफ्नो सन्तान र ‘रचना’मा कसको बढी पालनपोषण गर्नुभयो ?

सन्तानको पालनपोषण त मैले भन्दा तिनकी आमाले गरिन् । आफूले बिहा नगर्दै जन्माएको ‘रचना’ पत्रिकालाई पालनपोषण गर्नुमा नै मैले बढी उत्तरदायित्व ठानें । यसलाई हुर्काउन र टिकाउनमा मेरो बढी श्रम, सीप र जाँगर लागेको छ ।

३.तपाईंको शेषपछि रचना पत्रिकालाई के गर्ने विचार राख्नुभएको छ ?

निजी क्षेत्रबाट प्रकाशित हुने साहित्यिक पत्रिकाहरूले तिनका संस्थापकहरू सक्षम रहुञ्जेल अथवा जीवित रहुञ्जेल मात्र निरन्तरता पाएका उदाहरण थुप्रै छन् । राज्यबाट कुनै संरक्षण नपाएका, अनुत्पादक मानिएका अनि संस्थागत रूप नलिईसकेका साहित्यिक पत्रिकाहरूको नियति हामीकहाँ यस्तै रहेको इतिहास छ । ‘रचना’ को नियति पनि त्यस्तै हुने बलियो सम्भावना देख्छु । आफ्नो बाबुले गरेको कामलाई सार्थक र समाजोपयोगी ठानेर छोराहरूले निरन्तरता दिएर नयाँ इतिहास बनाए भने, त्यो अर्कै कुरा हो ।

४.तपाईं नेपाल साहित्यिक पत्रकार संघको अध्यक्ष हुनुहुन्छ । यो संघको बारेमा संक्षिप्त जानकारी गराईदिनोस् न !

नेपालका संपूर्ण साहित्यिक पत्रकारहरूको आधिकारिक संगठनको रूपमा स्थापित संस्था हो यो । नेपालका प्रायः सबै साहित्यिक पत्रकारहरू यसमा आवद्ध छन् । लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई अंगीकार गरेको छ यसले । नेपालका सबै भाषाका साहित्यिक पत्रिका, समाचार पत्रिका, रेडियो, एफ.एम., अनलाईन, टेलिभिजन आदि सबै माध्यममा कार्यरत, साहित्यिक स्तम्भ चलाउने, साहित्यिक कार्यक्रम प्रस्तुत गर्ने व्यक्तिहरूलाई साहित्यिक पत्रकार मानेर सदस्यता दिने प्रावधान छ नेपाल साहित्यिक पत्रकार संघको । साहित्यिक पत्रकारिता प्रति सत्ताले गर्ने उपेक्षा, भेदभाव र अन्यायप्रति राष्ट्रको ध्यानाकर्षण गराउदै, आफ्नो हकप्राप्तिको संघर्ष जारी राख्दै अघि बढिरहेको छ यो संस्था ।

५.यसले अहिलेसम्म गरेका मुख्यमुख्य कार्यहरू के के हुन् ?

