18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कथाकार मधुवन पौडेलसँग साहित्यिक गफगाफ

वार्ता कृष्ण बजगाईं October 4, 2009, 3:55 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

२००८ जेष्ठ ४ का दिन जन्मनु भएका कथाकार मधुवन पौंडेल नेपाली आधुनिक कथा लेखनमा प्रतिष्ठित नाम हो । उहाँका ५ वटा कथा संग्रह र एउटा इतिहासको पुस्तक प्रकाशित छ । एम्.ए., बी.यल तथा अन्तर्राष्ट्रिय आर्थिक कूटनीतिमा डिप्लोमा गर्नु भएका कथाकार पौडेल लामो समयसम्म सरकारी कुटनैतिक सेवामा कार्यरत हुनुहुन्थ्यो । कथाकार पौडेललाई नेपाल सरकारले हालै कुवेतका लागि राजदुत पदमा शिफारिश गरेको छ । उहाँसँग समकालीन साहित्य डट कमको लागि सम्पादक कृष्ण बजगाईंले इमेलबाट गर्नु भएको कुराकानी ।

१.तपाईंको पछिल्लो कृति कुन हो?

पुस्तकाकारमा मेरो पछिल्लो कृति प्रज्ञा–प्रतिष्ठानद्वारा २०५८ सालमा प्रकाशित कथासङग्रह अवतरण र अरू कथाहरू हो । त्यसपछि म लगभग ५ वर्ष विदेश बसेकोले सङ्ग्रह निकाल्न समय र अरू बाध्यताले गर्दा सकिएन । अहिले २ वटा सङ्ग्रह निकाल्ने प्रयास गर्दैछु, जसमध्ये एउटा भारत लगायत अन्य डायोस्पोरिक पृष्ठभूमिमा मैले विभिन्न समयमा लेखेका प्रकाशित कथाहरू छन् र अर्को त्यस्तै छरिएका कथा हुनेछन् ।

२.तपाईंको लेखनको सुरुवात कहिलेदेखि कुन विधाबाट सुरु भएको हो ?

मैले लेखनको शुरुवात सानै उमेरमा कविताबाट गरेको हुँ । लेख्न प्रोत्साहन नगरे पनि यसको श्रेय स्व. भैरव अर्याल र पुरु रिसाललाई दिन्छु । वहाँहरूसँग म एउटै डेरामा बस्थेँ र त्यतिबेला नै मैले रचनाका सम्पादक श्री रोचक घिमिरे र स्व. कथाकार रमेश विकललाई चिन्ने मौका पाएँ । मैले लेखेको पहिलो कविता “कति खुशिलो हाम्रो नेपाल” अन्तर हाइस्कूल साहित्य प्रतियोगितामा दोस्रो पुरस्कृत भएको थियो । रमेश विकलले “नयाँ सडकको गीत” कथासङ्ग्रहका लागि मदन पुरस्कार पाउनु भएपछि हाम्रो डेरामा सबैलाई मासु चिउरा खुवाउनु भएको सम्झना छ ।

त्यहाँबाट म अन्यत्र डेरा सरेपछि लेख्न पनि बन्द भयो । २०२५ सालमा फेरि मैले साहित्यमा पाइला हालेँ— कथाबाट । “फकीरको झोली” नामको कथा लेखेको थिएँ । कलेजको मुखपत्र ‘ललिता’का लागि, तर सम्पादक विदुर खड्काले मेरो अर्को अङ्ग्रेजीको ऐतिहासिक लेख मात्र छापिदिए । त्यो कथा पनि कता हरायो ! पढाइ सकिनासाथ यताउति काममा लागियो, साहित्यिक माहोल पनि भएन । लेखे पनि निबन्ध र ऐतिहासिक लेखहरूसम्म सिमित भयो । त्यसपछि किशोर कुँवर र उनका दाइ रूपरेखाका सम्पादक उत्तम कुँवरसँग चिनजान भयो । उत्तम दाइले वास्तवमा मलाई कथा क्षेत्रमा पुनः प्रवेश गराउनुभयो । मैले २०२८ साल यता हात्तिमार कापिमा लेखेका सबै कथा उहाँले रूपरेखामा छापिदिनुभयो । यसरी सुरु भयो मेरो कथा यात्रा । मलाई सुरुका दिनहरूमा लेख्न प्रोत्साहन गर्ने स्वर्गीय नारायणबहादुर सिंह पनि हुनुहुन्थ्यो । हालका दिनहरूमा पनि मेरो हितैषी र मित्रहरू मलाई लेख्नलाई निरन्तरता दिन प्रोत्साहन गरिरहनुहुन्छ । कोही कथाबाटै सन्तुष्ट हुनुहुन्छ । श्रद्धेय मदनमणि दिक्षित लगायत केही साहित्यकार र साहित्यप्रेमीले मलाई उपन्यास लेख्नु प¥यो पनि भन्नुहुन्छ । मैले दुईवटा उपन्यासका केही पृष्ठ लेखिसकेको पनि छु । तर मन फेरि कता कता कथै लेख्नतिर फर्किन्छ ।

