19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खर्कको अनुहार

कविता मनोज बोगटी October 6, 2009, 5:07 pm

कराइरहने माऊगाईको आँखा बालेर

उज्यालिएको त्यो किसानको घरको भित्तामा

हॉंसिरहेको खबरकागजको बराक ओबामाको तस्बीरले

देख्दैन

किसानको मनको घाउ।

खबरकागज भित्तामा टॉंसेर सजाएको कोठामा

चुपचाप बसेकी

आशामायाकी लुती प्रतीक्षालेआजै रातीको सपनामा पनि

स्पष्टै देखिन्‌

परदेश लागेको लोग्नेको हस्टपुस्ट शरीर।

हलो बोकेर निस्किएको बूढ़ो किसान

त्यही पुरानो खेत जोत्दैछन्‌।

उसको निधार हेर्नु

कहिल्यै नजोतेको बॉंझो खेत जस्तै देखिन्छ।

सॉंझ धिप्रीको उज्यालोमा दूध उमालिरहेकी

किसानकी स्वास्नीमान्छेलाई

अँध्यारो गोठबाट नै देख्छ

बँधुवा रोजगार खेपिरहेकी

दार्मी गाईको ममतीय आँखाले।

बिहानै टीभीमा देखिने देश जस्तो सफा छैन यो खर्क

न खबरकागजको अक्षर जस्तो शिक्षित छ।

बराक ओबामा के बुझेर हॉंसेको हो हँ?

यो खर्कको दृश्य खाममा हालेर

राष्ट्रपतिलाई पठाईदिने जान्ने छोरा

कहिले फर्किने दिल्लीबाट!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।