२०६३ सालमा स्थापना भएपछि यसले हेटौंडामा साहित्य सङ्गम मकवानपुरसँग मिलेर २०६४ सालमा बृहत् साहित्यिक पत्रकारिता गोष्ठी गर्‍यो । त्यसमा दुईवटा साहित्यिक पत्रकारिता सम्बन्धी कार्यपत्र डा.तुलसी भट्टराई र विष्णु प्रभातद्वारा प्रस्तुत गरिए र १२ बुँदे हटौंडा घोषणापत्र जारी गरियो । त्यस अवसरमा पाका साहित्यिक पत्रकार गोविन्द ‘गोठाले’ र श्याम प्रसाद शर्मालाई सम्मानित पनि गरियो । अर्को पल्ट २०६६ मा चितवनमा प्रेस काउन्सिल सँगको सहकार्यमा मोफसल साहित्यिक पत्रकारिता संगोष्ठी गर्‍यो । त्यसमा इलाम र चितवनको साहित्यिक पत्रकारिता सम्बन्धी दुईटा कार्यपत्र शिव रेग्मी र डी.आर पोखरेलद्वारा प्रस्तुत गरिए । महाकविको शतवार्षिकी अवसर भएकोले ‘देवकोटा र साहित्यिक पत्रकारिता’ विषयमा डा.तुलसी भट्टराईद्वारा अर्को कार्यपत्र पनि प्रस्तुत गरियो । झापाका पाका साहित्यिक पत्रकार चूडामणि रेग्मीलाई सम्मानित पनि गरियो । त्यस अवसरमा १५ बूँदे चितवन घोषणापत्र पनि जारी गरियो । संघकै पहलमा ठूलो प्रयासपछि प्रेस काउन्सिलले साहित्यिक पत्रिकाहरूलाई पनि आफ्नो वर्गीकरण प्रकृयामा सामेल गर्न थालेको छ र तदनुरूप सूचना विभागले लोककल्याणकारी विज्ञापन दिन पनि सुरु गरेको भनेको छ । अव सूचना तथा सञ्चार मन्त्रालयबाट सबै साहित्यिक पत्रिकालाई हुलाक दर्ता सुविधा प्राप्त हुनुपर्ने माग कार्यान्वयन गराउन संघ प्रयत्नरत रहेको छ । संघले गरेका केही उल्लेख्य काम यिनै हुन् ।

६.प्रज्ञा प्रतिष्ठानमा यसको एकजना प्रतिनिधि स्वतः सदस्य हुनुपर्ने जस्तो लाग्दैन ?

साहित्यिक पत्रकारिता नै साहित्यकारहरूको उत्पादनशाला हो । साहित्यिक पत्रकारिताबाटै प्रकाशित–प्रोत्साहित भएर स्रष्टाहरू स्थापित हुन्छन् । यति महत्वपूर्ण क्षेत्रको प्रतिनिधित्व प्रज्ञा प्रतिष्ठानमा अवश्य गराइनुपर्दछ । नेपाल साहित्यिक पत्रकार संघले आफ्ना दुवै वृहत् भेलामा पारित घोषणापत्रद्वारा र अनेक भेला र कार्यक्रमद्वारा यो मागलाई उच्च प्राथमिकता दिएर अघि सारेको छ । प्रज्ञा प्रतिष्ठानमा नेपाल साहित्यिक पत्रकार संघको सिफारिसमा साहित्यिक पत्रकारको प्रतिनिधित्व अनिवार्य रूपले गराइनै पर्दछ भन्ने मागमा संघ दृढ रहेको छ ।

७.प्रज्ञा प्रतिष्ठान गठनको प्रकृया कस्तो हुनुपर्ला ?

प्रज्ञा प्रतिष्ठानको गठनमा विवादरहित, दीर्घ वाङ्मयसेवी, आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएका र प्रज्ञा प्रतिष्ठानको गरिमा बढाउने सामथ्र्य भएका व्यक्तिहरूलाई समावेश गर्ने मुख्य मापदण्ड बनाइनुपर्दछ । प्राज्ञिकतालाई पन्साएर समावेशितालाई बढी महत्व दिइने हो भने प्रज्ञा प्रतिष्ठानको महत्व क्षीण हुने निश्चित छ । जातीयतालाई आधार मान्नुभन्दा सम्बन्धित भाषा साहित्यलाई के कस्तो योगदान त्यस भाषाको स्रष्टाले दिएको छ त्यो हेरिनु उचित हुन्छ । यसरी गठन गरिएको प्रज्ञा प्रतिष्ठान नै विवादरहित र स्वीकार्य हुनेछ ।

८.साहित्यिक पत्रिकाको बजार कस्तो छ ?