३.अहिलेसम्म तपाईंका कतिवटा कृतिहरु प्रकाशित भएका छन् ? कुन कुन विधा के के हुन ?

मेरो पाँचवटा कथासङ्ग्रह साझा र प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका छन्, एउटा पाठ्यपुस्तक पनि लेखेको थिएँ । मैले २०३५ सालमा ब्रिटिशकालीन भारतको इतिहास शीर्षकमा । ऐले दुईवटा कथा सङ्ग्रह निकाल्न लागेको छु । यसबाहेक १५ वटा यात्रा निबन्धहरूको सङ्गालो पनि तयार छ । तर त्यसलाई पुस्तकाकारको रूपमा ल्याउने बारे सोचेको छैन ।

४.तपाईंका कृतिले वा तपाईं आफैले वा कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?

पुरस्कार त खोई— साहित्यिक सम्पर्क नभएर हो वा कहिल्यै प्रतियोगितामा नबसेर हो पाइएको छैन । छैन भनूँ भने केही वर्ष अगाडि मानश्री पुरस्कारलगायत केही सम्मान चाहीं पाएको थिएँ ।

५. तपाईको विचारमा कथा के हो?

मैले कथालाई हाम्रो जीवनको विभिन्न आयामलाई कहिले सन्देशसहित कहिले कथानकमात्र चित्रण गर्ने माध्यमको रूपमा मान्छु । मेरा कथाहरू सबै नै मेरो जीवनमा मेरो वरिपरि घटेका र घट्नसक्ने कुरामा आधारित हुन्छन् । म सानो घटना वा परिवेशलाई समातेर कथा लेख्छु— यस्ता घटना गोप्य वा खुल्ला प्रेमप्रसङ्ग पनि हुन्छन् । वियोग र व्यथा, दुःख र वेदना, सङ्घर्ष र सुखान्त सबै नै हुने गर्छन् । मैले धेरैवर्ष एक्लै काठमाडौँका गल्लीहरूमा भौँतारिदा रिक्सावाल, सिपाही, दाउरावाल, चटकी, नपुङ्सक, ड्राइभर, रङ्गकर्मी, वैद्य, खुद्राव्यापारी सबैसँग बसउठ गरेको छु । घरमा केटाकेटीलाई सुताएर साँझ बाहिर बराल्लिन जाने गृहिणी, डेरावालसँग छिल्लिने घरबेटी र औषधि गर्ने बहानामा मोजमस्ती गर्दै हिँड्ने वैद्यको जीवनलाई नजिकबाट हेरेको छु । अहिले त समय अर्कै भैसक्यो तर मेरो त्यो समयमा यस्ता पाटाहरूले राम्रै कथानकको रूप लिन सक्थ्यो । मलाई लाग्छ— जीवनको यथार्थता अथवा आफूले देखेभोगेका कुरा नै राम्रो कथानक बन्न सक्छ । कृत्रिमता लादेर, उपदेश दिएर र काल्पनिकतालाई कथावस्तु बनाउने गर्दा कथाको मर्म पाठकसामु आउदैन कि जस्तो म ठान्दछु । थोरै शब्दमा धेरै कुरा भन्नुपर्ने हुन्छ कथामा । त्यसैले कथा पढ्दा सललल बगेको र सरल हुनुपर्छ । भाषाको क्लिष्टता पनि हुनुहुँदैन । कथा हाम्रो व्यथा व्यक्त गर्ने माध्यम पनि र खुसी बाँड्ने माध्यम पनि हो नि ।

६.तपाईंले लेखनको लागि कथा विधा नै किन रोज्नु भयो ?

