17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रिस

लघुकथा कृष्ण बजगाईं October 14, 2009, 1:41 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

–क्रिमपाउडर, जेल र तेल नेता–नेतृहरुले दलेर सिंगारपटार गर्न थालेपछि ठिटाठिटीहरुलाई रिस उठ्यो ।

–सेनाप्रहरी तथा चोरडाकाले बोक्ने हतियार नेताहरुले आफै बोकेर हिंड्न थालेपछि उनीहरुलाई पनि खुब् रिस उठ्यो ।

– मारपीट, गुण्डागर्दी जस्ता आफूले गर्ने काम स्वयम् नेताहरुले नै गर्न थालेपछि गाउँ तथा शहरका पेशेवर तथा सदावहार गुण्डाहरुलाई झन् रिस उठ्यो ।

–आफूले माग्ने गरेको ठाउँमै गएर आफ्नो पेशा संकटमा पर्ने गरी नेताहरुले नगद, जिन्सी तथा चन्दा माग्न थालेपछि सम्पूर्ण जोगी तथा मगन्तेहरुलाई खपी नसक्नु रिस उठ्यो ।

–आफूले सेवाग्राहीको काम गर्दिए बापत सानो तिनो रकम माग्दा घुस खायो भनेर बदनाम गराउने । तर नेता तथा मन्त्रीहरुले ठूल्ठूलो रकम केही काम नगरी एक्ला–एक्लै खाँदा कर्मचारीहरुलाई पनि उठ्नसम्मको रिस उठ्यो ।

ती सबै रिसहरु एकै ठाउँमा के भेला भएका थिए आक्रोशमा परिणत भईहाल्यो । त्यसले अब आन्दोलनको रुप लिने भयो । आन्दोलनलाई सहि दिशा र लक्ष्यसम्म पुर्याउन एक कुशल नेतृत्वको खाँचो पर्यो ।

ती रिसाहाहरु मध्येबाट सबैको गुणले भरिपूर्ण एक जनालाई नेता छानियो ।

* * *

केही दिनसम्ममा सबै कुरा मिलाउँछु भन्दै बालुवाटार–सिंहदरवार गर्दै थियो । फ्याट्ट मन्त्री भयो । त्यसपछि उसको रिस एकाएक खुशीमा परिणत भएको टेलिभिजनको पर्दामा देखियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।