साहित्यिक पत्रिकाको बजार नेपालमा मात्र होइन विश्वमा नै त्यति उत्साहवद्र्धक छैन । विद्युतीय माध्यमहरूको व्यापक विकास र तिनको सहज प्राप्तिको वर्तमान समयमा मान्छेले मनोरञ्जनका र समय व्यतीत गर्ने साधनका अनेक विकल्प छान्ने अवसर पाएको छ । यसले पनि साहित्यिक पत्रिकाको बजारलाई असर पारेको छ । तर पनि गम्भीर रुचिका बौद्धिक पाठकहरूको विशेष वर्गलाई प्रभावित पार्न सक्ने सामग्री प्रस्तुत गर्ने साहित्यिक पत्रिकाहरूको बजार ज्यादै निराशाजनक पनि छैन । यस्ता पाठकहरूको उपस्थिति नै साहित्यिक पत्रिकाहरूको बजार निम्ति सुखद पक्ष हो ।

९.साहित्यिक पत्रिका प्रायः अल्पायुमै मर्ने गर्छन् तपाईंले चाहिं यसलाई कसरी टिकाएर राख्नुभएको छ ?

आफूले जन्माएको सन्तानलाई अल्पायुमा नै मार्न कोही पनि अभिभावक चाहदैन । वाध्यताले नभै आफ्नै खुशीले, रहरले निकालेको ‘रचना’ पत्रिका अहिले त मेरो अम्मल भएको छ । अरु कुनै पनि लत वा अम्मल मेरो छैन । ‘रचना’ निकाल्दा नै मलाई आनन्द लाग्छ । ‘रचना’ अव मेरो अस्तित्वसँगै गाँसिएको छ । मेरा परिवारले पनि यो कुरा बुझेका छन् र मेरो खुशीमा उनीहरू पनि सामेल छन्; बाधक बनेका छैनन् । कतैबाट सहयोग पाएपनि नपाएपनि आफ्नै सामथ्र्यले आफ्नो क्षमताले भ्याउञ्जेल सकभर ‘रचना’ लाई मर्न नदिने अठोट मेरो छ । यसका अनेकौं हितैषी र शुभेच्छुकहरूको प्रोत्साहन, सद्भावबाट पाइने ऊर्जा नै मेरो आधार हो र यसबाट ‘रचना’ लाई जीवित राख्ने शक्ति पाइरहेछु मैले । ‘रचना’ अहिलेसम्म बाँच्नुको कारण यही हो ।

१०.सरकारी स्तरबाट कुनै सहयोग पाउने गर्नुभएको छ कि ?

सरकारी स्तरबाट सर्वप्रथम २०१८ सालमा तत्कालीन प्रचार विभागबाट २ वर्ष सम्म प्रति अङ्क ३००।– रुपियाँ सहयोग पाइयो । धेरै वर्षपछि क्षेत्रप्रताप अधिकारी शिक्षा सहायक मन्त्री हुँदा शिक्षा मन्त्रालयबाट रु. ५ हजार एकमुष्ट एकपटक सहयोग प्राप्त भयो । २०६१ सालमा भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा उहाँले हामी साहित्यिक पत्रकारहरूको आग्रह मानेर प्रज्ञा प्रतिष्ठान मार्फत् साहित्यिक पत्रिकालाई प्राप्त हुने गरी वार्षिक १५ लाख रकम सरकारी बजेटमा व्यवस्था गरिदिनुभयो र त्यसैबाट ‘रचना’ ले २०६२ सालमा रु.६० हजार प्रज्ञा प्रतिष्ठानबाट प्राप्त ग¥यो । त्यसो त महेश आचार्य अर्थमन्त्री हुँदा २०५६ सालको बजेटमा रु.२ लाख साहित्यिक पत्रिकाको लागि छुट्टयाउनुभएपनि साहित्यिक पत्रिकाले त्यो पाएनन्–अन्यत्र नै खर्च भयो । यसरी आज ४९ वर्षसम्म ‘रचना’ ले सरकारबाट पाएको रकम माथि भनिएजति मात्र हो । प्रज्ञा प्रतिष्ठानको साहित्यिक पत्रिका सहयोग कोषमा बर्सेनि सरकारले १५ लाख रुपैयाँको व्यवस्था गरिदिएपनि प्राज्ञहरू नभएको अत्तो थापेर त्यो कोष गत चार वर्षदेखि निष्कृय राखिएको छ । प्रेस काउन्सिलले वर्गीकरणमा पारेका साहित्यिक पत्रिकालाई सूचना विभागले विज्ञापन दिने निर्णय गरेपनि ‘रचना’ सहितका केही पत्रिकाले लोककल्याणकारी विज्ञापन छापे वापतको रकमको भुक्तानी अझै पाएका छैनन् । साहित्यिक पत्रिकालाई विज्ञापन दिनु दान दिनु, कृपा गर्नु जस्तो ठान्ने प्रवृत्ति सरकारी निकायहरूमा कायमै छ ।