खै किन रोजेँ, थाहा नै छैन । तर जतिबेला लेखनलाई निरन्तरताका साथ अँगाले, कथातिरै मन एकोहोरियो । सायद आपूmले देखे भोगेको कुरालाई केही मिठास दिएर पाठकसमक्ष ल्याइदिने इच्छाले घचघच्याएर होला । अथवा हाम्रो जीवन एउटा मधुर गीत मात्र नभएर सन्ताप र पीडा पनि भन्ने अनुभूति भएकोले होला । यसपल्टको प्रवासमा ४/५ वटा मुक्तक र कविता पनि लेखेँ तर मलाई आत्मसन्तुष्टि भएन । कुनै पनि कथा लेखिसकेको दिन एउटा अनौठो आनन्दको अनुभूति हुन्छ मलाई, किन हो थाहा छैन ! कुनै अदृश्य शक्तिले पो मलाई कथाकार बनाइदिएको हो कि ? त्यो पनि थाहा छैन ।

७.कथा विधा सबै भन्दा लोकप्रिय भइकन पनि यसमा त्यति धेरै लेखकले कलम चलाउँदैन नि । यसको कारण के होला?

कथा लेख्न वास्तवमा धेरै नै धैर्य चाहिन्छ, समय पनि चाहिन्छ । यदाकदा जवर्दस्ती गरेर लेखिएका कथाले पछि गएर आत्मग्लानी पनि अनुभव गराउँछन् । हुन त अरू विधा पनि उस्तै हुन्, तर कथा लेखनमा बढी सिर्जनशीलता र संवेदनशीलता आवश्यक पर्ने भएर हो कि ! यसलाई सबैले निरन्तरता दिएको पाइँदैन । रोजाइमा परे पनि समय र अन्य बाध्यताले धेरै राम्रा लेखकले कथा लेखनलाई निरन्तरता दिन सकेका छैनन् ।

८.अहिलेको अवस्थामा कथा लेखनको धार कता गैरहेको पाउनु भएको छ ?

लेखन वास्तवमा कुन गन्तव्यतिर गैरहेको छ, केही यतादेखि मैले राम्ररी अध्ययन गर्न पाएको छैन । मलाई लाग्छ, लेखनलाई सधैँ आफ्नो परिवेशले डोहो¥याइरहेको हुन्छ । हाम्रो यथार्थता, जीवनपद्धति परिवर्तन हुँदै जाँदा लेखनले पनि आफ्नै मोड लिने गर्छ । कुनै बेला संकुचित भएर लेख्नुपथ्र्यो भने अहिले बढी स्वतन्त्रता र स्वच्छन्दता छ । मैले हेर्दा अहिले धेरैजसो कथावस्तु देशमा आएको परिवर्तन त्यसका लागि भएको सङ्घर्ष, परिवर्तनका राम्रा नराम्रा पक्षतिर बढी केन्द्रित भएका छन् । सामाजिक मूल्य मान्यतालाई परिवर्तनले प्रत्यक्ष असर पारेकोले अहिलेका कथाहरू यिनै यथार्थतातिर प्रत्यक्ष भएका छन् । सामाजिक मूल्य मान्यतालाई परिवर्तनले प्रत्यक्ष असर पारेकोले अहिलेका कथाहरू यिनै यथार्थतातिर लागे जस्तो अनुभव गरेको छु मैले पनि । हामीले लेख्न सुरु गर्दा निकै सतर्कता अपनाउनु पथ्र्यो, अहिले त्यो अवस्था छैन । त्यसैले केही छाडा प्रवृत्ति, अवाच्छित र नकारात्मक प्रतिष्पर्धा पनि कतै कतै देखा परेका छन् ।

९.अग्रज कथाकारको नाताले अहिले कथा लेखिरहेका नव कथाकारहरुलाई के सल्लाह दिनुहुन्छ ?

प्रविधिको विकास र पाठ्यसामग्रीको प्रचुरताले गर्दा नयाँ कथाकारहरूलाई सामाग्रीको अभाव छैन, हाम्रो समयभन्दा धेरै नै राम्रो अवसर मिलेको छ र यसले कथालेखनलाई अझ परिष्कृत गरेको छु । उहाँहरूले यसबाट अधिकतम फाइदा लिन सक्नुपर्छ । खास गरी अहिले हामीले देखे भोगेका कुरालाई स्वभाविक रूपमा प्रस्तुत गर्ने र परम्परागत लेखनलाई वर्तमान समय सन्दर्भ अनुसार नयाँ रूप दिने प्रयास गर्नु राम्रो हुनेछ । धेरै नवोदित कथाकारहरूले यसलाई आत्मसात् पनि गर्नुभएको छ ।

१०. प्रसंग बदलौं तपाईं सरकारी कामको सिलसिलामा धेरैजसो विदेशमा रहनु हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा साहित्यमा कुनै कार्य भएको थाहा पाउनु भएको छ ?

म जहाँ गए पनि नेपाली समुदायले नेपाली साहित्यको उत्थान र विकासका लागि निरन्तर प्रयास गरिरहेको पाएको छु । ४/५ वर्ष अघि खाडी मुलुकमा बस्दा, त्यो भन्दा पनि अगाडि भारतमा रहँदा र हालै संयुक्त राज्य अमेरिकामा केही समय बिताउँदा मैले त्यस्तो अनुभव गरेको हुँ । नियमित रूपमा साहित्यिक भेला गर्ने, साहित्यिक पत्रिका निकाल्ने र खास गरी आफ्नो छोटो फुर्सदको बेलामा पनि साहित्य सिर्जनामा लाग्ने ठूलो जमात छ । अहिले त तपाईंले सुरु गर्नु भएको; समकालीन साहित्य, नेपाली पोष्ट जस्तै अरू धेरै वेवसाइटहरू पनि छन् । यहाँ फर्केर आएपछि बरु म नियमित हुन सकेको छैन, बाहिर बस्दा त एक पटक आपूmले थाहा पाएका वेवसाइटहरू म सँधै हेर्ने गर्थें । अहिले त तपाई–हामीलाई थाहै छ, विश्वव्यापी अरू कतिपय साहित्यिक समूह विभिन्न देशमा नेपाल साहित्यप्रति समर्पित भएर काम गरिरहेका पनि छन् ।

११.नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन के गर्नु पर्ला ?

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन हाल निकै प्रयास भइरहेका छन् । उत्कृष्ट नेपाली रचनालाई अङ्ग्रेजी र अन्य भाषाहरूमा अनुवाद गरी प्रकाशित गर्ने एउटा मेकानिज्म नै चाहिन्छ । यसको अभावले गर्दा हामी वाह्य जगत्मा चिनिन सकेका छैनौँ । तुलनात्मक रूपमा हेर्ने हो भने हाम्रो इतिहास पनि त्यति पुरानो छैन र हामी कहाँ शिक्षाको स्तर वृद्धि हुँदै गएको पनि धेरै वर्ष बितेको छैन । तर जुन गति र तदारुकताकासाथ हामी नेपाली साहित्यको उत्थानका लागि प्रयासरत छौँ । यसले अवश्य नै हामीलाई छिटै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्ने आशा गर्न सकिन्छ ।

१२. डायोस्पोरा साहित्य र मूलधारको साहित्यमा के फरक छ?

मैले त खास फरक पाएको छैन, डायस्पोरामा त्यहाँको जीवनलाई समेत चित्रण गर्ने अभिव्यक्त गर्ने कुरा बढी होला । तर सञ्चारको क्षेत्रमा आएको क्रान्तिले गर्दा अब त झन् केही फरक जस्तो नदेखिएला ।

१३.तपाईंले साहित्य लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ?

लेखेर धेरै पाएको छु— नाम, सम्मान र सन्तुष्टि, तर गुमाएको केही छैन । यदाकदा निद्रा खलबल्याइ दिएकोमा परिवारको खप्की बाहेक ! किनभने मेरो लेखनको समय धेरै जसो राती हुने गर्छ ।

१४.अन्तमा समकालीन साहित्य डट कम मार्फत विश्वभर रहेका नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?

त्यस्तो खास केही छैन । तपाईं र समकालीन साहित्य परिवारलाई धन्यवाद दिन चाहन्छु ।

४ अक्टोबर ०९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।