११.साहित्यिक पत्रिका र पत्रकारका लागि सरकारले के गरोस् भन्ने चाहनुहुन्छ ?

सरकारले समाचार पत्र–पत्रिकाहरूले पाए सरह नै साहित्यिक पत्रिकाहरूलाई पनि विना भेदभाव नियमित विज्ञापन सहितका यावत् सुविधा र सहुलियत दिनुपर्दछ । साहित्यिक पत्रकारहरूलाई पनि समाचार पत्रपत्रिका र अन्य सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले पाए सरहका हक–अधिकार; सुविधा सहुलियत सरकारले दिनुपर्दछ । साहित्यिक पत्रिकाहरूले सरकारसँग आफ्नो हक माग्दा दान मागेको ठान्ने र अरु क्षेत्रले त्यस्तै कुरा माग्दा चाहिं अधिकार मागेको, न्याय मागेको ठान्ने प्रवृत्ति भत्र्सनायोग्य छ । यस्तो प्रवृत्तिलाई अन्त्य गरी साहित्यिक पत्रकारिताको उन्नतिमा सहयोगी भूमिका सरकारले खेलिदिए पुग्छ । यसो भए साहित्यिक पत्रिकाहरूको स्थायित्व र विकासमा टेवा पुग्ने निश्चित छ ।

१२.तपाईंको विचारमा साहित्य के हो ?

आफ्नो जीवनमा मान्छेले जे जस्तो ज्ञान र अनुभव बटुल्छ त्यही अनुभवको भण्डार हो–साहित्य । व्यक्तिबाट साहित्य जन्मन्छ र व्यक्तिले नै त्यसलाई ग्रहण गर्छ; अतः साहित्य व्यक्ति अर्थात् मानव जीवनका लागि नै हो । मानवीय मूल्य र महत्ताको गरिमा उकास्न मानवलाई प्रेरित गर्नु साहित्यको मूल दायित्व हो । जीवनको कुनै पनि पक्षको अस्पष्ट चित्रण गर्नु साहित्यको गुण होइन । समाज र जीवनको यथार्थ स्थितिको तस्वीर खिचिएको हुनुपर्छ साहित्यमा । त्यस्तो साहित्य पढेर नै हामी जीवनयात्रा सफल पार्ने प्रेरणा पाउन सक्छौं ।

१३.अहिलेको बदलिदो परिवेशमा समयले कस्तो साहित्य माग गरेको छ ?

आफू बाँचेको समय, परिवेश र समाजको यथार्थ चित्रण भएको साहित्यको खाँचो छ अहिले पनि । आफ्नो माटोको सुवास नभएको साहित्य धेरै दिन बाँच्न सक्तैन । विभिन्न वाद, प्रयोग र बौद्धिक विलासले रङ्मगिएको साहित्यले केही समय चटक देखाउला, तर त्यो शाश्वत हुन सक्तैन ।

१४.तपाईंका अहिलेसम्म कुनै पुस्तक प्रकाशित भएका वा प्रकाशोन्मुख छन् कि ?

मेरो अहिलेसम्म प्रकाशित एकमात्र पुस्तक ‘सम्झनामा फक्रिएका थुङ्गाहरू’ हो । त्यो साझा प्रकाशनले २०५६ सालमा छापेको हो । ‘विचार र वृत्तान्त’ नामक पुस्तकको पाण्डुलिपि प्रज्ञा प्रतिष्ठानमा थन्किएको १२ वर्ष भयो । ‘केही स्रष्टा केही स्मृति’, ‘नेपाली साहित्यिक पत्रकारिताःविगत र वर्तमान’, ‘रोचक–घोचक’ (सामयिक व्यङ्य) यी केही पुस्तकका पाण्डुलिपि तयार छन् । आफ्ना पुस्तक छाप्नुभन्दा ‘रचना’ पत्रिकालाई प्राथमिकता दिनु नै उचित लाग्छ मलाई । यही हो मेरा पुस्तक प्रकाशित नहुनुको कारण ।

१५.तपाईंका कृतिले वा तपाईं आफैंले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नुभएको छ कि ?

‘सम्झनामा फक्रिएका थुङ्गाहरू’लाई २०५६ सालको उत्तम शान्ति पुरस्कार प्राप्त भएको हो । प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कार, वीसाप साहित्यिक पत्रकारिता पुरस्कार, वन्धु पन्त स्मृति सम्मान आदि विभिन्न सम्मान पुरस्कार पाएको छु । तर एउटा साहित्यिक पत्रकारको रूपमा साहित्यिक क्षेत्रले दिएको परिचयलाई नै मैले आफ्नो ठूलो सम्मान ठानेको छु ।

१६.अबको संघीय नेपालमा नेपाली भाषा साहित्यको अवस्था के होला ?

अनेक जात, जाति, भाषा, धर्मको किचलोबाट खण्ड–विखण्ड हुदै छ मुलुक । नेपालीहरूको आफ्नो हुदै नभएको भाषालाई समेत मातृभाषाको मान्यता दिलाएर नेपाली भाषाको समकक्षमा राख्ने विवेकहीन मतिलाई अँगाल्दै छन् हाम्रा नीति निर्माताहरू । यस स्थितिमा नेपाली भाषा संकटग्रस्त बनेको छ अहिले । तर यही स्थिति धेरै समय रहदैन । सम्पूर्ण नेपालीको मन–मथिङ्गलमा आसन जमाइसकेको नेपाली भाषा कसैले होच्याउँदैमा, हेला गर्दैमा थिचिएर दबिएर रहने छैन । नेपालका सवै भाषाको उन्नति हुनु पर्दछ, यसमा कसैको विमति छैन । तर सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा गाँस्ने सामथ्र्य भएको भाषा नेपाली नै हो । अतः उसको यो ठाउँ सुरक्षित नै रहनेछ र नेपाली साहित्यको स्थिति पनि बलियो नै हुने कुरामा म विश्वस्त छु । केही समयको यो विचलन दिगो भएर पक्कै रहने छैन ।

१७.अब लेखिने सम्विधानमा नेपाली भाषा साहित्यका बारेमा के कुरा किटानीसाथ लेखियोस् भन्ने चाहनुहुन्छ ?

सरकारी कामकाजको भाषा नेपाली हुनेछ । नेपालीहरूको सम्पर्क भाषा नेपाली हुने छ र नेपालको प्रमुख राष्ट्रभाषा नेपाली नै हुनेछ । नेपाली भाषा र साहित्यको उन्नति गर्नु राष्ट्रको दायित्व हो । यिनै कुरा सम्विधानमा किटानी साथ लेखिनु पर्दछ ।

१८.अन्तर्राष्ट्रिय स्तरका नेपाली साहित्य लेखिएको थाहा पाउनुभएको छ ?

अन्तर्राष्ट्रिय स्तरका नेपाली साहित्य अवश्य लेखिएका छन् । हाम्रै महाकवि देवकोटाका केही कृति त्यो स्तरका छन् । नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको छैन भनेर हीन भावना लिनु पर्दैन हामीले । आजका कतिपय स्रष्टाका रचना पनि अन्तर्राष्ट्रिय साहित्यसँग कुम जोर्ने सामथ्र्य राख्तछन् ।

१९.नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन के गर्नुपर्ला ?

मूल कुरो नेपाली भाषाका उत्कृष्ट लोकपृय कृतिलाई अंग्रेजी र विश्वका अरू कुनै प्रमुख भाषामा स्तरीय अनुवाद गरेर प्रकाशित गर्नुपर्‍यो । पुस्तकको मुद्रण, प्रकाशन साजसज्जा पनि अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्‍यो । विदेशका प्रमुख प्रकाशन संस्थाहरूद्वारा ती पुस्तक छापिने, वितरण हुने व्यवस्था गरिनुपर्‍यो । यस्ता सामग्री अनलाइनमा पनि राख्नुपर्‍यो । यसो भए नेपाली साहित्य पनि अन्तर्राष्ट्रिय स्तरमा सहज रूपमा पुग्न सक्छ र विश्वका पाठकहरूले हाम्रो साहित्यका नितान्त नौला स्वादिला सामग्री चाख्न पाउने छन् ।

२०.अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा साहित्यमा कुनै कार्य भएको थाहा पाउनुभएको छ ?

विश्वका विभिन्न मुलुकबाट नेपाली साहित्यका बारेमा केही सार्थक काम भएका छन् । रूस–अमेरिका–बृटेन–भारत आदि मुलुकबाट नेपाली साहित्यका कृतिका अनुवाद प्रकाशित भएका छन् । एन.आर.एन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जस्ता संस्थाले यतातिर केही ठोस काम गरेका छन् । नेपाली साहित्यलाई अनलाइन मार्फत् प्रस्तुत गर्ने काम पनि भएका छन् । यस्तै केही जानकारी मलाई छ ।

२१.अन्तमा समकालीन साहित्य डट कम मार्फत् नेपाली साहित्यका पाठकहरूलाई केही भन्नु छ कि ?

‘समकालीन साहित्य डट कम’ ले विदेशबाट नेपाली भाषा साहित्यको जे जस्तो सेवा गरेको छ त्यसबाट विश्वका सम्पूर्ण नेपाली साहित्यप्रेमीहरू लाभान्वित भएका छन् । नेपाली साहित्य अहिले कुन बाटोमा हिडिरहेको छ, यसमा के कस्ता प्रयोग भएका छन्; विश्व साहित्यमा यसको कुन ठाउँ छ ? आदि पक्षबारे पाठकलाई जानकारी दिने ‘समकालीन साहित्य डट कम’ जस्ता माध्यमहरूले गरेको सेवालाई ज्यादै महत्वपूर्ण मान्नुपर्दछ । यस्तो वेब साहित्यिक पत्रकारिताको योगदानबाट नेपाली साहित्यिक पत्रकारिताको प्रगतिमा ठूलो टेवा पुग्दछ । यस्ता संस्थाहरूलाई प्रोत्साहित गर्नु सम्पूर्ण साहित्यिकहरूले आफ्नो कर्तव्य ठान्नुपर्दछ । विश्वमा जहाँ रहेपनि आफ्नो भाषा, साहित्य र संस्कृतिलाई माया गरुञ्जेल नेपाल राष्ट्र र नेपाली जातिको अस्तित्व कायम रहने छ । आफ्नो पन छाडेर पराईपन अँगाल्ने हो भने हाम्रो अस्तित्व विलीन हुनेछ; यो कुरा हामी कहिल्यै नबिर्सौं । सम्पूर्ण नेपाली भाषा–साहित्यप्रेमी हरूमा मेरो यही विनम्र आग्रह छ । धन्यवाद ।

३ अक्टोवर, ०९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।